You are here
Home > Front News > प्राधिकरणको लापरबाहीको शिकार भएकी छन् – एलिशा गुरुङ

प्राधिकरणको लापरबाहीको शिकार भएकी छन् – एलिशा गुरुङ

११ पुष २०७४, मंगलवार ११:१०

कास्की |

कास्कीमा फेरि बिजुलीको तार व्यवस्थित नहुँदा एक बालिका विद्युत प्राधिकरणको लापरबाहीको शिकार भएकी छन् । पोखरा रानीपौवाको घटना सेलाउन नपाउँदै कास्कीको साविक मिजुरेडाँडा हाल मादी गाउँपालिका वडा नं. ९ गहते ठुलोगाउँकी १५ वर्षीया बालिका एलिशा गुरुङको ज्यान गएको हो ।

साँझको खानाको लागि बारीमा साग टिप्न जाने क्रममा आईतबार साँझ बारीमै प्रवाह भईरहेको करेन्टका कारण मृत्यु भएको हो । साग टिप्न गएकी बहिनी नफर्किएपछि दिदी केम कुमारी बारीमा हेर्न जाँदा उनी मृत अवस्थामा भेटिएको आफन्त समेत रहेका स्थानीय सरस्वती कुञ्ज निमाविका शिक्षक उत्तर गुरुङले जानकारी दिए ।

‘परीक्षा दिएर फर्केपछि क्षामा साग टिप्न बारीमा जानुभएको रहेछ । बिजुलीको हाईटेन्सन लाईन र पोललाई अड्याउन जमिनमा बिछ्याईएको तार टच भएर जमिनमा करेन्ट प्रवाह भएको रहेछ ।’ – गुरुङले भने– ‘एक हप्ता अघि मात्रै लप्सी बोट ढल्दा तारहरुमा क्षति पुगेको थियो । राम्ररी मर्मत नगरिदिँदा यस्तो दुःखद् घटना भो ।’

डाँडाको नाक प्रहरी चौकीबाट प्रहरी पुगेर मुचुल्का तयार गरेको उनले बताए । अहिले पुरै विद्युत अवरुद्ध भएको छ । घटनापछि गाउँलेहरु आक्रोशित छन् । उनीहरुले विद्युत प्राधिकरणको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै उचित क्षतिपूर्ति र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् । नत्र आन्दोलनमा उत्रने गाउँलेको चेतावनी छ ।