You are here
Home > Front News > पोखरा अन्तर्राष्ट्रिय हिमालयन फिल्म फेस्टिबल चलचित्र ‘लोम्बा’बाट समापन

पोखरा अन्तर्राष्ट्रिय हिमालयन फिल्म फेस्टिबल चलचित्र ‘लोम्बा’बाट समापन

११ पुष २०७४, मंगलवार ११:४९

पोखरा |

पोखरा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवमा रुकुम जिल्लाको हिमाली भेगमा बसोबास गर्ने मगर समुदायको पुर्खौली पेशा भेडी पालन माथि निर्माण भएको ‘लोम्बा’ चलचित्र बाट समापन भएकाे छ। ‘पिम्फ’काे तेस्रो संस्करण पौष ०६ बिहिबार देखि सुरु भएर पौष ०८ शनिबारको दिन पोखराकाे सभागृहमा समापन भएकाे हाे।

पोखरा फिल्म सोसाइटीको आयोजनामा तीन दिनसम्म याे महाेत्सव चलेको थियो । महाेत्सवमा स्वदेशी तथा विदेशी गरी ४३ वटा फिल्म प्रदर्शन भएको हो । २५ नेपाली र १७ विदेशी चलचित्र प्रदर्शन भएका थिए।

समाजमा सकारात्मक सन्देश दिने चलचित्रलाई मात्र महोत्वसमा समावेश गरिएको सोसाइटीका महासचिव विष्णु सापकोटाले बताए। उनले भने, ‘नेपालको विषय वस्तुलाई उठाइएका विदेशी चलचित्रहरुलाई बिशेष गरी महोत्वसमा छनोट गरिएको हो।’

महोत्सवको पहिलो दिन १०, दोस्रो दिन २० र तेस्रो दिन १३ वटा छोटा फिल्म तथा वृत्तचित्र प्रदर्शन गरिएका थिए । सभागृहका फिल्म प्रदर्शन बाहेक पोखराका विभिन्न स्थानमा पनि खुला प्रदर्शन गरेको आयोजक संस्थाको भनाइ छ ।

महोत्सवमा नेपाली फिल्ममा जनजातिको चित्रण विषयक अन्तरक्रिया पनि चलेको थियो । सो अन्तरक्रियामा राजेश गोंगजू, माओत्से गुरुङ, नवीन सुब्बा र अनुप सुवेदी सहभागी भएको महोत्सव आयोजक संस्थाका उपाध्यक्ष जितेश प्रधानले बताए ।

विभिन्न देशबाट सयभन्दा बढी फिल्मकर्मी सहभागी भएको महोत्सवका लागि सय भन्दा बढी देशका नौ सय भन्दा बढी फिल्मले सहभागिताका लागि आवेदन दिएकोमा ४३ फिल्म मात्रै अन्तिम छनोटमा परेको र प्रदर्शन गरिएको कुरा आयोजक संस्थाका निर्देशक सरोजको भनाई छ |