You are here
Home > Front News > दुर्घटनामा नायिका बिना थापाको निधन

दुर्घटनामा नायिका बिना थापाको निधन

१२ पुष २०७४, बुधबार २०:५०

काठमाडौं।

बुधबार बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा नायिका तथा मोडल बिना थापाको निधन भएको छ । स्कुटर चलाएकी थापालाई पानी ट्याङकरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

काठमाडौं धापासी बस्ने गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापालाई बा २ ख ८९४ नम्बरको पानी ट्याङकरले ठक्कर दिएको हो । थापाले चलाएको स्कुटर बा ५५ प १३८७ नम्बरको हो ।

रंगमञ्च क्षेत्रमा समेत सक्रिय थापा सिल्पी थिएटर सँग आवद्ध थिइन् । उनले दर्जन बढी म्यूजिक भिडियो र नाटकमा समेत अभिनय गरेकी थिइन् ।

थापा स्टेज कार्यक्रम र दोहरी गीत क्षेत्रमा चर्चित नृत्याङ्गना थिइन् । उनी देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा  बढी जसो व्यस्त रहँदै आएकी थिइन् । थापाले ‘उवर्शी’, ‘डिभोर्स’ र ‘रामप्यारी’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । उनी अभिनीत नयाँ चलचित्र ‘शिरफूल’ र ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनको तयारीमा छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।