You are here
Home > Front News > प्रचण्डलाई प्रेमपत्र

प्रचण्डलाई प्रेमपत्र

१४ पुष २०७४, शुक्रबार १२:२३

अध्यक्ष प्रचण्डज्यू

अभिवादन

सर्वप्रथम त सन्तान गुमाउनुजस्तो सर्वाधिक अकल्पनीय पीडा भोगिरहनुभएकोमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । आशा छ यो समवेदनापत्र तपाईँसमक्ष अवश्य पुग्नेछ ।

केही क्रुर मुटु भएका मान्छेहरु यो घडीमा रमाइरहेका पनि छन् । एक असल र मानसिकरुपमा स्वस्थ मानव अर्को मानवको यस्तो पीडामा कहिले पनि रमाउँदैन । सन्तानहरु सुन्दर आशाका पुञ्जहरु हुन् । सन्तान भ्रुणावस्थादेखि नै उसको आमाबाट, बाबुबाट, निकट परिवारजनबाट, समाजबाट, समग्र राष्ट्र र समग्र मानव जातिबाटै प्रेम स्नेह र आशाको केन्द्रबिन्दुको भूमिका निर्वाह गर्न थाल्दछ । जब जब ऊ विकसित हुँदै जान्छ, यी अपेक्षाहरु पनि उसको काँधमा थुप्रिँदै जान्छन्, पुरानो पुस्ताबाट नयाँ पुस्तामा जिम्मेवारी र आशा हस्तान्तरण हुँदै जान्छन् । यसरी झन्झन् प्रज्वलित भइरहेको एक उज्ज्वल नक्षत्र एकाएक अपरिमीत जीवनरुपी आकाशबाट बिलाएर जाँदा निकटजनमा कति पीडा बल्झिँदो हो । जुन पीडा रिलजस्तै घुम्ने स्मृतिहरुमा, सपनाहरुमा, पारिवारिक जमघटमा, पर्वहरुमा, अर्काको खुशियालीमा आलो तरलरुप धारण गरेर आउँछ र उम्लिएर गला र आँखाबाट पोखिन थालेका पीडारस कसैले नदेख्ने कुनामा गुडुल्किएर पुछ्नुपर्ने बाध्यता हुन्छ, अरुको अगाडि भने केही पनि नभएको बहाना गर्नुपर्दछ । सबैभन्दा पीडा जीवनको शाश्वत सत्य लुकाउनुजस्तो कठीन नाटक गर्नुपर्ने अवस्थामा हुनेगर्दछ । भौतिकवादमा‘फलाम तातिएपछि प्रहार गर्दा टुक्रिन्छ’ भन्ने सिद्धान्त भए तापनि समाजमा शत्रुले प्रतिद्वन्द्वि चिसिँदै र तातिँदै गरेको अवस्थामा प्रहार गरिरहेको हुन्छ । ठीक यस्तै भइरहेको छ अहिले तपाईँमाथि ।

तपाईँ पनि कुनै आमाबाबुको सन्तान हुनुहुन्थ्यो र समाजको रुपान्तरणको लागि तपाईँले लिएको भिन्न लक्ष्यले गर्दा तपाईँलाई मानवजातिको एउटा वर्गले आफ्नो उज्ज्वल सन्तानको रुपमा स्वीकार गर्दै थियो । केहीले पत्याउँदा नपत्याँदै वा स्वीकार नगर्दा नगर्दै पनि तपाईँको दृढ नेतृत्वले यहाँका कुसंस्कृतिरुपी पुराना जराहरु हल्लाइदियो र नयाँ जराहरु पुनःस्थापित गरिदियो । यी जराहरुमध्ये राज्यसत्तारुपी, विकेन्द्रीकरणरुपी, सामाजिक न्यायरुपी, समावेशीकरणरुपी,सामाजिक संस्काररुपी मूल जराहरु हुन् र यिनका सहायक जराहरु हजारौँ छन् । नेपालको साँचो आधुनिकीकरणको लागि यस आमूल परिवर्तनको जस तपाईँमाथि नै जान्छ र जानुपर्छ । हो, तपाईँ यसरी प्रज्वलित भइरहेको बखत पछिल्ला क्रमबद्ध घटनाहरुले तपाईँलाई निश्चित वर्गको सिङ्गो आकाशबाट थुतेर बहिर्गमन गर्न खोजिरहेका छन् र तपाईँमाथि दीर्घआशा राख्ने आमाबाबुहरुले आफ्नो स्नेहलेपित सन्तान बिलाएर जाने आशंका गरिरहेका छन् ।

तपाईँ यस्तो मोडमा आइपुग्नुभएको छ कि अगाडि बढ्दा काँडेदार घना जङ्गल छ, पछाडि फर्कँदा चिप्लो भीर छ । अर्थात अघि बढे पनि र पछाडि हटे पनि आर्जित अस्तित्व समाप्त हुनेछ । यो जङ्गल र भीरको भूमिका खेल्नेहरु तपाईँको अगाडिपछाडि नै छन् ।यस कठिन परिस्थितिमा तपाईँ अब कसरी पाइला चाल्नुहुन्छ भनेर सबैका नजरहरु तपाईँमै परेका छन् ।

एउटा खेमा यस्तो छ कि तपाईँको अकल्पनीय पीडामा बाहिरतिर रमाइरहेका छन् र तपाईँको सम्मुखमा समवेदना प्रकट गरिरहेका छन् । समवेदनाको उपहारस्वरुप अझै तपाईँलाई राज्यसत्ताको महत्त्वपूर्ण ललीपप चुसाउन चाहेको जस्तो गरेर उनीहरुले तपाईँलाई एक्ल्याएर तपाईँको आन्द्राभुँडी चपाउन चाहन्छन् । देखिहाल्नुभो,अस्ति भर्खर तपाईँलाई शक्तिहिन तुल्याउनेबित्तिकै बालकृष्ण ढुङ्गेलमाथि आक्रमण भयो । तिनीहरु मात्र होइन बाँकी संसारको त्यो पक्षको खेमा यस कार्यमा सहयोगार्थ जस्तोसुकै मूल्य चुकाउन पनि तयार छ ।

केही शिक्षा वन्यजन्तुबाट पनि लिनुहोस् । आधा दर्जनजति सिँहहरु भर्खरैएक विशाल हात्ती-शिकार गरेर बाँडीचुँडी शिकारको मासु लुछिरहेका हुन्छन्, त्यसको स्वादमा भुलिरहेका हुन्छन् । शिकारको आलो गन्धले वरिपरि ब्वाँसाहरु आइपुग्छन् । अजेय शक्ति प्राप्त सिँहहरुको एक झुण्ड ती लुरे ब्वाँसाहरुदेखि डराउने कुरै भएन । ब्वाँसाहरु पनि सामूहिक रुपमा आक्रमण गर्न नसकी टाढै बसेर सिँहहरुले गरेको आलो शिकारको स्वाद आफ्नै थुक निलेर अनुभूति गरिरहेको जस्तो गर्दछन् । यस्तैमा एउटा ब्वाँसो अघि बढ्छ र एउटा सिँहको पुच्छर तानिदिन्छ । सिँह शिकारकै स्वादमा लठ्ठिएको हुन्छ, प्रतिकार गर्दैन । पुनः अर्को ब्वाँसो जान्छ र उही सिँहको खुट्टा टोकिदिन्छ । सिँह अझै वास्ता गर्दैन, झिङादेखि डिङा के डराओस् ? अब दुवै ब्वाँसाहरु जाइलागेर दुवै खुट्टा टोकिदिन्छन् । सिँह फर्केर ब्वाँसाहरुलाई तर्साउन खोज्छ । सिँह फर्केको मौका पार्ने बित्तिकै अरु तीनचारवटा ब्वाँसाहरु मुखमै आक्रमण गर्न खोज्छन् र अलिकति पर भाग्छन् । धेरै जिस्क्याइएपछि पर भागेका ब्वाँसाहरुलाई सिँह लखेट्न खोज्छ । एक्लै पर पुगेको सिँहमाथि पूरै ब्वाँसाहरु खनिन्छन् र आत्थुआत्थु पार्दछन् । एक्लो सिँह ब्वाँसाहरुबाट आक्रमणमा पर्दा पनि अरु सिँह त्यसको बेवास्ता गर्दै शिकार लुछ्नमै व्यस्त रहन्छन् । फलस्वरुप आफूलाई अजेय शक्तिवान ठान्ने सिँह एक्लिएको कारण ब्वाँसाहरुदेेखि नभागी  आफ्नो ज्यान बचाउनै सक्दैन । एउटालाई घाइते तुल्याएर भगाइसकेपछि ब्वाँसाहरुले त्यही रणनीति प्रत्येक सिँहमा प्रयोग गर्छन् । अतः शक्तिमा झिङाहरु ठानिएकाले डिङाहरुलाई एकएक गरी एक्ल्याइसकेपछि अरुले गरिदिएको शिकारको मज्जा लुट्तछन् ।

आफूलाई जोगाउने हो भने सत्ताको जस्तोसुकै आलो स्वाद चखाउन खोजे पनि नभुल्नुहोस् । तपाईँले देखिरहनुभएको छ, तपाईँको सुरक्षार्थ वरिपरि अजेय शक्तिवाला अरु थुप्रै सिँहहरु छन् । तर उनीहरु सत्तास्वादमा लिप्त भैरहेको बखत तपाईँको पीडा बोध गर्न मरिगए फर्केर हेर्ने छैनन् । तसर्थ तपाई यस्तो विषम परिस्थितिमा किन सत्ता-शिकारमा आफ्नो र ती सिँहहरुको थुतुनो गाड्न चाहनुहुन्छ । तपाईँ स्वयमलाई दुईदुई सन्तान गुमाइसकेको आलो पीडामा चाखिने शिकार बेस्वादको लाग्नुपर्ने हो, धेरै खाएको चिनी पनि तीतो लाग्नुपर्ने हो । । बेलैमा बुझिदिनोस् कि तपाईँको भलोको लागि कसैले शिकारमा भुलाउन खोजेको होइन ।

अर्को खेमा छ, तपाईँलाई आफूमै समेट्ने प्रयत्न गरिरहेको छ । समेट्न खोजिएका सतहका परिणामहरुले तपाईँलाई प्रत्यक्ष लाभ पुगेको पनि देखिन्छ । तर परिणामको गहिराइ त्यस्तो छैन, भयानक छ र हानी अनि हानी मात्र छ । यो हानीले तपाईँमाथि आडभरोसा राख्नेहरु चिन्तित छन् र आत्तिएका छन् । आफूले ओगटिसकेको स्पेस सत्तालोलुपताको बलीबेदीमा सित्तैमा किन चढाउन खोज्नुहुन्छ ? यो खेमाले तपाईँका आन्द्राभुँडी चपाउने होइन, चपाउँदा तपाईँलाई नदुखोस् भनेर सिनित्तै निल्न चाहन्छ । अब भन्नुस् तपाईँ चपाइएर निलिन खोज्नुभएको हो कि नचपाइएर ?

अध्यक्ष प्रचण्डज्यू, यो पत्रवाला तपाईँको छत्रछायाँमा रहेको हार्डलाइनर वा सफ्टलाइनर कार्यकर्ता होइन । यसले नेपालका सबै राजनेतालाई बराबरी दृष्टिले हेर्न चाहन्छ । अतः कुनै दलविशेषले चुनेको प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै प्रधानमन्त्री र मन्त्री ठान्दछ । कुनै दलको सभापतिलाई आफ्नै सभापति ठान्दछ । फलस्वरुप निश्चित राजनीतिक दलका अध्यक्ष भए पनि तपाईँलाई आफ्नै अध्यक्ष ठान्यो र अध्यक्षज्यू भनेर सम्बोधन गर्दै यो पत्र लेख्दैछ । सबैको चासो तपाईँमै मुखरित भइरहेको बेला आफ्नो तुच्छ मुखलाई त्यतातिर मोड्न खोजेको हो । आफ्नै कार्यकर्ताका विभिन्न सुझावहरुले तपाईँलाई रिङ्टा लगाइरहेको बखत भिन्न अपरिचित व्यक्तिको सुझावको महत्त्व नहुन सक्छ । यति हुँदाहुँदै पनि तपाईँको अवस्था देखेर तपाईँ जत्तिकै यो पनि दुखिरहेको छ । यदि दुखाइ बराबर हो भने दुखाइको मलहमपट्टीको लागि यसले झिनामसिना सुझाव दिन खोजेको छ । यो पत्र तपाईँसम्म पुग्यो भने अवश्य स्वीकारिदिनुहोला ।

तपाईँ क्रान्तिलाई मूल एजेण्डा बनाएर अगाडि बढ्नुभयो र केही हदसम्म सफल पनि हुनुभयो । अबको यात्रा अझै कठिन छ । विश्व परिस्थिति विपरीत भएको बखत तपाईँले देख्दादेख्दै साम्यवाद आउन सक्दैन भन्ठान्छ यो लेखक । उत्तरतिरको मित्रले यहाँको यत्रो परिवर्तनलाई तिलजति पनि ठान्दैन । अन्य समान बिचार अवलम्बन गर्ने मुलुकहरु पनि चारैतिरबाट विपक्षीहरुले घेरिएकाले आफ्नै समस्याको भूमरीमा रुमल्लिरहेको बखत तपाईँको लक्ष्यलाई समर्थन गर्न सक्दैनन् । अतः यो भनेको विपरीत परिस्थिति छ । तर मुलुकभित्रै गर्न सके साम्यवादउन्मुख कार्यहरु र त्यो नभए समाजवाद उन्मुख सुधारका भ्वाङहरु टाल्न बाँकी थुप्रै छन् ।

मुख्य राजनीतिक दलहरु सत्ताकै छिनाझपटीमा व्यस्त छन् । एकले अर्कोलाई सहयोग त के विश्वास पनि मरिकाटे गर्दैन । यता मुलुक भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ । समाजमा बेथिति उस्तै छ । जनसाधारण गरिबी, भोक, अशिक्षा र अज्ञानताको भतभती पोल्ने रापले प्रताडित छ । राष्ट्रपतिजस्तो सर्वोच्च पदासीन व्यक्तिलाई कानुनको बखेडा झिकेर विभिन्न स्वार्थप्रेरित व्यक्तिहरुले घेराबन्दी गर्ने देशमा एकजना शक्तिहिन तन्नमभगत साधारण नागरिकले कति घेराबन्दी सहनुपर्छ होला ? तपाईँजस्तो विद्वानले जनरलाइजेशन गर्नुपर्ने हो । प्रत्येक तह तप्काहरुमा अभाव छ, अन्याय छ, अशान्ति छ । गाउँघरका युवापिँढीहरु पराइको जुठो माझ्न विदेशिइरहेको छ । हेपिने, कुल्चिने, सताइने वर्ग आँशु पिएर पिँढिपिँढि छट्पटाइरहेको छ ।

देशले खेप्नुसम्म द्वन्द्वका घाउहरु खेपिसक्यो । अझै निहित स्वार्थको लागि लुछाचुँडी गर्नुपर्ने समय होइन यो । तसर्थ आफ्नो वचन र सिद्धान्तलाई तटस्थ राख्दै राजनीतिक दलहरुबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्नपट्टि लाग्नुहोस् । सक्नुहुन्छ भने, अब क्रान्तिको होइन, शान्तिको नारा दिएर गाउँगाउँ पस्नुस् । क्रान्तिले घाउ बल्झिने मात्र हो, यो त एकजना सोझो गाउँलेले खाटा बसेको घाउ दुख्यो भनेर घाउलाई कर्केटोले पोलेर दुखाइको रन्कोलाई शान्त पारेजस्तै हो । तपाईँको असीम पीडाको लागि समवेदना पोख्न नजानेर तड्पिनेहरु नै तपाईँको पीडा बुझ्ने वास्तविक आफन्तहरु हुन् । खोजेर हेर्नुस्, सोधेर हेर्नुस्, त्यो समूह तपाईँको कार्यकर्ताभन्दा पनि विशाल छ । शान्तिले नै मान्छेहरुको हृदय दुहुन सकिन्छ, मलहमपट्टि लगाउन सकिन्छ । यदि सत्तालिप्सातिर नलागेर उल्लिखित समस्याको जालो पुछ्नतिर  लाग्नसक्नुभयो भने तपाईँलाई साथ दिनेहरुको समुन्द्र अभूतपूर्व उर्लिने छ । त्यसले तपाईँलाई शक्ति दिनेछ, सामर्थ्य दिनेछ, कल्याण दिनेछ । यसले तपाईँको अगाडि र पछाडि होइन दायाँबायाँको सहज र स्वाभाविक बाटोतिर लाग्न मद्दत गर्नेछ ।

यदि यी झिनामसिना कुराहरुलाई नजरअन्दाज गर्नुभयो भने तपाईँ कहिले तृप्त नभइने सत्तास्वादमा नै भुनभुनाइरहनुहुनेछ । तपाईँको टाउको देखाएर कुकुरको मासु बेच्नेहरुले सातपुस्ता सुधारिसक्नेछन् । थाहै छ तपाईँले आफ्ना सन्तानको भविष्य समेत दाउमा राखेर उनीहरुलाई औपचारिक शिक्षातिर लगाउनुभन्दा जनयुद्धमा लगाइदिनुभयो । अरु नेताहरुले आफ्ना सन्तानहरुलाई सुरक्षित ठाउँतिर हुले । फलस्वरुप तपाईँका सन्तानले अकाल मृत्युवरण गरिरहेको बखत तपाईँ मात्रै पीडाको भागिदार बन्नुभयो । तपाईँलाई लाग्दो हो ‘आफूमा यो जिम्मेवारी नभइदिएको भए कम्तीमा कुशल बाबुको भूमिका त निभाउनसकिन्थ्यो !’ तपाईँसँगै देखिइरहने तपाईँकी जीवनसंगिनी आजभोलिका समारोहहरुमा तपाईसँग नदेखिँदा धेरैको मुटु अव्यक्त ज्वलनमा जल्दो हो ।

तपाईँभित्र खाँदिएर रहेका अदृश्य घाउहरुलाई पूर्णतः निको पार्न सम्भव त छैन । तर पनि दिनदुःखीहरुको  व्यावहारिक (औपचारिक होइन) असल बाबु बनिदिएर उनीहरुका झिनामसिना दुःखमा साथ दिनतिर लाग्नुभयो भने तपाईँको पीडाको बोझ केही हल्का हुनेछ र दिवंगत सन्तानको आत्माले पनि शान्ति पाउन सक्ला ।

अन्तमा बुझ्नुभयो होला कि यो पत्र कुनै स्वार्थप्रेरित औपचारिक पत्र नभई तपाईँभित्रको मानवीयतालाई प्रेम गरेर लेखिएको एउटा प्रेमपत्र हो । यो पत्र जसरी पनि तपाईँको हातसम्म पुगोस् । तपाईँकै जस्तै पीडामा बल्झिएको अर्को एउटा मनको गुम्सिएको समवेदना प्रकट गरिएको बोध होस् । धन्यवाद् ।

तपाईँकै शुभेच्छुक अकार्यकर्ता

  • अनुरुप