You are here
Home > Front News > नेपथ्यको पहिलो गीत ‘आँगनै भरी’ भिडियो सार्बजनिक

नेपथ्यको पहिलो गीत ‘आँगनै भरी’ भिडियो सार्बजनिक

१५ पुष २०७४, शनिबार २३:४०

काठमाडौं |

नेपथ्यले आफ्नो पहिलो गीतको भिडियो सार्वजनिक गरेको छ। स्थापनाको २५ औं वर्ष मनाउँदै ‘आँगनैभरि हिउँ नै झरे, आरुफूल है टिपि राखे है’ बोलको गीतको भिडियो रिलिज भएको हो।

नेपथ्यको यो पहिलो एल्बम सन् १९९३ को अप्रिल एक तारिखमा रिलिज भएको थियो। त्यसै दिनलाई नेपथ्यको स्थापना दिवस पनि मानिएको छ।

नब्बेको दसकको प्रारम्भमा पोखराका तीनजना तन्नेरीहरुको प्रयासबाट नेपथ्य ब्याण्डको जग हालिएको थियो। उनीहरु थिए दिपक जङ राणा, भीम पुन र अमृत गुरुङ। त्यसपछि रविन श्रेष्ठ, सुरेश पुन र बुद्धि गुरुङले यो टोलीसँग सहकार्य अघि बढाए। त्यो प्रयासकै प्रतिफलमा नेपथ्यको पहिलो एल्बम जन्मिएको थियो।

‘यो म्यूजिक भिडियो २५ वर्ष लामो यात्रामा ब्याण्डलाई योगदान दिने तमाम सदस्यहरु प्रति आभार प्रकट गर्ने माध्यम पनि बनेको छ,’ नेपथ्यलाई प्रवर्द्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘भिडियोमा उनीहरु सबैलाई सम्झने कोशिस गरिएको छ।’

यो भिडियो नेपथ्यको वर्तमान टोलीले प्रस्तुत गर्दाको प्रत्यक्ष रेकर्डमा आधारित छ। बुटवलमा २०७३ फागुन १४ मा नेपथ्यको कन्सर्टका बेला गाइएको आवाज नै यसमा प्रयोग गरिएको हो। त्यसैगरि दृश्यहरु पनि बुटवलको कालिका स्कुल, काठमाडौंको टुँडिखेल र पोखराको रंगशालामा कन्सर्ट गर्दाका क्षणबाट लिइएको हो।