You are here
Home > Front News > नेपथ्यले आफ्नाे सांगीतिक यात्रा दमकबाट सुरु

नेपथ्यले आफ्नाे सांगीतिक यात्रा दमकबाट सुरु

३० पुष २०७४, आईतवार ११:३५

झापा ।

स्थापनाको २५ औं वर्ष मनाइरहेको नेपथ्यले आफ्नाे सांगीतिक यात्रा झापाको दमकबाट सुरु गरेको छ। नेपाली लोक रक ब्याण्ड नेपथ्यले दमकमा गरेको कन्सर्टमा झण्डै पाँच हजार दर्शकले नेपथ्यलाई साथ दिएका थिए।

शुक्रबार गरिएको कन्सर्टमा नेपथ्यका दुई चर्चित म्यूजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो। प्रसिद्ध कवि प्राध्यापक तुलसी दिवसले बाल्यकालमै यसै भेगमा सिर्जना गरेको गीत हो ‘सम्झीराख’ पहिलोपटक यसरी  प्रस्तुत गरिएको हो।

नेपथ्य टोलीले त्यसपछि सरुभक्त रचित ‘कुरुप अनुहार हो’ गीतबाट कार्यक्रम सुरुगरेको थियो । त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै ‘आँगनैभरि’ गाउने बेलामा गायक अमृत गुरुङले ब्याण्ड स्थापनाको बेलाका सम्झनाहरु सुनाए।

ब्याण्डले उसको पहिलो गीत सुनाउने बेला पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपी तस्बिर देखाइएको थियो। त्यसपछि अमृतले क्रमशः ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’ हुँदै फेरि नेपथ्यको पछिल्लो एल्बम ‘ऐनाझ्याल’ मा समेटिएको चर्चित गीत ‘जोगले हुन्छ भेट’ सुनाएका थिए।

कार्यक्रममा ‘तिमी पनि नेपाली’, ‘यो जीन्दगानी’, ‘कोशीको पानी’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’ हुँदै दर्शकहरुले सुरुदेखि माँग गर्दैआएको ‘रेशम’ र ‘तालको पानी’ सुनाइएको थियो।

देश यात्रामा निस्केको नेपथ्य टोलीले अब माघे संक्रान्तिका दिन चितवनस्थित नारायणी नदीको किनारमा प्रस्तुत गर्ने छ।