You are here
Home > Front News > सिदार्थको नाममा

सिदार्थको नाममा

२ माघ २०७४, मंगलवार १०:३७
– रिमा के सी

कविता 

आफ्नै कुटीभित्र निर्घात कुटिएकी
सृष्टि सिंगार्ने फूल फुलाउँदा लछारिएकी सृष्टिकी आमा हुँ म
म सविना खातुन ।

दिलसरा र इजाहारलाई सोधिदेउ-
तिमी कुन पुरूषले जन्माएको पुरूष ?
ती मुक्का, लाठ्ठी जसले निर्घात चुट्यौ
मेथी झानेको तातो तेल घसेर बलियो बनाउने
कसैकी दिदी, कसैकी बहिनी
अर्थात् आमा कसैकी छोरी हुन्
उनकै गर्भमा नाघेर अराजकताको सिमा तिमी जिस्कियौ
आजपर्यन्त जिस्किरह्यौ आमाहरूसित !

असिना झैं आकाशबाट टप्लक्क खसेनौ तिमी
आफ्नै रगतका थोपा-थोपाले सिँचेकी हुन्
पसिनाको कण-कणमा बगेकी हुन्
आँशुको भेल तरेर मुश्कुराएकी हुन्
पेन किलरझैं आरोपका गोली निलेर कप्लक्क ।
ए सिद्धार्थ, कुन बोधिबृक्ष मुनि यी बाबु-छोराको आत्मज्ञान खुल्छ ?

कैयौं रात खालि पेट, काँटेर भयमय अनिदा रात
प्यासमा घुटु…घुटु पिउँदै आँशुको प्रशान्त गंगा
बनेको हो यौटा अपराधी बाउ
अर्थात बनेको हो यौटा पुरुषको परिभाषा
अरूको छात्तिमा हानेको लात्ति
आफ्नै आमाको छात्तिमा बजारिएको छ
र, लागेको छ खाटा नबस्ने घाउँ
सिद्धार्थ, कृपया यो आलो घाउ देखाईदेउ थोत्रो चश्माभित्र युवतीतिर चमचमाउने आँखाहरूलाई
सायद यिनले छोरीलाई प्रेम गर्छन् !

खेलेर आगो-पानीसित नौ-नौ महिना
सूर्यग्रहण, चन्द्रग्रहणको नदिएर पर्न छायाँ
हर घडी बाँचिन् आमा
तिमीलाई दिइन् जन्म, तिमी रोयौ
मुसुक्क मुश्कुराइन् आमा प्रभातको घाम जस्तै
प्रीति भोजपछि हाँसिनन्, तिमीले कहिले सोधेनौ-
आमा, तिमीलाई के भो ?
ए सिद्धार्थ, दिलसराको यतिविघ्न ढुंगा दिल
कहिले सगरमाथाबाट सवाल-जवाफमा ओर्लिन्छ ?
आमाहरूको दु:खमा दुख्छ ?

तिम्रै खुशीको निम्ति हारिरहिन् आमा
तथापि भीषण युद्ध जिते जस्तै गरिन्
र गराइन् तिमीलाई अमृतपान
दुध खुवाउँदै उनैले पालेकी हुन् बिषालू सर्प !
सबै दिलसरा, इजाहार जस्ता पनि त हुँदैनन् !!

ए सिद्धार्थ, आफ्नै आमा खाने माकुरालाई कसरी बनाउने मानिस ?

यो आत्मज्ञान स्वयम् लिन चाहन्छु
यी तमाम माकुरालाई मानिस बनाउनु छ
यी तमाम माकुरालाई आमा बनाउनु छ
भोलि कुनै अखबारले न लेखोस्-
दाइजो नपाएको निहुँमा कसैमाथि निर्घात कुटपिट
छोरी पाएको बहानामा कोही घर निकाला !!