You are here
Home > Front News > सोनाम ल्होछारको अवसरमा दोश्रो नगरकाेट महाेत्सब हुदै

सोनाम ल्होछारको अवसरमा दोश्रो नगरकाेट महाेत्सब हुदै

३ माघ २०७४, बुधबार १७:२६

सम्बर लामा

ल्होछार महोत्सव २०७४ नगरकोटपर्यटकीय सुन्दर नगरी एवं धर्तीको स्वर्ग नगरकोटमा २०७४ सालको सोनाम ल्होछारको अवसरमा दोश्रो नगरकोट महोत्सव हुदैछ ।तामाङको ल्होछारसोनाम ल्होछार तामाङ समुदायको पहिचानको रुपमा स्थापित भएको ल्होछार (महत्वपुर्ण पर्व) हो र नया ल्हो (वर्ष) फेर्ने समय हो ।

यो अवसरमा तामाङहरु एकदम खुशी र प्रफुल्लित मुद्रामा प्रस्तुत हुने गर्दछन् । सवै जनाले आफनो भेषभुषाको अधिकतम प्रयोग गर्दछन् किन भने यो पहिचान हो तामाङ र तामाङ समुदायको लागि । ल्होछारको अवसरमा विहावारी भएर पराई घर पुगेका चेलीवेटीहरुलाई विशेष निम्तो दिने चलन रही आएकोछ र माईती आउने चेलीहरु पनि खुशीसाथ आउने गर्दछन् ।

सवैले आ आफनो घर आंगन सफा पार्ने र रंगरोगन गर्ने गर्दछन् । हरेक तामाङको घरको आंगनमा सांङ गरेको धाज्र्यो (लुङदर) फहराउने गर्दछन् । धाज्र्योमा लेखेका मन्त्रहरुले घरपरिवार र समाजलाई शुभ हुन्छ भन्ने विश्वास गरिन्छ । सवैले सामुहिक रुपमा गुम्वा, म्हाने, वुद्धको प्रतिमा भएको ठाउमा जम्मा भएर आफनो पितृलाई सम्झने गर्दछन् ।

पितृलाई फलफुल, अक्षता, साङ धुप आदीले पुज्ने (छो फुल्सी) गर्दछन् । सो कार्यको लागि लामा गुरुहरुबाट प्रवचन र प्राणप्रतिष्ठा गर्ने गरिन्छ । गुम्वा, म्हाने सवैलाई सरसफाई र रंगरोगन गरि सजिसजाउ गर्ने गरिन्छ । ल्होछारको दिन सरकारले पनि सार्वजनिक विदा वा राष्ट्रिय विदा दिएको हुनाले सवै जना आफनो घर परिवारवाट टाढा हुन चाहदैनन । नवयुवाहरु ल्होछारको अवसर पारेर नौलोस्थान वा ठाउको भ्रमणमा जाने चलन पनि रही आएको छ ।

सकेसम्म ल्होछारमा सवै परिवार संगै होस भन्ने तामाङ समुदायको अन्तर आत्मा र मनमा हुन्छ । रोजगारीको लागि वा अन्य कुनै कारणले पराई वा टाढा रहेका आफ्ना आफन्तहरु पनि ल्होछारमा अनिवार्य रुपमा घर आउने गरेका छन् । सम्भव भएसम्म आफनो घर र परिवार सम्झेर टाढा टाढावाट घरआउने गरेका छन् । ल्होछारमा हरेकले हरेकलाई शुभकामना आदान प्रदान गर्ने गर्दछन् । सरकारले एक दिन सार्वजनिक विदा दिएपनि तामाङ समुदायमा यो ल्होछार हप्ता दिनसम्म आफन्त वा मान्यजनकोमाजाने, आशिर्वाद थाप्ने, सेतो टिका ग्रहण गर्ने (ला म्हेन्दो वा कोको म्हेन्दो सहितको) र आफनो गच्छे अनुसारको कोसेली, फलफुल आदी लैजाने÷ल्याउने गर्दछन् । ल्होछारका दिन सवैलेआ आफनो गच्छे अनुसारको नया लुगाफाटो फेर्ने चलन रहि आएको छ । यो अवसरमा हरेकले आफनो नियमित रुपमा चल्ने घर धन्दा वाहेक जागीर, उद्योग, व्यापार धन्दा सवै त्यागेर ल्होछारमा होमिएका हुन्छन् ।समयको परिवर्तन संगै ल्होछार मनाउने विधिमा पनिकेही परिवर्तनहरु हुदै आएका छन् ।

केही समय अगाडिसम्म ल्हो (वर्ष) फेर्ने ल्होछार माघे संक्रान्तीलाई लिईन्थ्यो र आफनो पितृको नाममा आफुले गर्ने कर्मकाण्डहरु गर्दै आएका थिए भने हाल यसलाई ल्होछारको रुपमा परिवर्तन भएको हो भन्ने भान भएको छ । २०४६ सालपछि आएको परिवर्तनसंगै ल्होछारलाई भव्य र वृहत रुपमा मनाउने चलन एक्कासी वढेको मलाई याद छ । त्यो भन्दा पहिले माघे संक्रान्तीलाई नै आफनो पितृलाई सम्झने र पितृको नाउमा चोखोनिधो गरि फलफुल लगायत सवै सामाग्रीको जाहो गरि छो फुल्सी गरि ङोअ गर्ने चलन थियो ।

त्यसवेला ल्होछार भन्ने स्पष्ट धारणा र ज्ञान नभएपनि आफनो समुदायमा भएको लामाहरुलाई वोलाएर सामुहिक रुपमा लामा पढाउने, छो फुल्सी गर्ने चलन चलिरहेकै थियो । माघे संक्रान्तीको दिन सवै म्हाने, गुम्वा वा लामाले पाठ गर्ने स्थानमा जम्मा भएर नाङलोमा सवै फलफुल, अन्न, धुप वत्ती वालेर सजिसजाउ गरि आफनो पितृलाई चढाउने गरिन्थ्यो नै । हरेक म्हानेमा जम्मा भएर ह«ाप्ने गर्ने चलन पनि थियो । ह«ाप्ने ७ दिनसम्मगरिन्थ्यो पनि । सवै तामाङ समुदायहरु जम्मा भएर एक अर्कामा खुशी साटासाट गरिन्थ्यो भने त्यै नै कुरा अहिले आएर ल्होछारमा गरिन्छ जुन माघ महिनामा नै गरिन्थ्यो ।शान्ति उद्यान नगरकोटसुन्दर पर्यटकीय नगरी एवं धर्तीको स्वर्ग नगरकोटमा यसपालीको ल्होछार पनि धुमधामसंग मनाउने तयारी भएको छ ।

ल्होछार मनाउनका लागि ल्होछार व्यवस्थापन समिति तयार गरि आफनो कार्यक्रमहरुलाई युद्धस्तरमा अगाडि बढाईसकेको छ । यसपालीको ल्होछार शान्ति उद्यान नगरकोटको अगुवाईमा सवै अंगहरुलाई सशक्त ढंगले परिचालन गरि सकेको छ । हरेक तामाङ दाजुभाई र दिदी वहिनीहरुले आ आफनो घरमा धुमधानसंग ल्होछार मनाएपनि जम्काभेट हुने र छो फुल्सी गर्ने स्थान भने शान्ति उद्यान (शान्ति डाडा) मा नै हुनेछ । यो स्थान पवित्र, शान्त र निश्चल छ ।

यहां वुद्धको दर्शन गर्न सवैले सहजै तरिकाले पाउने छन् । यो शान्ति भुमिमा पाईला मात्र टेके पनि जो कोहीको मनमा उन्साह र उमंगले भरिपुर्ण हुने विश्वास छ ।यो शान्ति भुमिमा जो कोहीले पनि एकछिन संसारलाई नै भुलेर आनन्द लिनेछन् र स्वच्छ र सिरेटो हावामा आफुलाई समर्पित गर्ने छन् र वुद्धलाई भन्ने छन् “हे बुद्ध यो पवित्र भूमिमा आएर दर्शनगर्न प्रेरित गराईएकोमा धन्यवाद र म पनि शान्ति र सुखसंग आफनो जीवन शैलीलाई निरन्तर रुपमा तपाईकै बाटोमा लैजाने छु र मलाई साथ देउ हे वुद्ध भगवान .. ।ठुलो त्याग, तपस्या र संघर्षपछि नगरकोटमा वुद्धको दर्शन गर्नको लागि शान्ति उद्यान स्थापित भएको छ ।

यो पवित्र भूमिलाई व्यवस्थित रउच्च स्तरीय बनाउनको लागि शान्ति उद्यान व्यवस्थापन समितिले गुरुयोजना सहित आफनो कार्यहरु निरन्तर रुपमा गरिरहेका छन् ।वर्तमान अवस्थामा यस पवित्र भूमिमा हजारौं आन्तरिक र वाह्य पर्यटकहरुको घुईचो लाग्ने गरेको छ र धार्मिक दृष्टिकोणबाट पनि यो पवित्र भूमिमा वुद्धको दर्शन गर्नका लागि बौद्ध धर्मसंग आस्था र विश्वास गर्ने भक्तजन एवं दर्शनार्थीहरुको आवतजावत निकै नै वढ्न थालेको छ।

धर्तीको स्वर्ग नगरकोटमा बुद्धको दर्शन गर्न पाउनु मानव जीवनको एउटा महत्वपूर्ण पाटो सावित भएको छ शान्ति उद्यान नगरकोट ।ल्होछारमा नगरकोटमा के हुदै छ त ?विगत वर्षहरुमा झैं यसपाली पनि सोनाम ल्होछारकोअवसरमा फागुण ४ गते धुमधामसंग ल्होछार मनाउनको लागि विभिन्न प्रकारका कार्यक्रमहरु तय भईसकेका छन् ।

१. शान्ति पुजा— स्थानीय लामा गुरु म्हेमे म्हेमेहरुको अगुवाईमा शान्ति पुजा२. तामाङ जातीयसंग सम्वन्धित भेषभुषाको प्रदर्शन,३. तामाङ खानाका परिकारहरुको प्रदर्शन,४. तामाङ संस्कृतिक कार्यक्रम, (स्थानीय कलाकार तथा व्याण्डहरु)५. तामाङ जातीको मृत्यु संस्कारसंग सम्वन्धित विधिको प्रदर्शन,६. तामाङ जातीको जन्म (न्वारण) संग सम्वन्धित विधिको प्रदर्शन,७. स्थानीय स्तरमा तामाङहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको प्रदर्शन, (मुलाको चना, गुन्द«ुक, सिन्की, लप्सीको अचार, कोदोको रक्सी, फापर र पकैको ढिंडो, लोकल भालेको मासुको परिकार, स्थानीय उत्पादन तथा विषादीरहित हरियो सागसव्जी, तामाङहरुले दैनिक रुपमा प्रयोग गर्नेडोको, नाम्लो, थुन्चे, डालो, हसिया लगायत अन्य विभिन्न प्रकारका पृथक र आकार्षक स्टलहरुमा प्रदर्शन हुनेछ ।सामाजिक सञ्जालमा २०७४ को ल्होछारको वारेमा विभिन्न टिकाटिप्पनी भएपनि सोनामा ल्होछारको अवसरमा नगरकोटमा कार्यक्रम गर्न लागिएको हो । यद्यपि ल्होछारको विवादले नगरकोट वासीलाई खासै प्रभाव पारेको छैन किन भने ल्होछारको अवसर पारेर गर्न लागिरहेको कार्यक्रम हो । कुनै मिति र तिथिलाई आधार मानेर होईन । खास गरि कार्यक्रम माघ ४ गते गर्ने भनेर तय भएको थियो र आन्तरिक व्यवस्थापनका कारण जुनै पनि वेला गर्न सकिने भन्ने भनाईहरु सार्वजकि भएपछि फागुण ४ मा गर्ने निधो वृहत भेलाले पारित गरेको हो । ल्होछारलाई विवादमा ल्याउनु वा विवादमा आउन दिनु कुनै नौलोपना होईन । यो विवाद भनेको तामाङ समुदायमा आएको चेतनाको अभिवृद्धि हो । यसले अवश्य पनि सकारात्मक र ठोस निर्णयको जन्म गराउने छ । खारिएर र तिखारिएर आएको विवादले नै हामीलाई मर्यादित र गन्तव्यमा पुरयाउने छ भन्ने कुरा पक्का हो ।