You are here
Home > साहित्य > तिम्रो सम्झनामा

तिम्रो सम्झनामा

७ माघ २०७४, आईतवार १५:५४

रिमा केसी

तिमी जब मेरो जिबनमा आयौ
हृदयमा प्रेमको झन्कार जगायौ

तिमी आउनलाइ यसरी आयौ
जसरी हाँगा – हाँगामा
हरियाली लिएर अाँउछ वसन्त
प्रीतिको सुबास बोकेर अाउँछ्न फुलहरु
जीबनको नवीन अाँकुरा लिएर अाउँछ
रिमझिम बर्षात

तिमी आएपछी नै हो
मेरो भेट म सङ्ग भएको
मेरो हिमाल मेरै अाँखाहरुमा मुस्कुराएको
मेरो घाम मेरै निधारमा उदाएको
मेरो गुराँस मेरै गालाहरुमा फुलेको

तिमी आएपछी सिकेकि हुँ खुशिको कखरा
लेख्न थालेकी हुँ बालुवाको सिलोटमा
सँघर्षको कथा
अनि पढ्न थालेकी हँ
पबित्र प्रेमको बार्हखरी

तिम्रा अाँखामा ऐना हेरेपछी
मैले देखेकी हुँ
अाँसुको अक्षरमा पनि मुस्कुराउने जीवन
दुखको गीतमा पनि छङ्छङाउने झरना
शितको चिस्यानमा पनि
मगमगाउने माटोको महक

तर जसरी बगेको खोला फर्किदैन
जसरी बितेको समय कहिल्यै फिर्ता हुँदैन
अनि जसरी गएको लोभलाग्दो बैँस
कहिल्यै फर्केर आउदैन
ठिक त्यसै गरि गयौ तिमी म बाट
जसरी मान्छे पनि यो सँसारबाट जाँदैन

मगमगाउने फुल थएँ म पारिजातको
तिमी हावाको बेग बनेर आयौ
मेरो जिबनको सपना फुलायौ
अनि फुलेको सपनाको थुङ्गाहरुमाथी
गहिरा कलेजी यादहरु छोडिगयौ

तिमी अाँखाबाट अनायास खसेको
अाँसुको ढिक्का भएर गयौ
अमुल्य थियौ तर
फिक्का – फिक्का भएर गयौ

जब तिमी गयौ म बाट
मेरो जीबनको पहाडमा पहिरो गयो
मेरा रहरका फाँटहरुमा धाँजा फाट्यो
मेरो यात्राको निलो आकासबाट
सँधैको लागि एउटा घाम अस्तायो

तिम्रै सम्झनामा हजारौंको बिचमा
एक्लै छु आज
तिमी अाउँदा ‘असार’ बनेँ म
भोलि तिमीसितै ‘तारा’ भएर बाँच्न चाहन्छु

उ त्यो आकाशमा चमचम गर्दै
अन्धकार धर्तिमा पिलपिलाउने
प्रेमको दुइटा तारा झैँ
अमर हुन चाहन्छु म
तिम्रै मधुर सम्झना सङ्गै
तिम्रै प्रेमको शितल छाँया सँगै

तिमिले उ त्यो शिखरमा फरफराइरहेको
रातो झण्डा देख्यौ ?
त्यही झण्डामा टल्किएको
एउटा घाम तिमी हौ
अर्को जुन म हुँ