You are here
Home > Front News > भो अब अमेरिका नआऊ साथी, यहाँ चौपट्टै बिजोग छ नेपाली युवकहरुको

भो अब अमेरिका नआऊ साथी, यहाँ चौपट्टै बिजोग छ नेपाली युवकहरुको

७ माघ २०७४, आईतवार २३:२०

श्रीमति रुदैँ सुँक्क सुँक्क गर्दै थिइन, आमा बुवाको आखाभरी आँसु थियो, भर्खर बामे सर्दै गरेको छोरोले कुरा नबुझेपनि बाबा मलाई छोडेर नजानुस भन्ने आग्रह उसको आखामा थियो । मनले भन्दै थियो, परिवारको यो माया ममता र स्नेहलाई त्यागेर निष्ठुरी नभई । तर बाध्यता र पस्थितिले भन्दै थियो होइन अब तैले केही गर्ने बेला आएको छ, भावनामा बग्ने बेला होइन यो । यस्तै परिस्थित थियो म अमेरिकाका लागि हिड्ने अन्तिम दिन ।

मलाई राम्रो संग थाहा थियो, जंगलको बाटो हिड्नुपर्छ । मरिन्छ या बाँचिन्छ केही थाहा छैन् । बाघ भालु जस्ता जंगली जनावरको सिकार पनि हुन सकिन्छ । केही व्यक्ति त समुन्द्रमा डुबेर अनि जंगलको बाटोमा सर्पले टोकेर मरेको खबरपनि मैले पहिले अमेरिका पुगेका साथीबाट लिएको थिए । तर परिवारलाई मैले सम्झाउँदै थिएँ, होइन आमा बुवा यहाँबाट सिँधा इन्डिया र त्यहाँबाट मेक्सिको अनि अमेरिका छिर्ने हो । दुख हुन्न दलालले बाटोमा खाने बस्ने सबै व्यवस्था गर्छ, म अमेरिका पुगेपछि तपाईहरुको सबै दुख हट्छ ।

भएको एउटा छोरो बुढेसकालमा छोड्न मन थिएन्, बा आमालाई । बुढेसकालको लौरी पनि नहुँदा उहाँहरु चिन्तत हुनुहुन्थ्यो । तर बाबा आमाको मनले पनि भन्दै थियो छोरो अमेरिका पुग्यो भने त हाम्रो सबै दुख हट्छ ।

मर्नपनि सक्छु भन्ने थाहा हुँदा हुँदै पनि बाध्यताले मर्न पनि तयार हुनुपर्ने रहेछ । यदी मेरै देशमा गरी खाने वातावरण हुँदो हो त, त्यो दुधे बालकलाई छोडेर हिड्न कस्लाई मन हुँदो हो । अमेरिका पुगेपछि सबै दुख हट्ने अनि स्तरीय जीवन यापन सुरु हुने मनमा धोको थियो । सँधै कति मागेर खानुको पिडापनि मनमा थियो ।

देशमा केही गर्छु भन्ने धेयले धेरै काम पनि सुरु गरेको थिएँ, थालेका काम बिग्रदै जानु अनि ऋणको भारी आफु भन्दा आग्लो हुनु पनि म बिदेश जानुपर्ने बाध्यता थियो । आमालाई काठ्माण्डौ अस्पतालमा लिएर जाँदा साहुँसंग मागेको एक लाख तिर्न नसक्दा साहुको थकाई, दशै तिहार जस्ता ठुला चाडबाडमा पनि साथीसंगीसंग मागेर जोहो गर्नुपर्ने बाध्यताले पनि बरु माटो खान्छु बिदेश जान्छु भन्ने अठोट मनमा थियो ।

यस्तै परिस्थितिले मलाई बर्ष दिनको कष्टकर जिवन जिउँदै बल्लतल्ल अमेरिका ल्याई पुरायो । बाबा आमालाई सुख दिने बाचा गरेर घरखेत साहुसँग बन्धक राखेर अमेरिका आईपुगेको छोरो, फेरी घर कहिले फर्कने भन्ने पक्का नभएको अवस्थामा अमेरिकामा घण्टा हान्दैछ । साथी भाई इष्टमित्रलाई लाग्दो हो मेरो एक दिनको छुट्ीमा कालो चस्मा लगाएर ठुला बिल्डिङको अगाडि खिचेका फोटा हेर्दा मस्ति गरेको छ, तर मेरो परिस्थिति यस्तो छ । स्वतन्त्रता भएको देश हो तर यहाँ म काममा जाँदा १२ घण्टे ड्युटीमा १२ मिनेट थुचुक्क बस्न पाउँदिन् ।

अमेरिका छु तर कागचपत्रको कुनै ठेगान छैन्, कहिले हुने हो वा हुने होइन, अहिले त हल्ला चल्दैछ कि अब राजनीतिक शरण नदिने रे, म अब मेरो देश कहिले फर्कन्छु यकिनका साथ भन्न सक्दिन, बिदेश हिडेको पनि पाँच बर्ष भयो, बामे सर्दै गरेको छोरो लोर्के हुन थल्यो, चाऊरी परेका बा आमालाई दमले च्यापी सक्यो, श्रीमतिको जवानी सकिन थाल्यो तर म घर जाने कुनै ठेगान छैन् ।

मेरो पनि मन हो, दशै तिहार जस्ता ठुला चाडपर्वमा घरको सार्है याद आउँछ, श्रीमतिसंग हात जोडेर ससुराली जान मन छ । छोरोलाई लिएर सौराहा जान मन छ । बुढा भएका बा आमालाई लिएर मुक्तिनाथ जाने धोको छ । देश फर्कि हालुँत यहाँ पेपर होला कि भन्ने एक मन आश पनि छ ।

हा….जे त होला फर्किन्छु आफ्नै देश भनेपनि बल्ल तल्ल आउँदा लागेको ऋण तिरेर एउटा घडेरीको टुकुरो जोडेको छु । साउदी कतारबाट फर्के जस्तो गरी दुई दुई बर्षमा घर जान पाउने भएपनि यती धेरै निराश हुनुपर्ने थिएन होला । धेरै गुनासो गरेँ है, यस्तै बाध्यता छ हजुर मेरो, भोली खुसी हुने आशमा एक छाक गतिलो खाएर दुख गरेको छु । म जस्तै गरी अमेरिका आउँछु भन्ने साईला बा को छोरो, तल्लाघरे झिल्केदाई अनि संगै पढेको किस्ने भो अब अमेरिका नआइजाओ, यहाँ नत पेपरको कुनै ठेगान छ नत आउने बित्तिकै पहिले जस्तो राम्रो काम पाउने अवस्था छ ।

अब त देशमा स्थानिय तहको चुनाऊ पनि भयो क्यार….. त्यही दुईचार पैसा जम्मा गरेर परिवारका साथ दुई छाक खान सक्ने अवस्था सृजना गर भोली छोरो आउँछ कि आउँदैन भन्ने अवस्थाको सृजना नगर है साथी हो ।

मेक्सिको हुँदै बर्ष दिन लगाएर अमेरिका आईपुगेका तनहुँका युवासँगको कुराकानीमा आधारित । हामीले उनको आग्रहमा नाम परिवर्तन गरिदिएका छौं ।

-नमस्ते नेपाल