You are here
Home > Front News > बिरोधकै बीच सदरमुकाम गोलखादामा सारियो, मन्त्री परिषद्को निर्णयलेपुर्बी रुकुमका जनता खुशी

बिरोधकै बीच सदरमुकाम गोलखादामा सारियो, मन्त्री परिषद्को निर्णयलेपुर्बी रुकुमका जनता खुशी

१२ माघ २०७४, शुक्रबार १८:३८

 रुकुम पूर्व |

बिरोधकै बीच ‘रुकुम पूर्व’को सदरमुकाम गोलखादामा सारिएको छ । मन्त्री परिषद्ले पूर्वी रुकुमको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं. १२ कोलको गोलखादामा तोकेको हो । यस भन्दा पहिले काम चलाउ जिल्ला सदरमुकाम सिस्ने गाउँपालिका अन्तरगत रुकुमकोटमा थियो ।

२०७२ साल असोज ३ गते जारी भएको संविधानमा साविकको रुकुम जिल्लालाई दुई छुट्टाछुट्टै प्रदेशमा राखिएको थियो । गत असोज २० गतेदेखि रुकुम पूर्वले छुट्टै जिल्लाको रुपमा कामकाज गर्न थालेको थियो । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले पुथा उत्तरगंगा गाउँपालीका १२ न. वडाको गोलखादामा सदरमुकाम तोकेर निकास दिएको छ ।

पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ का वडा अध्यक्ष गंगा पुनले समग्र भुगोलको आधारमा तिन वटै गाउँपालिकालाई सम्बोधन गरेको छ । कुनै ठाउँ बिशेषलाई काखा र पाखा नगरि सबै जिल्लाबासीको चित्त बुझने गरि सदरमुकाम गोलखादामा तोकिएकोमा मन्त्री परिषद्लाई धन्यवाद दिएका छन् |

वडा अध्यक्ष गंगा पुनले भने,  ‘यो निर्णयले हिलाली जिल्लालाई निकै न्याय भएको छ ।’ उनले भने, ‘यो अत्यन्त सहि निर्णय हो । यसले सिंगो रुकुम पूर्वलाई समान नजीर गर्दछ । तीन वटै गाउँ पालिकाका जनताहरुले स्वीकार गरेको सदरमुकामलाई रुकुमकोटबासीले आफ्नो स्वार्थको लागी बिरोध गर्न पाउदैन |’

गोलखादामा सदरमुकाम हुने भएपछि रुकुमकोटबासीले ‘पुर्बी रुकुम’को जिल्ला सदरमुकाम गोलखाडामा सार्न नदिन सडक अवरुद्ध गरेका छन् । सरकारी कामदेखि यातायात समेत ठप्प पारेका छन् ।

उता नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा रुकुम पूर्वका संयोजक मेग बहादुर श्रेष्ठले मन्त्री परिषद्ले निर्णय गरे पनि सर्वोच्च अदालतले खारेजी गर्‍यो भने, सदरमुकाम रुकुमकोट नै हुने कुरा बताए । उनले भने, ‘गृहका सचीवहरुले गोलखादालाई नै सदर बनाए भने सदरमुकाम उतै सर्नेछ ।’