You are here
Home > Front News > पूर्बी रूकुम जिल्लाको सदरमुकाम गोलखाडाबाङ किन ?

पूर्बी रूकुम जिल्लाको सदरमुकाम गोलखाडाबाङ किन ?

१३ माघ २०७४, शनिबार २२:४२
लेखक तथा संघिय समाजबादी फोरम नेपालका नेता कर्ण बहादुर बुढा मगर

गत मंसिर ७ गते सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको रुकुमको तकसेरामा स्थलगत भ्रमण गर्ने क्रममा सबैलाई पायक गर्ने गरी भौगोलिक दृष्टिले केन्द्र भाग र राज्यलाई आवश्यक पर्दा प्रयोग गर्नमिल्ने सार्वजनिक जग्गाहरू समेत पर्याप्त रहेको गोलखाडाबाङलाई सदरमुकाम तोक्ने दिनुभएको प्रतिवद्धता अनुसार मिति २०७४ साल माघ ११ गतेको दिन नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयले जिल्लाको सदरमुकाम तोकेकोमा हामी सम्पूर्ण जिल्लावासीहरूले हार्दिक स्वागत गर्दछौं ।

स्मरण रहोस्, प्रदेश नं. ५ र ६ अर्थात् पूर्वी रुकुम र पश्चिम रुकुमको सिमाना छुट्याउने साँधको रुपमा रहेको रुकुमकोटलाई आधार मानिएको छ । पूर्वी रुकुममा जम्मा ३१ वटा वडा छन् । ती सबैका केन्द्र गोलखाडाबाङ मात्र पर्दछ । तर सिमानामा रहेको रुकुमकोट केवल ६–७ वडालाई मात्र थोरै पायक पर्दछ ।
साविकका तकसेरा, कोल, राङ्सी, हुकाम, रन्मा–मैकोट, जाङ, सिस्ने, प्वाङ, काँडा, मोराबाङ, काक्री आदि गाविसहरूलाई विगतमा सातगाउँ खोला (पर्वत क्षेत्र) भनेर चिनिने गरिन्थ्यो । भौगोलिक दृष्टिले यो ठाउँ जिल्लाकै अति विकट र दुर्गममध्येमा पर्दछ । मगर जातिको साझा क्लस्टर रहेको यो क्षेत्रको मगर जातिको ऐतिहासिक पहिचान पनि हो । यो क्षेत्रको भौगोलिक समस्या समाधान, मगर बाहुल्यता र पहिचानलाई बचाउन पञ्चायत कालदेखि नै धेरैथोरै प्रयासहरू हुँदै आएको देखिन्छ । सो प्रयासस्वरुप यो क्षेत्रलाई वि.सं. २०१९ सालमा डोल्पा जिल्ला कायम गरियो । त्यसपछि बागलुङ जिल्लामा र २०३२ सालपछि रुकुम जिल्लामा गाभ्ने काम भयो । तर यसले पनि समस्याको खासै समाधान दिन नसकेकोले हालको नयाँ संघीय संरचनाअनुसार पूर्वी रुकुम र पश्चिम रुकुमको रुपमा छुट्याएर अलग्गै पूर्वी रुकुम जिल्लाको रुपमा नयाँ जिल्लाको स्थापना भयो । जुन उद्देश्यको लागि जिल्ला छुट्याइएको हो, सो उद्देश्यपूर्ति गोलखाडाबाङले मात्र गर्नसक्दछ निश्चित छ । तर त्यहाँ सदरमुकाम नबनाएर अर्कै ठाउँ अर्थात् दुई प्रदेश र जिल्लाहरूको सिमाना छुट्याउने साँधको रुपमा रहेको रुकुमकोटमा अस्थायी सदरमुकाम राख्नु पूर्णतः अव्यावहारिक र अवैज्ञानिक मात्र होइन क्षेत्रीय र तथाकथित उच्चजातीय अहंकार पनि हो । यसैले अहिलेको सरकारको निर्णय मगर जातिको संस्कृति, इतिहास र भौगोलिक दृष्टिले गोलखाडाबाङ मात्र तीनवटै गाउँपालिकाको पायक र केन्द्रमा पर्नेगरी सरकारले गरेको यो निर्णय वैज्ञानिक र व्यवहारिक रहेको छ । यसको शीघ्र कार्यान्वयनको लागि पनि जोड्दार माग गर्दछौं ।
गाउँपालिका बन्ने आधारलाई हेर्दा, मनाङ जिल्लाको ५३८ जनसंख्या भएको नार–फु गाउँपालिका, १,१२९ जनसंख्या भएको चामे गाउँ पालिका, १,९३८ जनसंख्या भएको नाशोङ गाउँपालिका र २,२२२ जनसंख्या भएको नेस्याङ गाउँपालिकाहरू गाउँपालिका हुनसक्ने मापदण्डभित्र परेका छन् भने सो सरहकै उचाई, भौगोलिक दुर्गमता र सामाजिक अवस्था भएको पूर्वी रुकुमको पुथा–उत्तरगंगा गाउँपालिका अन्तर्गत पर्ने साविकका ३,६९८ जनसंख्या भएको गाविस तकसेरा, ३,१२७ जनसंख्या भएको कोल, २,०९८ जनसंख्या भएको राङ्सी, ३,०८४ जनसंख्या भएको जाङ, २,१४८ जनसंख्या भएको हुकाम, ३,७७७ जनसंख्या भएको रन्मामैकोट, सिस्ने गाउँपालिकाअन्तर्गत पर्ने १,८७७ जनसंख्या भएको सिस्ने, १,८०२ जनसंख्या भएको प्वाङ गाविस; भूमे गाउँपालिका अन्तर्गत पर्ने ४,६९३ जनसंख्या भएको काक्री गाविस, २,४४२ जनसंख्या भएको मोराबाङ र २,५६२ जनसंख्या भएको काँडा गाविसहरू पनि प्रत्येकले एउटा एउटा गाउँपालिका हुने मापदण्डभित्र पर्दछन् । तर त्यसो नगरी यस क्षेत्रको समस्यालाई सम्बोधन गर्नु त कता हो कता, उल्टै यो क्षेत्रलाई केही पूर्वाग्रही नेतृत्वले आफ्नो भोट बैंकलाई सुरक्षित गर्न पुनःसंरचना आयोगलाई दबाब दिएर असमान, अव्यवहारिक र अवैज्ञानिक ढंगले गोलमटोल गरी ३१,९६४ जनसंख्या रहेको सातगाउँ खोला र पोखरा, शोभा (रुकुमकोट), स्यालापाखा, महत र चुनबाङसहित गरी जम्मा ५३,०१८ जनसंख्या र भूगोलको साझा केन्द्र एवं अति दुर्गमको प्रतिनिधित्व गर्ने तीवटै गाउँपालिकाको समग्र केन्द्र पर्ने ठाउँमा सदरमुकाम नबनाई प्रदेश नं. ५ र ६ अर्थात् पूर्वी रुकुम र पश्चिम रुकुमलाई छुट्याउने सिमाना रुकुमकोटलाई सदरमुकाम बनाउन खोजियो । जो पूर्णरुपमा अव्यवहारिक मात्र होइन यी क्षेत्र र जनताको भावना र मर्मप्रतिको अपमान र उपेक्षाको पराकाष्ठा पनि थियो ।
रुकुम जिल्लामा रहेको यो उपेक्षित क्षेत्रभित्र नापिएको मध्यपहाडी लोकमार्ग पनि रुकुमकोटलाई नै लक्षित गरी सुगम ठाउँबाट कायम गर्ने काम भयो । यस कार्यले यो विकट क्षेत्र झन् पछाडि पर्यो । त्यस्तै गरी पूर्वी रुकुमका तकसेरा, हुकाम, रन्मामैकोट अर्थात् पूरै पुथा–उत्तरगंगा र भूमे गाउँपालिकाका साविक गाविस काक्रीहरूलाई ढोरपाटन शिकार आरक्षसीमाभित्र पारेर मगर जाति र सो जातिलाई विस्थापित गरी उनीहरूको पहिचानलाई समाप्त पार्ने षडयन्त्र पनि बुनिन थालिएको छ । यसैले यस क्षेत्रले बिगतदेखि नै भोग्दै आएको जातीय, क्षेत्रीय, साँस्कृतिक, भौगोलिक बिभेदको सिलसिलास्वरुप दुई प्रदेश र प्रदेश र जिल्लाको सिमाना रुकुमकोटलाई सदरमुकाम तोक्न आन्दोलन गर्नुको कुनै तुक छैन ।
साविकका गाविसहरू तकसेरा, कोल, राङ्सी, जाङ, हुकाम, रन्मामैकोटलाई पुथा–उत्तरगंगा; सिस्ने, प्वाङ, पोखरा, स्यालापाखा र रुकुमकोट गाविसलाई सिस्ने; काक्री, मोराबाङ, महत, चुनबाङ र काँडा गाविसलाई भूमे गरी तीन गाउँपालिकामा छुट्याइएको छ । नवनिर्णित सदरमुकाम गोलखाडाबाङदेखि पूर्व तकसेरा; उत्तर हुकाम र रन्मामैकोट; पश्चिम–उत्तर प्वाङ र सिस्ने; दक्षिण काक्री, महत, मोराबाङ, काँडा, चुनबाङ, पश्चिम सिमानामा रुकुमकोट पर्दछन् । यसरी जिल्लाको ठीक पश्चिम सिमानामा रुकुमकोट पर्दछ भने जिल्लाको उत्तर–पूर्वको झारलुङ, पेल्माखार, योमाखार, पुछर, दुले, इम, तिँज्याङ आदि अधिकांश गाउँहरूमा पुग्न दुई दिनभन्दा पनि बढी समय लाग्दछ । तर गोलखाडाबाङ पुग्न सबैतिरबाट सबैलाई जम्मा एक दिनभन्दा बढी लाग्दैन । अतः लामो समयको प्रतीक्षापश्चात् विगत लामो समयदेखि हरेक क्षेत्रबाट थिचिँदै, मिचिँदै आएका हामी पूर्वी रुकुमवासी र क्षेत्रले बल्ल न्याय पाएको महसुस गरेका छौं । यसको लागि विवेकपूर्ण, व्यवहारिक, न्यायोचित र वैज्ञानिक निर्णय गरेकोमा नेपाल सरकारलगायत यस न्यायोचित निर्णयमा पहल र प्रयास गर्ने सबैलाई पुनः धन्यवाद दिन चाहन्छौं ।