You are here
Home > साहित्य > बा (कविता)

बा (कविता)

१५ माघ २०७४, सोमबार ००:५६

 

रिमा केसी

तिम्रो रगतको कण-कण
निधारबाट बगेका पसिनाका थोप थोपाको
मूल्यको कथा लेख्न चाहन्छु बा, म ।

तिम्रा हर दु:ख, पीडा-वेदनाका महासागर
अनगिन्ती छालहरूको गहिराई भेट्न चाहन्छु म ।

बुढ्यौलीले पाकेका सेताम्मे केशहरूको
सहनशीलताको
परिभाषा लेख्न चाहन्छु म ।

वर्षाैंदेखि देखिरहेछौ लाखौं सपना
कहिले ननिदाउने
कदापि नथाक्ने
ती चम्किला आँखाका नानीहरूको
‘बिपना’ लेख्न चाहन्छु बा, म ।

तिम्रो त्यो निर्दोष मुहार
बुढ्यौलीमा खुम्चिएको नशा
छालामाथिका रेशा-रेशाको
आयूको भाषा लेख्न चाहन्छु बा, म ।

ती कलेटी परेका ओठहरुमा
अद्भूत मीठो मुस्कान अनि
उल्लास-उमगंको
सुनौलो विहानी देख्न चाहन्छु म ।

तिम्रो सत्तरी नाघेको उमेरमा
उर्वर जोशिलो यौवनको
रहर र जुझारूपनाको
उदाहरणको
नवीन उपन्यास लेख्न चाहन्छु बा, म !

एक वाक्यमा लेख्न चाहन्छु-
‘आमा जति महान् छिन्,
त्यती नै महान् छौं तिमी बा ।’ !