You are here
Home > समाचार > पारिजात

पारिजात

१८ माघ २०७४, बिहीबार १०:०३

रिमा केसी

निरन्तर फुल्छौ, झर्छौ
झर्नुपर्छ भन्ने थाहा हुँदा पनि
फुलिरहन्छौ फेरिपनि ।

फुल्नु तिम्रो कि प्रकृतिको दोष ?
फुल्ने तिम्रो रहर कि बाध्यता ?

कति रहर होला तिम्रो पनि
फुल्न ढकमक्क
भर्भराउँदो यौवनको सुवास बाड्ने हात-हातमा
हावाको मन्द-मन्द गतिमा बहकिन
रविको प्रभाती-किरण सँगै चहकिन
बर्षाउँदा बादलले पानी सँगै महकिन
पुतली/माहुरी/भँमराका ताँतीसँग लहसिन
नाम छ तिम्रो परिजात
अफसोच ! यति कमजोर, यति निम्छरो ?
कसैले छुन नपाउँदै खसिदिने
तिमीले वरदान पायाै या अभिशाप ?

तिमी हजारौंमा एक छौ
फूलहरूको बेग्ला-बेग्लै सुवासमा
स्थान पनि छ तिम्रो आफ्नै
कस्ले बुझिदिने तिम्रो पीडा ?
-फुल्नुकाे तिम्रो पीडा
-भुईँमा झर्नुकाे पीडा
तिमी फुल्छौ किन ? तिमी झर्छौ किन् ?

कसलाई छ तिम्रो वास्ता ?
कस्लाई छ सोच्ने फुर्सद ?
मतलवी समयसित मतलव मात्र छ
सबै आ-आफ्नो गीत गाउन व्यस्त
सबै हुँदारहेछन् यहाँ त खेल्न मस्त

तिमी फुलिरहेछौ, झरिरहेछौ
आफ्नै जिन्दगीबाट जिन्दगी जस्तो
पल्लवित सुवास छरिरहेछौ

कोहि तिमीलाई चुम्दै-चुम्दै हिड्छ
कोही तिम्रै छाती कुल्चिदै हिड्छ
तिमी चूपचाप फुलिरहन्छौ, झरिरहन्छौ

यो बाटोका एक-एक यात्रीसँग खोज
तिम्रो लुटिएको खुशी उनीहरूसितै छ
तिमीसित त छन् पीडाहरू मात्र ।