You are here
Home > Front News > ओलीको कुटनीतिक सफलता: नेपाली नेता भारत हैन्, भारतीय नेता काठमाडौँ धाउन थाले

ओलीको कुटनीतिक सफलता: नेपाली नेता भारत हैन्, भारतीय नेता काठमाडौँ धाउन थाले

२० माघ २०७४, शनिबार २३:०१

मीनबहादुर पण्डित

नेपालका परराष्ट्रमन्त्री र गृहमन्त्री एक बर्षमा ११ पटकसम्म दिल्ली धाएको रेकर्ड छ । कमसेकम अहिले त भारतीय विदेश मन्त्री नै नेपाल आउन बाध्य भएकी छिन । यदि सम्बन्ध सुधारको एजेन्डा लिएर कसैले ‘गुडविल’ भ्रमण गर्छ भने त्यसलाई नकारात्मक हिसाबले मात्र पनि हेरिनु हुँदैन ।

आमनिर्वाचन भएको दुई महिना हुन लाग्यो । तर, बाम गठबन्धनले लगभग दुई तिहाई सिट जित्दा समेत नयाँ सरकार बन्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा अहिले पनि मनमौजी निर्णय गरिबसेका छन् । चुनाब हार्दा पनि उनलाई नैतिकताले कँही छोएको देखिन्न ।

बरु बाम गठबन्धन फुटाएर कांग्रेस र माओवादी मिलाएर सरकार बनाउन उनले जोडबल गरिरहेका छन् । यद्यपि उनका प्रयासहरू सफल हुन सकेका छैनन् । किनकी एमालेसँग पार्टी नै एकीकरण गर्छौँ भनेर चुनाव जितेको हुनाले माओवादीलाई कांग्रेससँग मिलेर सरकार बनाउँदा जनमतको अपमान हुन्छ भन्ने राम्रै थाहा छ ।

अहिलेको परिस्थितिमा माओवादी चाहेर पनि काँग्रेससँग मिल्न सक्ने अवस्थामा छैन । विगतमा पनि ओली सरकार बनेको छ महिना नपुग्दै सरकार ढालेर माओवादी र कांग्रेसको सरकार बनाइदिने प्रयास भए । र, केही महिनापछि त्यो प्रयास सफल पनि भयो । फलस्वरुप इतिहासमा पहिलोपटक आफै सम्मिलित सरकार आफै ढालेर माओवादीले काँग्रेससँग गठबन्धन गर्न पुग्यो ।

तर त्यो गठबन्धन जनताले फिट्टिकै मन पराएनन, फलस्वरूप कांग्रेस र माओवादीले स्थानीय निर्वाचनमा ठूलो पराजय व्यहोर्न पर्यो । राजधानीमै माओवादीकै जमानत जफत भयो । माओवादी एमालेसँग गठबन्धन गर्न बाध्य हुनुको यो पनि एउटा कारण हुन सक्छ ।

अहिले नयाँ सरकार बन्ने प्रयास भैरहँदा भारतीय बिदेश मन्त्रीको नेपाल भ्रमणलाई निकै अर्थपूर्ण रूपले हेरिएको छ । यसलाई धेरैले नाकाबन्दीको बेला नेपालसँग चिस्सिएको भारतको समन्ध सुधार्ने एउटा महत्वपूर्ण कदम वा मौकाको रुपमा पनि हेरेका छन् । बदलिएको परिस्थितिमा मोदी नेपालसँग मिलेर काम गर्न चाहन्छन भन्ने सन्देश पनि यो भ्रमणले दिएको छ । तर, स्वराजको नेपाल भ्रमण हुनुको अरु पनि थुप्रै कारणहरु छन् ।

भारतीय दूतावासले बाम गठबन्धन टुटाएर कांग्रेस – माओवादीको सरकार बनाउन गरेको प्रयास र लबिङ्ग कसैसामु छिपेको छैन । मुलतः स्थिर सरकार, तीव्र विकास र राष्ट्रवादी अडान लिएर चुनाव जितेको एमाले र माओवादीको सरकार बन्न नदिने सबै प्रयासहरु असफल भएपछि भारत एमाले वा केपी ओली नेतृत्वको सरकारलाई नै हात लिएर अगाडि बढ्ने रणनीतिमा छ ।

मोदीले ओलीलाई बारम्बार फोन गर्नुको कारण पनि यही हो । मोदी र ओलीको फोन सम्बादपछि मोदीको नेपालसँग सम्बन्ध सुधार्ने चाहना अनुसार सुष्मा स्वराज नेपाल आएकी हुन भन्दा फरक नपर्ला ।ओलीलाई पनि भारतसँग सुमधुर सम्बन्ध राखेर सरकार चलाउनु पर्ने बाध्यता छ । किनकी गठबन्धन सरकार चलाउन थुप्रै अफ्ठ्यारा र चुनौतीहरु छन् ।

भोलि भारतलाई ओलीको काम मन परेन भने बिगतमा जस्तै माओवादी भड्काएर सरकार ढालिदेला भन्ने डर छ, जुन धेरै हदसम्म सही पनि हो । किनकी यदि ओली सरकारले भारतको चाहना अनुरुप काम गर्न चाहेन भने भारतले द्धन्दकालका मुद्दा देखाएर प्रचण्डलाई सत्ता समिकरण फेर्न दबाब दिनेछ । त्यस्तो स्थितिमा भारतीय दबाब प्रचण्ड एक्लैले मात्र थेग्न सक्दैनन् ।

त्यसैले ओलीलाई भारतसँग समन्ध सुमधुर बनाउनुको विकल्प छैन । उता भारतलाई पनि नेपालसँगको सम्बन्ध सुमधुर नबनाए नेपाल चीनतिर ढल्केला भन्ने डर छ । पेल्न खोजे नेपाल चीनतिर धकेलिन्छ, बरु फकाएर मात्र सम्बन्ध सुमधुर बनाउन सकिन्छ भन्ने सोचमा भारत पुगेको छ भन्ने कुरालाई यो भ्रमणले थप प्रमाणित गरिदिएको छ ।

जसलाई भारतीय हस्तक्षेप कम गर्ने दिशामा ठूलै उपलब्धि मान्न सकिन्छ । त्यसैले यो भ्रमणलाई कुटनीतिक मर्यादा क्रम मिलाउने भन्दा पनि आपसी मुद्दाहरु मिलाउनेतिर बढ्ता जोड दिनु पर्दछ ।

बिगतमा कांग्रेसी नेताहरु ससुराली वा मामा घर गए जस्तो भारत गइरहन्थे, जसको जनमानसमा चर्को आलोचना हुने गर्दथ्यो । त्यसैले जसले जसरी ब्याख्या गरे पनि भारतीय प्रधानमन्त्री र मन्त्री पनि नेपाल भ्रमण गर्नुपर्ने परिस्थिति सिर्जना गर्ने श्रेय ओलीलाई नै जान्छ ।

तर यो भ्रमणलाई बास्तबिकता नबुझी हल्का टिप्पणी गर्नेहरु ओलीको राष्ट्रवादी अडानको हावा फुस्कियो भनेर अतिरन्जित र नकारात्मक हिसाबले अनेक टिकाटिप्पणी गर्दैछन् । जसलाई यसकारण गलत मान्न सकिन्छ, किनकी बिगतमा नेपालका परराष्ट्रमन्त्री र गृहमन्त्री एक बर्षमा ११ पटकसम्म दिल्ली धाएको रेकर्ड छ । कमसेकम अहिले त भारतीय विदेश मन्त्री नै नेपाल आउन बाध्य भएकी छिन ।

यदि सम्बन्ध सुधारको एजेन्डा लिएर कसैले ‘गुडविल’ भ्रमण गर्छ भने त्यसलाई नकारात्मक हिसाबले मात्र पनि हेरिनु हुँदैन । किनकी छिमेकी फेर्न मिल्दैन, त्यसैले भारतसँगको सम्बन्ध सुधारको बिकल्प छैन ।बिगतमा सत्र बर्षसम्म भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण भएको थिएन, किनकी नेपालका प्रधानमन्त्री नै प्रम बनेको तिन महिनाभित्र भारत भ्रमण गर्दथे, पुष्पकमल दाहाल त प्रधानमन्त्री बनेको एक महिनामै भारत भ्रमणमा गएका थिए ।

नेपालका प्रधानमन्त्री जतिबेला बोलाए पनि लुरुक्क परेर भारत भ्रमणमा गएपछि किन आउनु पर्यो भारतीय प्रधानमन्त्री नेपाल ? ओली प्रधानमन्त्री बनेपछि कमसेकम भारतीय प्रधानमन्त्री पनि नेपाल आउन बाध्य भए, किनकी दिल्ली धाएर दिल्लीले भने अनुसार दिल्लीको इशारामा उनी चलेनन् ।

बरु नाकाबन्दी नखोली दिल्ली भ्रमण गर्दिन भनेर स्पष्ट अडान लिए । कति नेताले त नाकाबन्दीलाई नाकाबन्दी समेत भन्न सकेनन् । आज तिनै पार्टीका कार्यकर्ता ओली सुष्मा भेटको आलोचना गरेर तल्लोस्तरको राजनीति गर्दैछन् । जबकी भारत भ्रमणको क्रममा बुँदाहरु चित्त नबुझेपछि ओली नेपाल भारत संयुक्त घोषणा पत्र जारी गर्न समेत राजी भएनन् ।

त्यो भन्दा अगाडि बाबुराम भट्टराई, प्रचण्ड र देउवाको भारत भ्रमणमा जारी भएको संयुक्त घोषणा पत्रको खुबै आलोचना र बिबाद भएको थियो । त्यसैले भ्रमण भनेको बराबरीमा हुनु पर्दछ । बिगतमा कांग्रेसी नेताहरु ससुराली वा मामा घर गए जस्तो भारत गइरहन्थे, जसको जनमानसमा चर्को आलोचना हुने गर्दथ्यो ।

त्यसैले जसले जसरी ब्याख्या गरे पनि भारतीय प्रधानमन्त्री र मन्त्री पनि नेपाल भ्रमण गर्नुपर्ने परिस्थिति सिर्जना गर्ने श्रेय ओलीलाई नै जान्छ ।

त्यसो हुनाले नेपाली नेता बारम्बार सत्तामा जान पाउने लोभमा किन भारत गइरहने ? भारतलार्इ काम परे उ आफै आउँछ, जस्तो अहिले आएन त ? ओलीको सपथ ग्रहण समारोहमा मोदी समेत आउने सम्भाबना र चर्चा छ । यो नेपालको कुटनीतिक जित हो ।

बिगतमा पनि भारतले नेपाली राजनीतिमा अनावश्यक हस्तक्षेप र चासो राख्न्ने गर्दथ्यो । हुनत सत्ता स्वार्थले गर्दा दिल्ली धाएर भारतीय हस्तक्षेप निम्त्याउने हाम्रै नेताहरु हुन्, यसमा भारतको मात्र पनि दोष छैन् । हामी हाम्रो आन्तरिक समस्या आफै समाधान गर्न सक्नुपर्थ्यो । र, सक्नु पर्छ । अनि मात्र बिदेशी चलखेल र हस्तक्षेप बन्द हुनेछ ।

मूलत् भारतीय चाहना नेपाललाई आफ्नो अधिनमा पारेर नेपालमा चिनियाँ प्रभाब रोक्नु हो, तर अहिलेको बदलिएको बिश्व परिस्थितिमा भारतले त्यो नजरले नेपाललाई हेर्नु नै गलत छ । किनकी हामी पनि भारत जस्तै स्वतन्त्र र सार्वभौम राष्ट्र हौँ । हामी भारतको गुलाम वा उपनिबेश होइनौँ । हामीलाई जुनसुकै देशसँग ब्यापार गर्ने र सम्बन्ध विस्तार गर्ने अधिकार छ ।

यसका लागि हामीलाई कसैसँग अनुमति लिने आवश्यक्ता पनि छैन र कस्ले के भन्ला भनेर डराउन पर्ने स्थिति पनि छैन । त्यसैले भारतले नेपालसँग साँच्चिकै सम्बन्ध सुधार्ने हो भने नेपाल भारतबीच भएका असमान सन्धिहरु खारेज वा पुनरावलोकन गर्न जरुरी छ, नेपालको जलश्रोतमा अनावश्यक चासो राख्न्न बन्द गर्न जरुरी छ, सिमाना व्यवस्थित गर्न जरुरी छ, नेपाललाई हेप्न र चेप्न छोड्नु जरुरी छ, सिमा डुबान समस्या समाधान गर्न जरुरी छ, भारतले बनाउँछु भनेर ठेक्का लिएका योजनाहरु बर्षौँ झुलाउने कार्य बन्द गर्नु जरुरी छ, फास्ट ट्रयाक जस्ता योजनाहरु हत्याउने खेल बन्द गर्न जरुरी छ, नेपाली उत्पादनलाई भारत निकासी गर्दा बेला बेलामा हुने अबरोध हटाउन जरुरी छ ।

यदि भारतले यस्ता मुद्दाहरुमा ध्यान दिने हो र यी मुद्दाहरुमा केन्द्रीत भएर छलफल चलाउने हो भने भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणले दुवै देशलाई फाइदा पुग्ने छ । र, सम्बन्ध पनि सुमधुर हुनेछ ।

अर्कोकुरा नेपाल-भारत सम्बन्ध दुई सरकारबीच सुमधुर भएर मात्र पुग्दैन । सम्बन्ध सुमधुर हुनलार्इ जनस्तरबाटै सम्बन्ध सुमधुर हुनुपर्दछ । भुकम्पले थलिएको अत्यन्त अफ्ठेरो बेलामा पनि नाकाबन्दी लगाउने भारतलाई हत्तपत्त आमनेपालीहरु बिश्वास गर्न तयार देखिँदैनन । त्यसैले यो भ्रमणले नेपाली जनताको जनभावना सम्बोधन गर्न सक्यो भने मात्र नेपाल-भारत समन्ध सुमधुर हुनेछ ।

तर, ओलीले भारतसँग सम्बन्ध सुमधुर बनाउन खोज्नुलाई ओलीले नाकाबन्दी बिर्सिए भनेर अर्थ लगाउनु हुँदैन । नाकाबन्दीले गर्दा नेपालमा भारतको छवि बिग्रिएको छ, त्यसलाई भारत स्वयमले आत्माआलोचना र विवेचना गर्नु पर्दछ । तर सम्बन्धहरु यथास्थितिमा छाडेर ओली अगाडि बढ्न सक्दैनन् ।

ओलीले भारतसँग सम्बन्ध सुमधुर बनाउन खोज्नुलाई ओलीले नाकाबन्दी बिर्सिए भनेर अर्थ लगाउनु हुँदैन । नाकाबन्दीले गर्दा नेपालमा भारतको छवि बिग्रिएको छ, त्यसलाई भारत स्वयमले आत्माआलोचना र विवेचना गर्नु पर्दछ । तर सम्बन्धहरु यथास्थितिमा छाडेर ओली अगाडि बढ्न सक्दैनन् ।

दुःखको कुरा, भारतले पेट्रोलियम पदार्थ, ग्यास लगायत अन्य अत्त्यावश्यक वस्तुको निर्यातमा नेपाली बजारमा आफ्नो मात्र एकाधिकार खोज्छ । यसबापत उसले अर्बौको नाफा पनि कमाउने गर्दछ । तर नेपाली समान किन्न भने बेलाबेलामा आनाकानी र अबरोध गर्दछ ।

हामी चीनतिर सस्तो परे चीनतिर किन्छौँ, भारततिर सस्तो परे भारतको किन्छौँ, यसमा भारतको किन आपत्ति ? अर्कोकुरा भारतले नेपालसँग सम्बन्ध सुमधुर बनाउन चाहने हो भने नेपाल चीन रेल लिंक भाँड्ने काम तत्काल बन्द गर्नु पर्छ ।

केपी ओली प्रधानमन्त्री हुँदा सर्बे भएको रेलको योजना भारत रिसाउला भनेर अहिलेको सरकार आलटाल नीति अबलम्बन गरेर बसेको छ । यस्ता अदृश्य खेल बुझ्न नसक्ने आजका जनता त्यति लाटा पनि छैनन् । बिशेष गरेर भारतीय मिडियाहरु नेपाल चीन रेक लिंकको चर्को बिरोध गर्ने गर्दछन ।

त्यसैले दुई देश बीचको सम्बन्ध बिगार्ने त्यस्ता मिडियाहरुलाई भारत सरकार किन कारबाही गर्दैन ? किन सम्झाउँदैन ? भारतले नेपालमा रेल बिस्तार गर्न हुने तर चीनले चाँहि किन नहुने ?

भारतको चाहना नेपालले केही पनि उत्पादन गर्न नसकोस र आफ्नो सामान बिक्री भइरहोस भन्ने नै हो । तर, नेपालको विकास भएर जनता धनी भए भने नेपालीको खर्च गर्ने शक्ति (क्रय शक्ति) बढ्छ । त्यो बेला कच्चा पदार्थ लगायत अरु सामानहरु अहिले भन्दा धेरै आयात हुनेछ ।

साथै, प्रशस्त नेपालीहरु भारत घुम्न जानेछन्, जसले गर्दा भारतीय पर्यटन उद्योग र ब्यापारलाई ठूलो फाइदा हुनेछ । त्यसैले भारतले नेपाललाई कमजोर पारेर आफ्नो अधिनमा राखी राख्ने रणनीति त्याग्नु पर्छ ।

यस्तो रणनीति भारत स्वयंलाई आत्मघाती पनि हुन् सक्छ । ब्यापार भनेको दुबैलाई फाइदा पुग्ने खालको हुनु पर्दछ । एउटालाई मात्र फाइदा पुग्ने ब्यापार दिगो र भरपर्दो हुँदैन । त्यस्तो व्यापारले आपसी विश्वासलार्इ मजबुत पार्न सक्दैन ।

नेपाल सरकारले पनि भारतको चासो सम्बोधन गर्दै नेपाल चीन मित्रताले भारतलाई कुनै हानी हुँदैन भनेर बुझाउन सक्नु पर्दछ । त्यसैले सुष्मा स्वराजको नेपाल भ्रमणसँगै आपसी सम्बन्धहरु सुमधुर र अझ प्रगाढ बनाउने हो भने दुवै सरकारले यी कुरामा ध्यान दिन अत्यन्त जरुरी छ ।

-नेपाल दैनिकबाट