You are here
Home > Front News > सगरमाथा शिखर चुम्दै पञ्चकन्या, पत्रकारदेखि ‘लिड क्यारेक्टर’सम्म

सगरमाथा शिखर चुम्दै पञ्चकन्या, पत्रकारदेखि ‘लिड क्यारेक्टर’सम्म

२१ माघ २०७४, आईतवार २३:२४

काठमाडौं

पाटनढोकास्थित यलमाया केन्द्रमा जर्मनी लेखिका आना फ्य्राङ्कले लेखेको ‘द डायरी अफ योङ गर्ल’ को नाटक मञ्चनको तयारी भइरहेको थियो। दर्शकको भिड खचाखच थियो। नाटककी ‘लिड क्यारेक्टर’ थिइन् रोजिता बुद्धाचार्य। नाटक मञ्चनका लागि केही मिनेट मात्र बाँकी थियो। रोजिताको कानमा रुन्चे स्वरमा एक जनाले भने, ‘रोजिता तिम्रो बुबा बित्नुभयो। अब घर जानुपर्ने भयो…।’ रोजिता अवाक् भइन्। आँखामा टिलपिल-टिलपिल आँसु आयो।

नाटककी ‘लिड क्यारेक्टर’ नै शोकमा परेपछि आयोजक नाटक मञ्चन स्थगित गर्ने तयारीमा थिए। रोजिताले भनिन्, ‘नाटक नरोकौं।  अहिलेसम्म म एक्लै पीडामा छु। यदि मैले नाटक गरिनँ भनेँ यहाँ आएका धेरैले दुःख पाउनेछन्। त्यसकारण म नाटक सकेपछि मात्र घर जान्छु। मेरा कारण अरुलाई दु:खी बनाउँदिन।’

नाटक सुरु भयो। रोजिताले पितृशोकको पीडालाई नाटकको पात्रमा कतै ल्याइनन्। नाटक सकियो। सबैले तारिफ गरे। रोजिता सिधै घर गइन्। नाटक सकिएपछि बल्ल दर्शकले थाहा पाए, रोजिताले शोकको घडीमा पनि अभिनय गरेकी थिइन्। धेरैले भने, ‘साँच्चै आँटिली रहिछन् रोजिता।’

०००

उक्त नाटक हेर्न पुगेकी थिइन्, रोशा बस्नेत पनि। राष्ट्रिय समाचार समितिमा कार्यरत बस्नेत सगरमाथामा महिला पत्रकारहरुको आरोहण गर्ने परिकल्पनाकार हुन्।

रोशा बस्नेत


रोजिताको आँटिलो मन देखेर रोशाले खोजी गरिन्, ‘मलाई यस्तै दरिलो मुटु र साहस भएको साथी चाहिएको छ।’ त्यतिबेलासम्म रोशालाई रोजिता पत्रकार हो भन्ने थाहा थिएन। उनलाई लागेको थियो रोजिता, रंगकर्मी मात्र हुन्। त्यसको केही दिनपछि रोशाले थाहा पाइन्, ‘रोजिता पनि पत्रकार हो र उनी नेपाल टेलिभिजनमा काम गर्छिन्।’ तुरुन्तै मोबाइल नम्बर पत्ता लगाएर फोन हानिन्। मोबाइलमा आवाज आयो, ‘माफ गर्नुहोला, तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ।’ पुन: नम्बर डायल गरिन्। फेरि त्यही आवाज दोहोरियो।

०००

रोजिता ‘एना इन द ट्रपिक्स’ नामक नाटक मञ्चनका लागि भारत गएकी थिइन्। भारतबाट प्लेनमा फर्कने क्रममा रोजिताले साथीहरुलाई हिमाल देखाउँदै यसको सौन्दर्यको वर्णन गरेकी थिइन्। नेपाल आइन्। रोशासँग भेट भयो। रोशाले प्रस्ताव राखिन्, ‘महिला पत्रकारको समूह सगरमाथा चढ्दैछौं, तिमी पनि  हामीसँगै सगरमाथा चढ्ने हो?’ रोजिताले तुरुन्तै उत्तर दिन सकिनन्। घरमा सल्लाह गरेर जवाफ दिने जानकारी दिइन्।

बुबा बितेको २० दिन मात्र भएको थियो। रोजिताले सगरमाथा चढ्न जाने योजना सुनाउँदा घरका सबै चकित परे। उनले गाली पाइन्। भन्छिन्, ‘मेरो प्रस्ताव घाउमा नुन छर्केजस्तो भयो। उल्टै गाली खाइयो।’ कुरामा भन्दा काममा विश्वास गर्ने रोजिताले परिवारको सहमति नभए पनि सगरमाथा चढ्ने अठोट लिइन्। रोशालाई भनिन्, ‘दिदी आई एम रेडी टु क्लाइम्ब माउन्ट एभरेस्ट।’

रोजिता बुद्धाचार्य


आजसम्म पनि रोजितालाई सगरमाथा चढ्ने विषयमा परिवारबाट पूर्ण सहमति आइसकेको छैन। भन्छिन्, ‘म कुराले भन्दा पनि कामले बुझाउने नेचरको मान्छे। त्यसकारण सगरमाथा चढ्ने विषयमा पनि म सफल भएर देखाउनुछ।’ सगरमाथा आरोहणका लागि यतिबेला उनी समूहका अन्य चार साथीझैं कठिन शारीरिक अभ्यासमा जुटिरहेकी छिन्। अहिले उनी हरेक दिन बिहान ५ बजेदेखि शारीरिक व्यायाम तथा अन्य अभ्यासमा खटिन्छिन्। २० देखि २५ किलोग्राम तौलको झोला बोकेर घन्टौं हिडिरहन्छिन्। पत्रकारिता र रंगकर्मलाई पनि त्यसै अनुसार मिलाइरहेकी छिन्।

०००

पाँच जनाको महिला समूहमा परिवारबाट अझै पनि पूर्ण सहयोग नपाएकी अर्की पत्रकार हुन्, कल्पना महर्जन। मेघा टेलिभिजनमा कार्यरत महर्जन विवाहित हुन्। उनको ६ वर्षको बच्चा छ। आफूलाई जन्म दिन बाबुले त उनलाई ‘म मरेँ भनेर सम्झे हुन्छ’ समेत भनेका छन्। ‘मेरो मन रोएको छ, म जसरी पनि सफल भएर देखाउँछु,’ उनी गर्विलो स्वरमा भन्छिन्। सगरमाथा चढ्न जाने विषयमा सुरुमा त उनको श्रीमान्‌ले पनि सहमति दिएका थिएनन्।

पर्यटन क्षेत्रमा काम गर्दै आएकी कल्पना सन् २०१४ मा सोलुखुम्बुको म्यारापिक हिमाल आरोहणका क्रममा नराम्ररी बिरामी परेकी थिइन्। उनलाई तुरुन्तै उद्धार गरिएको थियो। त्यतिबेला उनी ७ दिन कोमामा पुगेकी थिइन्। उक्त घटनाले पनि हो कल्पनालाई श्रीमान् र घरबाट सहमति पाउन गाह्रो भएको। तर, कल्पनालाई विगतको उक्त छाप मेटाउनुछ। हिमाल चढ्न सक्छु भन्ने प्रमाणित गर्नुछ।

कल्पना महर्जन


उनी हिमाल पुन: चढ्ने अवसरको खोजीमा रहेको समयमा सगरमाथा जाने प्रस्ताव आएको थियो। रोशाबाट आएको उक्त प्रस्तावलाई उनले सहजै स्वीकार गरिन्। तर, यो विषयमा उनले लामो समयसम्म घरमा जानकारी नै दिइनन्। हरेक दिन मर्निङ वाक, शारीरिक अभ्यास, गह्रुँगो झोला बोकेर हिँड्ने तथा अन्य अभ्यासमा भने व्यस्त भइन्।

सगरमाथा आरोहणमा जाने महिला पत्रकारहरुले राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेटेको समाचार र फोटो सञ्चारमाध्यममा आएपछि मात्र उनको परिवारले उनी जान लागेको थाहा पाएका थिए। सगरमाथा चढ्ने अभ्यासका क्रममा केही समयअघि उनीहरुले रामदुम हिमालको सफल आरोहण गरिसकेका छन्। कल्पनाले उक्त हिमाल आरोहणका लागि घरबाट निस्केपछि मात्र श्रीमान्‍लाई एसएमएस गरेकी थिइन् भने हिमाल आरोहण पूरा भएपछि घरमा फोन गरेकी थिइन्। निडर र जिद्दी स्वभावकी कल्पनालाई अहिले श्रीमान्‌ले उनलाई पनि साथ दिएका छन्। उनी पनि हरेक दिन बिहान कल्पनासँगै उठ्छन् र मर्निङ वाक जान्छन्।

०००

कल्पना सानैदेखि साहसी काम गर्न रुचाउँथिन्। ललितपुर सानागाउँमा साइकल चलाएर हिँड्ने उनी पहिलो केटी थिइन्। त्यतिबेला उनलाई धेरैले बिग्रिएकी केटी भनेर आरोपसमेत लगाए। तर, उनले कहिले हरेश खाइनन्। उल्टो त्यसको विरुद्धमा विद्रोह गरिन्। पत्रकारितामा लागेपछि उनले रक क्लाइम्बिङ प्रतिस्पर्धामा दुई पटक प्रथम स्थान हासिल गरिसकेकी छिन्। दोस्रो पटकको प्रतियोगितमा प्रथम हुँदा त उनी साढे दुई महिनाको सुत्केरी थिइन्। विवाह गरिसकेकी र बच्चा भइसकेकी महिलाले केही पनि गर्न सक्दैनन् भनेर उनलाई धेरैले भनेका थिए। ‘रक क्लाइम्बिङबाट मैले धेरैको मुख बन्द गराइसकेको छु,’ उनले भनिन्, ‘अब सगरमाथा आरोहण गरेर विवाहित महिलाले जे पनि गर्न सक्छन् भन्ने प्रमाणित गर्छु।’

०००

न्युज २४ मा खेलकुद पत्रकारका रुपमा कार्यरत प्रियालक्ष्मी कार्की आरोहण दलकी अर्की सदस्य हुन्। काठमाडौं अनमानगरमा हुर्केकी कार्कीको परिवारले पनि सुरुमा सहमति दिएको थिएन।

प्रियालक्ष्मी कार्की


‘यसको रहर मात्र हो, दुई-चार दिन चुरिफुरी गर्छे अनि सक्दिन भनेर बस्छे’ भन्थे उनको परिवारले। तर, प्रियालक्ष्मीको निरन्तर मेहनत र परिश्रम देखेर परिवारका सदस्य पनि छक्क परेका छन्। अनामनगरबाट उत्तरतिर देखिने हिमालको सौन्दर्यबाट सधैं मोहित हुने प्रियालक्ष्मीलाई सगरमाथा आरोहणको प्रस्ताव आउनु सबैभन्दा ठूलो अवसर थियो। ‘मर्नुभन्दा अगाडि जसरी पनि सगरमाथा पुग्छु भन्ने सोचिरहेको समयमा यस्तो अवसर आयो, कसरी नाइँ भन्न सक्छु र,’ उनी ढुक्क छिन्, ‘अब मेरो सपना पूरा गरेरै छाड्छु।’ यसअघि उनी सन् २०१० मा पनि सगरमाथा जाने योजनामा थिइन्। यसका लागि उनले केही प्रयास पनि गरिन्। तर उमेर सानो भएका कारण त्यति बेला जाने योजना असफल भएको थियो। ‘अब भने म शारीरिक तथा मानसिक रुपले पनि सगरमाथा चढ्न तयार छु। र सगरमाथामा जाने दिनगन्ती गर्दै तयारीमा जुटिरहेको छु,’ प्रियालक्ष्मीले भनिन्।

०००

कुनै योजना तथा कार्यतालिकाबिना नै यात्रा गर्न र जोखिमयुक्त काम गर्न रुचाउने देउराली चाम्लिङ आरोहण दलकी अर्की सदस्य हुन्। स्वतन्त्र पत्रकार चाम्लिङ निडर छिन् र एक्लै यात्रा गर्दै देशका कुनाकाप्चा पुग्छिन्। कहिले प्याराग्लाइडिङमा उडिरहेकी हुन्छिन् त कहिले बन्जी जम्पमा। स्वतन्त्र जीवन जिउन रुचाउने उनलाई सगरमाथा आरोहणका लागि घरमा अरुको झैँ मनाइरहनै परेन। गाउँमा महिला भएर हलो जोत्ने विद्रोही आमाकी छोरी चाम्लिङको परिवारले सहजै उनको निर्णयलाई स्वागत गर्‍यो। आमाले त झन् गर्वका साथ मेरी छोरी सगरमाथा चढ्दैछिन् भन्दै गाउँमा आफैँ खबर सुनाउन थालिन्।

देउराली चाम्लिङ

आफूलाई मनमा लागेको कुरा गरेरै छाड्छिन् चाम्लिङ। उनलाई ५/६ वर्षअघि नै ‘सगरमाथा चढ्न पाए त’ भन्ने लागेको थियो। यो पटक उनलाई सगरमाथा चढ्ने संयोग भने कवि विप्लव प्रतीकले जुराइदिएका हुन्। ‘विप्लव दाइलाई एक पटक सगरमाथा चढ्ने विषयमा भनेको थिएँ,’ उनले भनिन्, ‘रोशाहरुको योजनाका बारेमा दाइलाई थाहा रहेछ, उहाँले रोशाको नम्बर दिनुभयो र म फोन गर्दै उहाँसँग जोडिन पुगेँ।’

०००

‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ को परिकल्पना गर्ने रोशाको आफ्नै परिवारले भने सुरुमै सहमति दिएको थियो। ‘यो टिममा परिवारबाट सबैभन्दा पहिले सहमति पाउने म नै हुँ,’ उनले भनिन्। ‘सुरुमा आफैं कन्भिन्स भएँ अनि परिवारलाई मनाउँदै अरु साथीको खोजी गरेँ,’ रोशाले टिम व्यवस्थापनका बारेमा जानकारी दिइन्, ‘साँच्चै टिम बनाउन निकै गाह्रो भयो। सुरुमा हामी १३ जना थियौँ, पछि ७ जना हुँदै अन्तमा ५ जना मात्र छौं।’ उनले राष्ट्रपति भण्डारीले ५ जनाको यो समूहलाई ‘सगरमाथा शिखर चुम्न खोज्ने पञ्चकन्या’ भनेर संज्ञा दिएपछि झन् हौसला मिलेको बताइन्।

०००

‘समानताका लागि बुलन्द आवाज’ नारासहित उनीहरु सगरमाथाको आरोहणमा जाँदै छन्। मौसमको अनुकूलता अनुसार उनीहरु मार्चको अन्तिमतिर काठमाडौंबाट प्रस्थान गर्नेछन्। उनीहरुलाई आरोहणका बारेमा तालिम तथा आवश्यक अभ्यास गराउन १२ पटक सगरमाथा आरोहण गरिसकेका फुर्वा तेञ्जिङ शेर्पाले सहयोग गरिरहेका छन्। अभ्यासकै क्रममा उनीहरुले दोलखाको ५ हजार ९ सय ९१ मिटरको रामदुङ र ५ हजार ६ सय ३० मिटर उचाइको यालुङरी हिमालको सफल आरोहण गरिसकेका छन्।

सगरमाथा जान आफ्नो शरीरलाई मजबुत बनाउन उनीहरु हरेक दिन बिहान प्रदर्शनीमार्गस्थित नेपाल प्रहरीको क्लबमा जिम गर्न पुग्छन्। पाँचै जनाले आ–आफ्नो झोलामा २० देखि २५ किलोग्रामका सामान राखेर दिनभरि बोकेर यात्रा गरिरहेका हुन्छन्।

सगरमाथा चढ्न ठूलै रकम चाहिने भएका कारण उनीहरु विभिन्न संघसंस्थामा समेत सहयोगको माग गर्दै पुगिरहेका हुन्छन्। यसबीच उनीहरुलाई सहयोग गर्ने थुप्रै संस्थाहरु आइसकेका छन्। रोशा भन्छिन्, ‘सहयोगी हातहरु बढिरहेका छन्। सँगसँगै हामीलाई हौसला बढाउनेहरु पनि।’ आरोहणको दिन नजिकिँदै जाँदा पाँचै जनाले नेपाल लाइभसँग भने, ‘एस वी क्यान, एन्ड वी आर रेडी टु गो माउन्ट एभरेस्ट। वी आर वेटिङ फर द डे।’

-नेपाल लाइभबाट