You are here
Home > साहित्य > डेराजस्तो घर

डेराजस्तो घर

२२ माघ २०७४, सोमबार १४:१८

रिमा केसी
पाईला-पाईला साथी भेटिन्छन्
अहो !
हैन जम्काभेट हुन्छ प्रश्नसित
उपियाँ झैं मलाई प्रश्नहरू चिल्दछन्
-रिमा, राजधानीमा तिम्रो घर नै हो ?

नौ-नौ महिना
गर्भाशयको बास
सुतें आमासित, उठें आमासितै
ढिकी-जाँतो, चुलो-चौको
घाँस-दाउरा, पानी-पँधेरो गरें उनीसितै
जस्तो कि-
मेरो यो अनिवार्य बिषय थियो ।
म बसाईं सरें
सोह्र-सोह्र वशन्त बाको घर लिपें
लगाएँ झाडु/पोछा
हुर्किएपछि बाख्राका पाठासित
दाइले भन्यो बहिनी ठूली भई
पराई झैं भए आमा-बा पनि
आफन्तको नाम फेरियो
अर्थात
फेरी मेरो बास फेरियो
बास मात्र फेरिएन
थर फेरियो, गोत्र फेरियो
र, आजभोलि म रानी भएकी छु ।

थाहा छैन कहिले सकिन्छ यहाँको बास ?
सायद मैले यो घर पनि छोड्नु पर्छ
यो घरले पनि भन्न सक्छ-
‘रिमा, तिम्रो मिति पुग्यो ।’
म झिटिगुन्टा निकालेर डेरा सर्नुपर्छ ।

ए आमा ! भनिदेऊ मलाई
हाम्रो लागि पृथ्वीमा कहीं घर छैन ?
म साथीहरूलाई
मेरो घर भनेर कस्को घर देखाउँ ?
म सधैंको डेरावाल
महिना लाग्नु अगावै किराया बुझाउँछु
महिना मर्नु अगावै घरबाट निकालिन्छु ।