You are here
Home > Front News > दरबारको किताब निकाल्दा

दरबारको किताब निकाल्दा

२५ माघ २०७४, बिहीबार २१:५०

चार वटा राजा देखेँ, चारथरिका–२

चीनबाट फर्केपछि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा नियुक्ति मिलेको थियो।

मेरो घरछेउकै कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरबहादुर विष्ट थिए। २०२३ सालतिरको कुरा हो। विष्टजीले लेखेको एउटा पुस्तकले बौद्धिक क्षेत्रमा तहल्का पिट्यो। त्यो ‘पिपल अफ नेपाल’ पुस्तकको चर्चा अन्तर्राष्ट्रिय क्षेत्रमा हुन थाल्यो।विष्टजी मेरो घरका नियमितजस्तो अतिथि थिए। भेटघाट क्रममा सामाजिक र सांस्कृतिक विषयवस्तुबारे हामीबीच घन्टौं कुरा हुन्थे। विष्टजीको त्यो पुस्तकबाट म पनि प्रभावित थिएँ।

पुस्तकको प्रभाव त्यतिबेला जापान बसेर ‘टोक्यो विश्वविद्यालय’मा पढिरहेका तत्कालीन युवराजाधिराज वीरेन्द्रलाई पनि परेछ। वीरेन्द्र आफैं समाजशास्त्रकै विद्यार्थी थिए।

त्यतिबेला युवराजाधिराजको पठनपाठन निम्ति नारायणप्रसाद श्रेष्ठलाई साथ लगाएर उतै पठाइएको थियो। वीरेन्द्र राजा भएपछि उनै नारायणप्रसाद लामो समय दरबारका सचिव रहे।

बिष्टजीको किताबमा नेपालका अनेक जातजाति र भाषाभाषीबारे मानवशास्त्रीय हिसाबले विश्लेषण गरिएको थियो। त्यसको चर्चा उता जापानमा पनि तत्कालीन युवराजाधिराज र नारायणप्रसादबीच चलेछ।

‘यी विविध भाषा समेटेर एउटा गहकिलो पुस्तक निकाल्न सकिन्छ कि सकिँदैन?’ भनेर उतैबाट सोधी पठाइएछ। युवराजाधिराजले पिता महेन्द्रलाई पठाएको त्यो जिज्ञासा दरबारबाट एकेडेमी आइपुग्यो।

सबै जातजातिका मातृभाषा समेटेर मियोका रूपमा नेपाली भाषा राख्दै एउटा बृहत पर्यायवाची शब्दकोश तयार पार्न सकिन्छ भन्नेमा हामी सहमत भयौं।

म सह–प्राज्ञ थिएँ। हाम्रो फाँटमा प्राज्ञ सूर्यविक्रम ज्ञवाली थिए। कुलपति केदारमान ब्यथितजीले ज्ञवालीलाई नै त्यो प्रोजेक्ट जिम्मा लगाए। ज्ञवालीजीले त्यो काम गर्छु भनेर सकार्न त सकारे, तर अगाडि बढाउन सकेनन्।

ज्ञवालीजीले त्यसअघि पनि शब्दकोशमा काम नगरेका होइनन्।किन हो, यो काम बीचैमा छाडे। फेरि एकेडेमीमा उनको अवधि सकिँदै थियो।त्यसपछि मलाई बोलाएर ‘जोशीजी अब तपाईं गर्नुस्’ भनियो। मैले नाइँ भन्ने कुरै आएन।

त्यो प्रोजेक्ट मेरो जिम्मामा आयो।

सुरुमा हामीले कामलाई एउटा निश्चित आकार दियौं। चौध वटा भाषा छनौटमा परे।नेपाली र नेपालीलाई एकअर्कासँग अर्थ्याउने गरी अन्य तेह्र वटा भाषा छानिए। पहिलो भागमा १४ भाषाको कोश निस्केपछि अन्य भाषा थप्दै लैजाने कुरा थियो।

यसबीच मेरो मातहत काम गर्ने मान्छे आउँदै र छाड्दै गरे।

त्यहीताका विश्वविद्यालयमा भाषा पढाउने खड्गमान मल्ललाई एकेडेमीमा ल्याइएको थियो। अन्तिममा मल्लसँगको सहकार्यमै मैले कोश तयार पारेँ। म संयोजक र उनी सम्पादकका रूपमा।

यसरी प्रत्यक्ष त होइन, तर जापान बसेर दिएको योजना सम्पन्न गरेका हिसाबले म पहिलो पटक तत्कालीन युवराज वीरेन्द्रसँग नजिकिएको थिएँ।

वीरेन्द्रसँग म सबभन्दा नजिक उनको राज्याभिषेकमा पुगें।

राज्याभिषेक २०३२ सालमा थियो। त्यस निम्ति ‘श्री ५ वीरेन्द्र राज्याभिषेक मूल समारोह समिति’ बनाइएको थियो। माहिला भाइ अर्थात् तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र समितिका अध्यक्ष थिए। त्योबेला वेदानन्द झा राजसभाका सभापति थिए। त्यो समारोह समितिमा पूर्वप्रधानमन्त्री नागेन्द्रप्रसाद रिजाल पनि थिए।

त्योताकै अचानक मलाई समारोह समितिबाट बोलावट आयो। राजाकै भाइले अध्यक्षता गरेकाले नारायणहिटी राजदरबारभित्रै कार्यालय थियो।त्योबेला सञ्चार मन्त्रालयका सचिव तीर्थराज तुलाधर थिए। तुलाधरजीले बोलाएपछि हामी सँगै समारोह समितिमा गएका थियौं।

म पुगेपछि अधिराजकुमार ज्ञानेन्द्रलगायतको उपस्थितिमा कुरा सुरु भयो। नेपालका राजाको राज्याभिषेक भनेपछि त्यसको महत्व उजागर गर्दै अन्तर्राष्ट्रिय हिसाबले समेत जान सक्ने गरी एउटा ग्रन्थ तयार पार्ने जिम्मेवारी मलाई दिन बोलाइएको रहेछ। ग्रन्थमा विश्वका अन्य मुलुकका अनुभव पनि उल्लेख गरिनु पर्ने कुरा आयो।

‘त्यस्तो किताब अब तपाईंले लेखिदिनुस्,’ मलाई भनियो।

यो कुरो पहिल्यै एकेडेमी पुगेको रहेछ। कुलपति स्वयंले मलाई जिम्मा दिने भनेपछि त्यहाँ बोलाइएको रहेछ। त्यतिबेला म एकेडेमीको सदस्य–सचिव थिएँ।

राज्याभिषेकको किताब भनेपछि शास्त्रीय पद्धति पनि अपनाउनुपर्थ्यो। अलिक गाह्रै हुन्छ भनेर मैले सुनाएँ।

‘म साधारण तरिकाले संस्कृतिमा आएको मान्छे, यो बेग्लै किसिमको ग्रन्थमा कसरी काम गर्न सकुँला?’ मैले संकोच मान्दै भनेँ।

म अर्को एउटा समस्यामा पनि थिएँ। आफू परें नेवारको छोरा। राजपरिवारका सदस्यसँग बोल्दा प्रयोग गरिनुपर्ने भाषा म जान्दिन थिएँ। अरूले त्यहाँ ‘बक्सियोस्’ लगाएर बोलिरहेका बेला मेरो नेवार जिब्रोले कता कता के के बोल्न पुगेछु। म त चुकेछु। त्यतिबेलै मेरो छेउ बसेका सचिव तीर्थबहादुरले चिम्टी काटिहाले। म झसंग भएँ।

जे होस् मेरो प्रस्तुति राम्रो भएन भन्ने संकेत वरपर बसेकाहरूले दिइहाले। यसले मेरो संकोच अझ बढेको थियो।

त्यतिबेलै बेदानन्द जीले ‘सरकारबाट हुकुम भएको कुरा तपाईंले नै गर्नुपर्छ’ भने।

उतिखेरै अधिराजकुमार ज्ञानेन्द्रले पनि ‘तपाईं नै लेख्नुस्’ भनेपछि म चुप भएँ।

यसरी त्यो जिम्मेवारी ममाथि आइपुग्यो।

राजाको राज्याभिषेकबारे ग्रन्थ लेख्ने भएपछि अध्ययन गर्नुपर्थ्यो। अन्यत्रका अभ्यास कहाँ-कहाँ के-के छन् भनेर मैले विभिन्न मुलुकका त्यस्ता ग्रन्थ मगाएर हेरेँ। बेलायतकी महारानीको राज्याभिषेक कसरी हुन्छ र उनीहरूको परम्परा के छ भनेर अध्ययन सामग्री मगाएँ। जापानका सम्राटबारे पनि सोधिखोजी गरेँ। यी सबै कुराको तुलनात्मक अध्ययन जरूरी पर्थ्यो।

ग्रन्थमै राजा वीरेन्द्रको जीवनी र शाहवंशको परम्परा समेटेको थिएँ।

त्यसो त ज्ञानेन्द्रलाई मैले पहिले पनि छेउबाट देखेको थिएँ। राज्याभिषेकको ग्रन्थमा काम गर्दा भने नजिकैबाट भेटघाटको मौका पाएँ। एउटै बेन्च एउटै लहरमा बसियो। किताबको काम चलुन्जेल ‘के छ? कति सकियो?’ भनेर सोधिरहन्थे।

पुस्तक सकिएपछि समारोह समितिलाई नै पाण्डुलिपि बुझाएँ।

कतै काँटछाँट नगरी मैले जस्तो लेखेको छु उस्तै प्रेसमा पठाइयो।

यसरी किताब त तयार भयो। तर, कभरमै गडबडी भइदिएछ। ‘राजमुकुट र राज्याभिषेक’ हुनुपर्नेमा उल्टो भएछ। हतारकैबीच फेरि त्यो तयार भइसकेको कभर काटेर सच्याइयो। त्यो ग्रन्थ सूचना विभागबाट प्रकाशित भएको थियो।

तस्बिर : सेतोपाटी

पुस्तक तयार पारेपछि विभिन्न कार्यक्रम भए। राज्याभिषेक मूल समारोह समितिकै निर्देशनमा त्यस्ता कार्यक्रम भएका थिए।

राजा वीरेन्द्रसँग मेरो अर्को निकटता ‘नेपाल एसोसिएसन अफ फाइन आर्टस्’ (नाफा) का कारण पनि भएको थियो।

वीरेन्द्र इटनबाट पढेर फर्कंदा कलाकारिता पनि सिकेर आएका थिए। उनले बनाएको एउटा कलाकृति ‘मोती’ त प्रसिद्धै थियो। त्यसैगरी कलाकारितासम्बन्धी ‘रमझम’ नामको पत्रिकै निकालेका थिए।

यसरी कला चेत लिएर आएका युवराजाधिराजले नाफाजस्तो संस्था उभ्याए।उनी स्वयं त्यसका अध्यक्ष थिए। त्यसपछि बालाई भनेर सीतामहलको आधा हिस्सा नाफाको भागमा पारे। बचेको आधा हिस्सा बालमन्दिरले पायो। २२ रोपनीक्षेत्रफलमा फैलिएको त्यो महत्वपूर्ण सम्पत्ति थियो।

ललितकलामा काम गर्ने गरी नाफा खडा गरेपछि त्यसलाई प्रज्ञाप्रतिष्ठानकै मातहत राखियो। म प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव भएका बेला एकेडेमीले वार्षिक दस लाख रूपैयाँ बजेट पाउँथ्यो भने नाफाले तीन लाख। त्यसैक्रममा राज्याभिषेककै बेला पारेर एकदिन दरबारका सचिव नारायणप्रसाद श्रेष्ठले मसँग केही सुझाव छ कि भनेर सोधेका थिए।

त्योबेला मैले नेपालमा राज्यस्तरबाट एउटा पनि ‘आर्ट ग्यालरी’ नभएको कुरा उठाएँ।

‘युरोपका ठूला मुलुकको महत्व त्यस्ता आर्ट ग्यालरीले अझ बढाएको छ,’ मैले भनेको थिएँ, ‘राजा आफैं कलाकार भएको अवस्थामा राज्याभिषेकको चिनोस्वरूप एक स्तरीय आर्ट ग्यालरी खोलियो भने त्यसको आफ्नै महत्व हुनेछ।’

मेरो सुझाव सुनेपछि नारायणप्रसाद श्रेष्ठ दंग परेका थिए।

त्यो बेला तत्कालीन युवराज वीरेन्द्रले खोलेको नाफा कार्यालयका हिसाबले मात्र चलिरहेको थियो। त्यही सीतामहलमा ग्यालरी तयार पार्न सकिने सुझाव मैले दिएको थिएँ।

पक्कै पनि मेरो त्यो सुझाव नारायणप्रसादजीले दरबारमा बिन्ती चढाए। नभन्दै राज्याभिषेककै बेला नाफाभित्रै ‘वीरेन्द्र आर्ट ग्यालरी’ खुलेको थियो।

प्यारिसको लुभ्रजस्तै त्यो ग्यालरी र वरपर बहुमूल्य कलाकृति संग्रह गर्न सकिन्थ्यो। ग्यालरीका चित्रबाहेक नेपालभरबाट कुनै पनि महत्वपूर्ण कलाकृति मैले औंल्याउनेबित्तिकै काठमाडौं ल्याइदिने आश्वासन नारायणप्रसादजीले दिएका थिए। त्यस ग्यालरीलाई समयक्रममा सम्पन्न बनाउन सकिने भए पनि तत्काललाई ‘वीरेन्द्र आर्ट ग्यालरी’ खुल्नु नै महत्वपूर्ण कदम भएको जवाफ मैले दिएको थिएँ।

यसरी मैले दिएको सुझाव र नामसमेतबाट‘वीरेन्द्र आर्ट ग्यालरी’खुलेको थियो।

यी पनि पढ्नुस्:

अहिले त्यही नाफालाई नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका रूपमा परिणत गरिएको छ। त्यहाँ के कसो भइरहेको छ, म अपडेट छैन।

वीरेन्द्र राजा भएकै बेला उनै नारायणप्रसादले मलाई एकदिन फोन गरेर गोरखा दक्षिणबाहु दोस्रा पदक पाएको जानकारी दिएका थिए। त्यो अलिक पछि नै हो। त्यतिबेला प्रज्ञाप्रतिष्ठान स्थापनाको २५ वर्ष पुगेको थियो। त्यही उपलक्ष्यमा एकेडेमीले २५ वटा पुस्तक प्रकाशन गरेको थियो। त्यसमध्ये ‘नेपाली चाडबाड’ पुस्तक मैले तयार पारेको थिएँ।

नारायणप्रसादजीले मलाई त्यसै पुस्तक निम्ति गोरखा दक्षिणबाहु दोस्रा दिइएको संकेत दिएका थिए। त्यसअघि नै मैले राजा वीरेन्द्रबाटै गोरखा दक्षिणबाहु तेस्रा पाइसकेको थिएँ।मैले राजाबाटै त्रिशक्तिपट्ट पनि पाएको थिएँ।

यतिबेला यो सबै कुरा गरिरहँदा मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको छ।

समयअनुसार चल्न नसक्दा हाम्रो मुलुकबाट राजतन्त्र समाप्त भयो। अहिले त मानिस राजा र राजतन्त्रबारे कुराकानी गर्न पनि संकोच मान्छन्।हामीकहाँ राजतन्त्रको महत्वबारे गम्दा मलाई फेरि पनि उही राज्याभिषेकका निम्ति ग्रन्थ तयार पार्दाको क्षण सम्झना हुन्छ।

विश्वमा एकमात्र हिन्दु राजतन्त्र हामीकहाँ थियो। वैदिक परम्पराअनुसार अघि बढेको त्यत्रो महत्वपूर्ण संस्कृतिले यो भूमिमा मात्र निरन्तरता पाउँदै आएको थियो।

त्यो ग्रन्थको काम गर्ने बेला मैले अनेकानेक इसाई, बौद्ध र मुस्लिम राजतन्त्रका विशेषता नजिकबाट नियालेको थिएँ। त्यस्तो बेलाबेग्लै परम्परा र महत्वको वैदिक मान्यताका साथ अघि बढेको नेपाली राजतन्त्रका आफ्नै महत्व मैले बुझ्ने मौका पाएँ। त्यो आफैंमा महत्वपूर्ण शास्त्रीय पद्दति थियो।

दुर्भाग्यवश दरबार हत्याकाण्ड र राजा ज्ञानेन्द्रका कदमले त्यस्तो महत्वपूर्ण संस्था हामीले जोगाइराख्न सकेनौं। त्यत्रो जगजगीमा बसेकाले आवश्यक परेका बेला थोरै मात्र त्याग पनि देखाएनन्। त्यो वैदिक मान्यताबाट अघि बढेको एकमात्र राजमुकुट र राज्याभिषेकको संस्कृति नै गुमायौं।

त्यही मेरो एउटा पुस्तक मात्र अब साक्षी भएको छ। शाहवंश मात्र होइन, परापूर्वकालदेखि राजतन्त्रसँगै जोडिएर अघि बढेका हाम्रा संस्कृतिहरू थामिएका छन्।

(आगामी शृंखलामा दरबार हत्याकाण्ड र पूर्वराजा ज्ञानेन्द्रसम्बन्धी प्रसंग)

  • सेतोपटीबाट