You are here
Home > Front News > माझी बस्तीका लागि ‘कान्छी’ चलचित्रको साँगीतिक साँझ

माझी बस्तीका लागि ‘कान्छी’ चलचित्रको साँगीतिक साँझ

२६ माघ २०७४, शुक्रबार १९:००

काठमाडौं ।

नमुना माझी बस्तीका लागि ‘कान्छी’ चलचित्रको टिमले साँगीतिक साँझ गरेका छन् ।  सिन्धुपालचोकमा दुई वर्ष अघि भुकम्पले घर गुमाएका माझीहरुको नमुना बस्ती बनाउने कार्यमा लिएर अभिनेत्री श्वेता खड्का लागिरहेकी छिन् ।

मगलबार साँझ अन्नपूर्ण होटलमा, निर्माणको अन्तिम चरणमा पुगेको माझी बस्तीलाई थप आर्थिक सहयोग जुटाउनको लागि ‘कान्छी’ चलचित्रको म्युजिकल नाइट तथा रेड कार्पेट आयोजना गरिएको थियो । होटलमा साँगीतिक च्यारिटीसँगै सम्मानमय पनि बन्यो ।

व्यबस्थापनको हिसाबले उत्कृष्ट बनेको कार्यक्रममा अग्रज नृत्य निर्देशक बसन्तकुमार श्रेष्ठलाई ५१ हजार रुपैयाँ सहित ‘लाइफटाइम अचिभ्मेन्ट अवार्ड’बाट सम्मानित गरियो । कान्छीको चरी चट्ट…गीतको नृत्य निर्देशन पनि उनले नै गरेका हुन् ।

कार्यक्रमा हाँस्य अभिनेत्री बसुन्धरा भूषाल र रक्षा नेपालकी प्रमुख मेनुका थापालाई विशेष सम्मानबाट सम्मानित गरियो । चलचित्र सम्पादक भूपेन्द्र अधिकारी, माझी बस्ती निर्माणमा सक्रिय व्यक्ति यज्ञराज कार्कीलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो । सम्मान एवं पुरस्कार पूर्व प्रधान सेनापति रुक्माँगद कटुवाल, अग्रज अभिनेता नीर शाह सहितले प्रदान गरेका थिए ।

फागुन ४ बाट प्रदर्शन हुने चलचित्र ‘कान्छी’को चरी चट्ट…गीत युट्युवमा एक करोड भन्दा बढी हेरिएको छ । यसैको खुशीमा सो गीतका गायक एवं संगीतकार राजनराज सिवाकोटीलाई कार्यक्रममा मोटरसाईलक उपहार प्रदान गरिएको थियो। ‘कान्छी’ चलचित्रको प्रचार समेतलाई यो कार्यक्रम लक्षित गरिएको थियो ।

कान्छीका निर्देशक एवँ अभिनेता आकाश अधिकारीले अभिनेत्री मरिस्का पोखरेलसँग नृत्य देखाएका थिए । कान्छीमा श्वेतासँगै, दयाहाङ राई, कामेश्वर चौरसिया, अनु शाह, भूमिका श्रेष्ठ सहितले अभिनय देखन पाइन्छ ।