You are here
Home > साहित्य > आइमाई हुँ म

आइमाई हुँ म

२ फाल्गुन २०७४, बुधबार १५:३७

रिमा  केसी 

सृष्टिको सुन्दर मानव जन्म दिने
त्यही कुरुप आइमाई हुँ म

रगतका प्रत्येक थोपाथोपामा
ममताको जहरिलो विष घोलेर
जिउँदो रगतको डल्लोमा
आफ्नो स्वास दिने
त्यो पापिनी आइमाई हुँ म

जसरी प्रचण्ड गर्मी
अनि
पहाड रुपि असिनाका चोटहरु सहेर
कठोर तपस्या पश्चताप रङ्गिबिरङ्गी
फूलहरु फूलाउँछ धर्तिले
अनि
बन्जर खेतहरुमा
लहलह सुनका बाला झुलाउँछ
हो
त्यसरी नै म आइमाईबाट तिमी पुरुष जन्मियौ
अनि झुल्यौ जगतमा
र त
जन्मजात पुरुषको
हस्तरेखाहरुमा सल्बलाउने
‌रेखा बनायौ मलाई
जहाँबाट कोरे पनि हुने
जहाँबाट काटे पनि हुने

कुनै नक्सा
कुनै सिमाना बिना
टुक्राटुक्रा बनाइ बबजारमा बेचेे पनि हुने
सस्तो मुल्यमा
यो देश जस्तै
यो धर्ती जस्तै

छाती चिरेर निस्किएको अमृतपान गराएँ मैले
माया अनि करुणाका दुई थोपा मिसाएर
तर
तिम्ले विश्वासको जरा नै उखेलेर फ्याँकिदियौ
माया, ममता अनि करुणाका भेलहरुलाई
सुकाएर उजाड मरुभूमि बनादियौ

छोरा मैले कैले सिकाएँ तिमीलाई भन ?
आइमाई तुच्छ जात हुन भनेर?
भन

बन्धक पशु हुन
घरपालुवा
खोरमा कैद आजिवन

घाँटीमा रातो पासो
सिउँदोमा रातो चिन्ह
हातमा समाजका फलामे राता काँचे हतकडी
अनि
लोग्नेको आयु संगै जोडिएको
त्यो रातो कात्रो बेरेर उनिहरुले के अपराध गरे
आफ्नो जन्माधिकारको थरलाई पनि नागरिकता रुपि अनागरिकता परिचयपत्रमा परिवर्तन गराए

हिजो जिउँदै ह्वार ह्वार बलेको चितामा हामफालेर जलेँ
आज भित्र भित्रै जलाइँदै छन तमाम आइमाईहरु
तनको चितामा
अनि अन्तर मनको चितामा
हो त्यो आगोको ज्वालाबाट निकाल्नु छ सकुशल
ती तमाम आइमाईहरुलाई
चिस्याउनुछ पिडाका रापहरुमा जलेका मन
बनाउनुछ खारिएको फलामको शक्तिशाली हातियार
आँशु बग्ने आँखाहरुमा बगाउनु छ आगोको शक्ति
तरल मनमा जमाउनु छ
आफ्नो आत्मविश्वासको सगरमाथा
अनि
चढाउनु छ भोगाइ र परिश्रमको सगरमाथा
फर्फराउनु छ शिखरमा पुगेर
आइमाईहरुको मुक्तिको झन्डा
आइमाई आइमाई हुन
सगरमाथा हुन
जगतजननि हुन
सृष्टि हुन
भनेर