You are here
Home > बिचार/अन्तरबार्ता > सिरियाली जनतामाथि भईरहेको बर्बरतापूर्ण आक्रमणमा विश्व समुदाय किन मौन ?

सिरियाली जनतामाथि भईरहेको बर्बरतापूर्ण आक्रमणमा विश्व समुदाय किन मौन ?

१५ फाल्गुन २०७४, मंगलवार १३:१९

सम्बर लामा

अहिले विश्वको शक्ति राष्ट्रहरुको ध्यान सिरियामा भईरहेको संघर्षतर्फ मोडिएको छ र आकार्षण भईरहेको छ । सिरियाली भूमिमा विदेशी शक्ति राष्ट्रहरुको गिद्धे नजर नै यसको परिणाम हो । नेपाली उखान “साँढेको जुदाई बाच्छाको मिचाई” सिरियाली जनता र वालवालिकामाथि भईरहेको बर्बरतापूर्ण आक्रमणले स्पष्ट रुपमा देखाएको छ । सिरियामा भईरहेको शक्तिको संघर्षको मूल कारण अन्तर्राष्ट्रिय राजनिति नै हो अझ भनौ भने यो सिधै रुपमा सिरियामा वैदेशिक हस्तक्षेपको चरम उपज हो । वैदेशिक हस्तक्षेपको चंगुलमा फसेको सिरियालाई बाहिर आउन अब सोचेजस्तो सहज देखिन्दैन र यसले ठुलै मुल्य चुकाउनु पर्ने देखिन्छ ।
सिरियामा भईरहेको शक्ति संघर्षको मूल कारक तत्व शक्ति राष्ट्र अमेरिका र अर्को शक्ति राष्ट्र रुसबिचको टकराव नै हो । दुवै शक्तिहरु सिरियालाई “धर्तीको नर्क” बनाउने प्रयासमा देखिन्छ । उनीहरुको आ–आफनै स्वार्थ छन् जुन स्वार्थ प्राप्तिको लागि उनीहरु सिरियाली जनता र त्यहाँका वालवालिकाहरुमाथि निर्मम तरिकाले उत्रिएका छन् अझ भनौ भने यो जतिको दर्दनाक स्थिति वा मानवताविहिन क्रियाकलाप अरु हुनै सक्दैन यो संसारमा । रुस र अमेरिकाले राजनीतिक रुपमा जुन दृष्टिकोणवाट सिरियालाई हेरेको थियो के त्यो प्राप्तीको लागि नरसंहार नै अन्तिम विन्दु हो त ? उनीहरुको राजनितिक सफलताको लागि सिरियाली जनता वलीको बोको हुनै पर्ने ? के उनीहरु आधुनिक युगको धर्तीका राक्षस हैनन त ? के उनीहरुले भनेको कुरा अरु राष्ट्रहरुले जवरर्जस्ती स्वीकार्नै पर्ने र मान्नै पर्ने ? यदि मान्न तयार भएनन् भने हिंसा मार्फत आफु जित्नै पर्ने ? कस्तो खालको राजनीति गर्दै छ अमेरीका र रुसले ? जुन कुरामा विश्व समुदाय मुकदर्शक हुनै पर्ने ।
सिरियाको आन्तरिक मामिलामा बाहिरी शक्ति राष्ट्रहरुलाई किन यति धेरै चासो छ भने सिरियामा भएको तेल खानी नै यसको मुख्य दोष हो । कुनै नारी बलात्कृत हुनुमा उनीसंग भएको सुन्दरतालाई दोष दिनु कतिको जायज हो ? सुन्दरता प्रकृतिको देन हो यो कसैको दाईजो होईन, अनि यो कसैले टिका लगाएर दिएको उपहार पनि होईन । सिरिया यस्तै भएको छ । सिरियामा तेल खानी हुनुमा अन्तर्राष्ट्रियको किन यति ठुलो चासो ? यो प्रकृतिले दिएको उपहार हो । रुस र अमेरिकाले दिएको सस्तो गोली गठ्ठा र दालभात होईन । हरेक राष्ट्रको आ–आफनै धर्म, संस्कृति, पहिचान, मुल्य र मान्यता र सिमाना हुन्छ । अरुको मान सम्मानलाई मर्यादित बनाउन नसक्नेले अरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु गुण्डागर्दि नै हो र यसले उसैलाई नंग्याउने छ र ती मृतात्माहरुको सरापले भतभती पोल्ने छ अनि छटपटिएर पानी–पानी भन्दै धर्ती त्याग्नु पर्ने छ ।
वालवालिकाहरु आफैमा नावालक हुन । उनीहरुलाई कुनै पनि कुराको हेक्का हुदैन । भोक लाग्यो भने रोईदिन्छ । कहाँ भिर छ ? कहाँ खाल्डो छ ? कहाँ पानी छ ? युद्ध के हो ? कसले युद्ध गरिरहेको छ ? भन्ने कुराहरु उनीहरुलाई केही थाह हुदैन । उनीहरुको लागि बुवा र आमा जहाँ वस्छ त्यही स्थाई घर हो चाहे रुखमुनि वसुन र चाहे ओडारमा । आज सिरियामा भईरहेको शक्ति सम्पन्न शक्ति राष्ट्रहरुको प्रतिस्पर्धात्मक प्रदर्शन र युद्धले दिनका दिन सयौं वालवालिकाहरुले ज्यान गुमाईरहेका छन् । उनीहरुले एकचोटी आफनो छातीमा हात राखेर सोचुन कि मेरो पनि छोराछोरी यसरी नै अरुकै कारण ज्यान गुमाउनु परेमा कुन प्रकारको मानसिक असर ममा पर्छ ? र मलाई पर्ने पिडा र वेदनाको मलम कसरी लगाउने ? भनेर । मानव जीवनमा सवैभन्दा दर्दनाक र पिडादायक अवस्था भनेको आफन्तजन गुमाउदा नै हुन्छ अझ ठुलो वेदना र पिडा त आफैंले जन्माएर आफनै काखमा हुर्काई रहेको वालवालिकाहरुको निधनमा हुन्छ अझ त्यसमा पनि विदेशी शक्तिको युद्धमा परेर मर्नुको पिडा शब्दविहिन छ ।
सिरियाली सरकार टिकाउने र फाल्ने राजनितिक खेलमा अमेरीका र रुसको घमासानले निर्दोष वालवालिकाहरुको ज्यान जानु कस्तो खालको राजनिति हो यो ? शक्ति राष्ट्रहरुले जे गर्दा पनि हुने र जे गर्न पनि छुट छ भन्ने उनीहरुको राजनीति हो ? यदि त्यसो हो भने विश्वमा रहेका थुप्रै गरिवीका रेखामुनी रहेका देशहरुले के बाँच्नै नपाउने त ? त्यहाँका जनताहरुलाई जे जसो गर्दा पनि हुने हो त ? सक्छौ भने अमेरीका र रुस सिंगल सिंगल युद्ध गरेर हारजीत गरेर देखाओस । सिरियालाई ढाल बनाएर विश्व समुदायलाई तर्साउने काम शक्ति राष्ट्रहरुवाट तुरुन्त वन्द होस । विश्वमा असम्भव भन्ने चिज अव केही छैन । शान्ति प्राप्तीको लागि युद्ध नै अन्तिम शस्त्र होईन भन्ने कुरा नेपालमा भएका १० वर्षे जनयुद्धवाट पुष्टि भईसक्यो ।
विश्व समुदायले अव नेपालबाट पाठ सिक्नु जरुरी छ । नेपालका राजनिति र राजीनितिज्ञहरु विश्वका चर्चित नेताहरु भन्दा कयौं गुणा कुसल र असल रहेछ भन्ने कुरा सावित भईसकेको छ हालको सिरियाली संघर्षलाई हेर्ने हो भने । हो हामी नेपाली शान्ति प्रिय छौं, हामीसंग होडवाजी गर्ने कोही छैन वा हाम्रो नजरमा कोही ठुलो र सानो पनि छैन र कोही धनी र गरिव पनि । किन कि हामी नेपाली मायामोहको खानी हो, हामीमा मानवतामा हुनु पर्ने गुण थोरै होला तर गुणस्तरीय छ अनि वलियो पनि ।
हो युद्ध भनेको मर्ने र बाँच्ने विचको संघर्ष नै हो । तर नेपाली भुमिमा भएको संघर्ष आफनै परिवेशको थियो । यो कुनै बाहिरी राष्ट्रबाट भित्र्याएको मिसाईल र लडाकु विमानहरुको थिएन । आफनै पहिचानको लडाई थियो । नेपालका नेताहरु (गिरिजा प्रसाद कोईराला, पुष्ष्कमल दाहाल प्रचण्ड, केपी ओली, सुशिल कोईराला, वर्षमान पुन, शेर वहादुर देउवा, पुर्वराजा ज्ञानेन्द्र र अन्य थुप्रै) ले परिवर्तित समयलाई चिनेर सहि आंकलन गरेर अगाडी वढन सक्ने कुसल नेतृत्वहरु उहाँहरु नै रहेछ भनेर हामी भन्न सक्छौं । यदि यी नेतृत्ववर्गले परिवर्तित समयलाई ख्याल नगरेको भए र सहि आँकलन गर्न नसकेको भए नेपालमा पनि अन्तर्राष्ट्रिय राजनीति हावी हुने पक्का थियो र हालको राजनीति मोडेर विदेशीको कमाण्डमा चल्नु पर्ने थियो । सिरिया हुन दिएनौ धन्यवाद र भविष्यमा पनि त्यसतर्फ सोचेर काम गर्नु हुन नेतृत्व वर्गलाई मेरो अनुरोध छ ।
रुस र अमेरीकामा थुप्रिएका थोत्रा हतियारहरु परिक्षण गर्दै र प्रयोग गर्दै सिरियालाई नर्क बनाउने खेल तुरुन्त बन्द होस । तिमीहरुको कातर मन र मानवताहिन क्रियाकलाप अब संसारले धेरै सहि सक्यो र यसको सिमा नाघेको फेरी विश्व जगतले हेर्न र देख्न नपरोस । विश्व जगतले तिमीहरुलाई कुलंकारको रुपमा हेर्न नपरोस । हाल सम्म जे भयो त्यसबाट पाठ सिकेर बाँच्न र बाँच्न पाउने अधिकारको संरक्षण गर्दै सिरियामाथि भएको कायरतापुर्ण दमन र बर्बरतापूर्ण आक्रमणलाई तुरुन्तै वन्द गरि शान्तिप्रिय विश्व निर्माणमा सहयोग गरोस । सिरियाली जनताको लागि विश्वका हरेक कुनाबाट आवाज दिनु जरुरी भईसक्यो ।
हामी सवैले एउटै आवाज उठाऔं कि,
सिरियामा युद्ध बन्द गर ! ! !
सिरियालाई युद्धबाट मुक्त गर ! ! !
नरसंहार गर्न पाईदैन ! ! !
वालवालिकाको संरक्षण गर ! ! !
हे क्रुरतारुपी शक्ति राष्ट्रहरुः
“बम बारुद खोलामा फाल्नु, शान्ति नपाए नेपालमा पाल्नु”
हामी यहाँहरुलाई विना मुल्य कोटको खल्तीभरी शान्ति उपहार दिएर एयरपोर्टवाट विदाई गर्ने छौं । हाम्रो शान्तिलाई तिम्रो देशमा पनि लगेर यसो करेसा वारी हुदै खेतका गरा गरामा छर्नु हुन अनुरोध छ ।