You are here
Home > साहित्य > रक्तपिपासुहरु विरुद्ध “

रक्तपिपासुहरु विरुद्ध “

१७ फाल्गुन २०७४, बिहीबार ११:३४

रिमा केसी 
कविता
तँ कुन पत्थरले बनेको छ्स हँ ?
तँ मान्छे होस कि
कुनै नरभक्षी राक्षस?
कुन ढुङ्गाको मन छ तेरो ?
रगतमा डिजेल या पेट्रोलको भेल बग्छ तेरो?
आँखामा कुन ज्वालामुखी दन्की रहेछ ?
हात गोडा हुन कि ??
गोला बारुद जडित यन्त्र ?
भन तँ को होस?
ए भन न तँ को होस?

सृष्टिका सुन्दर मुना नपलाउँदै
आशाका चन्चल ती अबोध नयनहरुले
एक झल्को खुशीकाे आकाश हेर्न नपाउँदै
आमाको एक सर्को दुधले
कलिलो पेट भर्न नपाउँदै
ममताको काखको न्यानो स्पर्श गर्न नपाउँदै
ओठमा मिठो मुस्कान छर्न नपाउँदै
ताते ताते हिँड्न नपाउँदै
बमको वर्षा गरिस तैँले
ती कलिला नमेरा मुटुहरुमाथि
बारुदका छर्राहरुले धुजाधुजा भए
तमाम ती निर्दोष सपनाहरु अनि
कोपिला रहरहरु
जलेर ध्वस्त भए
आमाका भरिला कोखहरु
कहाँ खोजुन ती कलिला
दुधे ओठका मुस्कानहरु
कहाँ वर्षाउन अब ममताको खानी

बाँकी रहेन कतै
पानीले नभिजाएको जमिन
आज रगतका भेलहरुले हिलाम्मे बने
नदि नाला भन्दा भयावह
आँखाबाट आँसुका समुद्र बगे
सुन्दर सहर उजाड मसानघाट भयो
कलिला चित्कारहरुले गुन्जिरहे
कानहरु

प्यास र भोकले
आज त्यो जिवित बालक
मान्छेकै हातको मासु र रगत चुस्दै छ
डर र त्राशले भरिएका निर्दोष आँखाहरुले हेर्दै
थाहा छ ?
डर भन्दा ठूलो भोक हो
तँ
राक्षस
रगतको होलि खेल्दै छस
सिकाउँदै छस
ती जिवित कलिला मनहरुलाई
रगत पिउन
मासु खान
बम, गोलि र बारुदको खेल खेल्न
अनि
तैँले जस्तै मान्छेको रगतको होली खेल्न
बस तँ यति बुझिराख
उ सिक्ने छ तेरो सिकाई
उ आउने छ तेरो देशमा
बमबारिसले ढाक्ने छ आकाश
गोलि र बारुद धर्तीमा रोप्ने छ
फलाउने छ आतंक
अनि भोककाे खेती
सिक्ने छ
तेरो र तँ जस्ताको रगतले समुद्र बगाउने छ
त्यो दिन भर्ने छ
तेरो रगत र मासुले उस्ले पेट
र डकार्ने छ बदलाकाे तुष्टि !