You are here
Home > राजनीति > संघिय साँसदको शपथ आज, ४४ सांसदले मातृभाषामा शपथ लिंदै

संघिय साँसदको शपथ आज, ४४ सांसदले मातृभाषामा शपथ लिंदै

२० फाल्गुन २०७४, आईतवार ११:२७

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजेका लागि तय भएको छ ।

दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशनअन्तर्गत पहिलो अलग अलग बैठक यसअघि संविधानसभा बैठकस्थल रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने गरी सम्पूर्ण तयारी गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही फागुन ८ गते गरेको आह्वानअनुसार आइतबार दुवै सदनको बैठक बस्न लागेको हो।

राष्ट्रपति निवासमा ज्येष्ठ सदस्यको शपथ 

दुवै सदनका सदस्यको शपथ र पहिलो बैठकको तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता डा गौतमले आज १ बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादव र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ।

राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ ग्रहणको तयारी सकिएको जानकारी दिएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा ज्येष्ठ सदस्यले शपथ लिएपछि उहाँहरुले नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई शपथ गराउनेछन्।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाको अध्यक्षको निर्वाचन नभएसम्म उहाँहरूले नै बैठकको अध्यक्षता गर्ने गरी व्यवस्था मिलाइएको छ।

प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय महेन्द्रराय यादव र राष्ट्रियसभामा नेपाली काँग्रेसका ६९ वर्षीया तारादेवी भट्ट ज्येष्ठ सदस्य हुन्। राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वोच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उनीहरूको शपथ नहुने भएको छ।

अघिल्लो सरकारले मनोनयन गरेकालाई फिर्ता गरी नयाँ सरकारको सिफारिशमा नयाँ सदस्य मनोनयन भएका विषयमा सर्वोच्चमा रिट निवेदन परेको थियो।

प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य छन्। दुवै सदनको संयुक्तरूपलाई संघीय संसद् भनिन्छ। प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य रहेको प्रतिनिधिसभा संघीय संसद्को तल्लो सदन मानिन्छ। गत मंसिर १० र २१ मा प्रतिनिधि सभा र गत माघ २४ मा राष्ट्रियसभा सदस्यको निर्वाचन भएको थियो।

संवैधानिक व्यवस्थानुसार आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यको संख्या ४४ पुगेको छ।

भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी भाषामा शपथ लिन चाहेको भन्दै प्रतिनिधिसभामा निर्वाचित सांसदले सचिवालयलाई जानकारी गराए। यस्तै राष्ट्रियसभाका छ सदस्यले मातृभाषामा शपथ लिन चाहेको सूचना प्राप्त भएको छ। सचिवालयले एक सूचनामार्फत मातृभाषामा शपथ लिन चाहे त्यसको जानकारी गराउन आग्रह गरेको छ।

कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको अनुवादको प्रतिसहित तीन दिनअगावै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्ने कानूनी प्रावधान छ।-पहिलो पोस्ट