You are here
Home > समाचार > पत्रकारद्वय कार्की र घिमिरेमाथि आक्रमणको प्रयास

पत्रकारद्वय कार्की र घिमिरेमाथि आक्रमणको प्रयास

१७ चैत्र २०७४, शनिबार २०:२३

ललितपुर, चैत १७ । पत्रकार रामहरि कार्की र शिवहरि घिमिरेमाथि आक्रमणको प्रयास भएको छ । उनीहरुलाई गोदावरी नगरपालिका डुकुछापमा निर्वाचित जनप्रतिनिधिबाट पत्रकारमाथि आक्रमणको प्रयास भएको हो ।

शनिबार रिर्पोटिङका क्रममा गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापमा रहेको दनुवार बस्तीमा जादै गरेका दैनिकीन्युज डटकमका रामहरि कार्की र नागरिक दैनिकका संवाददाता शिवहरि घिमिरेलाई वडाध्यक्ष सुकबहादुर लामा लगायतको टोलीले हातपातको प्रयास गरेको थियो । तर महानगरी प्रहरी परिसर जावलाखेलले खटाएको सई कृष्णबहादुर सिटौला नेतृत्वको टोली दनुवारवस्तीदेखि भैंसेपाटीसम्म सुरक्षा दिइ आफूहरुलाई पु¥याएको घिमिरेले बताए ।

घिमिरेले भने, ‘वडाध्यक्ष लामाले डुकुछापमा नगरपालिकाकसँग समेत अनुमति नलिएर अवैध रुपमा सञ्चालन गरेको साइनिङ बालुवा वासिङ सेन्टरबाट अगाडि गएपछि लामाका तीन जना मानिसले वा. ३२ प ८२७७, वा ८० प १२०७, वा ६४ प ५७९६ को मोटरसाइकलमा पिछा गरे । फोटो खिच्न थालेपछि उनीहरुले हामी माथि आक्रमणको प्रयास गरे तर हामी बस्तीमा गयौं र बच्न सफल भयो । त्यही समयमा मैले जावलाखेलका एसएसपी गणेश ऐरलाई फोन गरे । र सिटौलाको टोलीले हामीलाई सुरक्षा दिएर भैसेंपाटीसम्म पुर्याइदिनु भयो ।’

‘प्रहरीको स्कटिङमा पनि वडाअध्यक्ष लामासहितको दिनेश लामा, संजय अधिकारी लगायतले हामीमाथि आक्रमणको प्रयास गरेका थिए’, घिमिरेले भने ।

डुकुछाप प्रवेशको लागि परिचय दिनु पर्ने
ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ८ डुकुछाप प्रवेश गर्न नवआगन्तुकहरुले परिचय दिनु पर्ने सुक बहादुर लामाको खानी सहयोगी दिनेश लामाले बताएका छन् । उनका अनुसार यस खानीमा आएर विभिन्न व्यक्तिले सामाजिक सन्जालमा फोटो राखीदिने त्यसले गर्दा नयाँ मानिसलाई प्रवेशमा कडाइ गरिएको बताए ।

बाच्नको लागि पेशा परिवर्तन
पत्रकार रामहरि कार्कीका अनुसार– “शिवहरि घिमिरे र उनलाई दिनेश लामा र संजय अधिकारीले साइनिङ बालुवा वासिङ सेन्टरदेखि दनुवार बस्तीसम्म मोटरसाइकलले पछ्याइरहेका थिए । तपाईहरु के काम गर्नु हुन्छ, कहाँ बस्नु हुन्छ भनेर सोधिएको र प्रत्युत्तरमा हामी ललितपुरको सातदोवाटोमा शिक्षक पेशामा आवद्ध रहेको र यहाँ साथीलाई भेट्न आएको भने ।

वडाअध्यक्ष लामाको अवैध वालुवाखानी

ललितपुरको गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापमा रहेको साइनिङ बालुवा वासिङ सेन्टर अवैध तरिकाले वडाअध्यक्ष आफैले सञ्चालन गरिरहेको फेला परेको छ ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने– वडा अध्यक्ष सुकबहादुर लामाको वालुवाखानी अवैद्य छ, कुनै पनि निकायबाट स्विकृत लिएका छैन र सार्वजनिक जग्गा समेत मिचेको बताए । वडाअध्यक्ष लामाले भने अब स्विकृतीको प्रकृयामा रहेको दावी गरे ।

त्यस वालुवाखानी निर्वाध रुपमा चलिरहेको र वा १ क ८७६२, वा २ ख ९७७६ र ग १ ख ६६७७ को ट्रिपर बालुवा लोडका लागि तयारी अवस्थामा थियो भने जेसिवी वा २ ख ४११४, टाटा हिटाची बा ३ ख ४४०८ को स्काभेटरले बालुवा लोड गरिरहेको थियो ।

वडा अध्यक्ष लामाका अनुसार त्यसको मुख्य लगानीकर्ता उनी र सेयर होल्डरहरुमा वर्तमान गृहमन्त्रीका भाइ नरेश थापा रहेका छन् । यसैगरी उपराष्ट्रपतिका छोरा दीपेश पुनको पनि लगानीकर्ताको रुपमा रहेको जानकारी दिए ।

लामो समयदेखि अवैध रुपमा सञ्चालित उक्त बालुवाखानी कम्पनी रजिस्टर्ड कार्यालयमा अहिलेसम्म कर समेत नतिरेको बताईएको छ । अवैद्य बालुवा खानी सञ्चालनको लागि बागमती नदीको समेत धार परिवर्तन गरेका छन् ।

स्मरण छ, जिल्लाको खानी तथा उद्योगहरुको अनुगमनको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाइएको हुन्छ तर, ललितपुरमा ६ वर्षदेखि उक्त समितिले कुनै अनुगमन नगरेको सरोकारवाला निकायहरुले आरोप लगाएका छन् ।

गोदावरी नगरपालिकाले ६ नम्बर वडाका वडाध्यक्ष विष्णुमान महर्जनको संयोजकत्वमा खानी सम्बन्धी अध्ययन सिफारिस तथा अनुगमन समिति गठन गरेको छ ।

मेयर गजेन्द्र महर्जनसहित कार्यकारी निर्देशक टेकराज पन्थी, इन्जिनियर माधवेन्द्र चौधरी, सिताराम कार्की वातावरण शाखा प्रमुख श्रीराम आचार्य उक्त बालुवाखानीको स्थलगत अनुगमनमा गएको थियो । मेयर सहितको टोलीले वडाअध्यक्षले अवैध तरिकाले खानी चलाएको, वातावरणीय मूल्याङ्कन नगरेको पुष्टि भएको ठहर गर्दै तत्काल खानी सञ्चालन नगर्न रोक लगाए पनि उनले निर्वाध रुपमा खानी सञ्चालन गरिरहेका छन् ।

राजनीतिक रुपमा आड लिएर सबैलाई मिलाएर अवैध तरिकाले खानी सञ्चालन गरेका वडाअध्यक्ष लामाले खानीकै लागि बाग्मतीको खोलाको धार परिवर्तन हुनेगरी खानी संचालन गरिरहेका छन।