You are here
Home > साहित्य > किताब जिन्दगी”

किताब जिन्दगी”

११ बैशाख २०७५, मंगलवार २०:२९

कविता
रिमा केसी 
तिमीलाई चिन्नुअघि
तिमीलाई बुझ्नुअघि
तिमीलाई पढ्नुअघि
अनि कलिला यी अबाेध अाैंलाले
खाली कापीका पानाहरुमा
सिसाकलमले जिन्दगीको चित्र काेर्नुअघि
मैले साथी बनाएछु तिमीलाई
अन्जानमै बसेछ तिमीशीत
अव्यक्त अपरिभाषित प्रेम
र राखेछु मेरो हृदयकेन्द्रमा
तिमी मेरो प्रेम थियौ कि मीठाे रहर ?

मेरो अमूल्य खुशी थियौ कि
मेरा अन्जानमै सजाएका अधूरा सपना?
कखरा पढ्न सिके देखि नै
काेसाैं टाढा मसँग सुख भागेपनि
दु:खले अँगाले पनि मलाई
छाेडिनाै तिमीले मेरो साथ
या मैले छाेडिनँ तिमीलाई ??
म जाँन्दिनँ अझै
तिमीसँगकाे खै याे कस्तो सम्बन्ध हाे?
न रगतकाे
न भावनाकाे
न चाहनाकाे
न त कुनै स्वार्थकाे
न कहिले पढें मैले तिमीलाई
न चिनें तिम्रा शब्दहरुकाे मर्म
न त जानें तिम्रा गहिरा अर्थहरु
न त तिमीले नै सुनायाै अाफुभित्रका कथाव्यथा

प्रत्येक पाइलामा
फेरिए हाेलान् लुगाजस्तै कति थान झाेलाहरु
याे जिन्दगीको भित्ताबाट
बदलिए हाेलान् समय असमयका क्लालेन्डरहरु
हराए हाेलान् कति मुरी यादहरु
तर तिमी सधैं मसँगै भयाै

कैयौंपटक महङ्गो भाेक र अभाव किन्ने पर्स बिर्सें
जिन्दगी लख्ने अाँसु भरिएको कलम बिर्सें
दु:खका पहाड बाेक्दा बर्सिने
माेती बाेक्ने रुमाल पनि बिर्सें
तर कहिले तिमीलाई बिर्सिन सकिनँ

थाहा थिएन
किन हुन्थ्याै हरपल तिमी
श्वास र स्पन्दनजस्तै
किन बाेक्थें तिमीलाई म
पैतालाले शरीर बाेकेजस्तै
जहाँ पुग्थे मेरो निर्बल पाइलाहरु
अघिपछि गर्दै दुरदराजका कन्दरामा
त्यहीँ पुग्थ्याै तिमी
मेरो झाेलाकाे अँध्यारो कुनामा
मणिझैं चम्किएर मेरो मुहारमा उज्यालो छर्दै
तिमीलाई पढिरहँदा
मलाई सधैं लागिरह्याे
म पढिरहेछु अाफैलाई
तिमीले नै सिकायाै याे दिव्यज्ञान
किताब एउटा जिन्दगी हाे
र जिन्दगी अाफैमा एक अमूल्य किताब !