You are here
Home > खेलकुद > रियल म्याड्रिड भर्सेस बार्सिलोना- तथ्याङ्कमा को अघि ?

रियल म्याड्रिड भर्सेस बार्सिलोना- तथ्याङ्कमा को अघि ?

२३ बैशाख २०७५, आईतवार २१:२९

काठमाडौँ । गत हप्ता उपाधिमाथि कब्जा जमाएपछि ला लिगा च्याम्पियन बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई क्याम्प नाउमा आतिथ्य गर्दैछ ।

यसबीचमा रियलले बार्सिलोनालाई गार्ड अफ अनर दिन्छ वा दिँदैन भन्ने विषयमा धेरै चर्चा भयो । लस ब्लाङ्कोसका प्रशिक्षक जिनेदिन जिदान र कप्तान सर्जियो रामोशले उक्त परम्पराबारे खासै चाँसो नदिराख्दा, पाहुना टोलीको मुख्य ध्यय भनेको बार्सिलोनालाई यो सिजन लिगमा हारको पहिलो स्वाद चखाउनु हुनेछ र उसलाई यो सिजन अपराजित रहँदै लिग उपाधि जित्न नदिनु नै हुनेछ ।

उता, बार्सिलोनाका मिडफिल्डर आन्दे्रस इनियेस्टाका लागि यो खेल महत्व राख्दछ । यो सिजनपछि चिनियाँ सुपर लिग जाने घोषणा गरिसकेका उनी अन्तिम क्लासिकोमा जीतका साथ बिदाई हुन चाहन्छन् ।

जे होस्, आज हुने क्लासिकोमा पूरै विश्व दुई विपरित ध्रुवमा विभाजित हुनेछन् । विश्व फुटबलमा सर्वाधिक हेरिने खेलअघि आउनुहोस् आज यहाँ चर्चा गरौँ दुई टोलीबीच हालसम्म भएका क्लासिकोका तथ्याङ्कहरुको बारेमा ।

नेपाली समयअनुसार राती १२ः४५ मा हुने बार्सिलोना र रियल म्याड्रिडबीचको खेल ला लिगामा दुई टोलीबीच १७६ औँ खेल हुनेछ । सबै प्रतियोगितामा यो २३७ औँ भिडन्त हो ।

सन् २०१७ को डिसेम्बरमा भएको यो सिजन ला लिगाको पहिलो क्लासिकोमा बार्सिलोनाले रियललाई पराजित गरेको थियो । ला लिगामा पनि कब्जा जमाइसकेको कारण आजको खेल बार्साको लागि प्रतिष्ठाको विषय मात्र बन्नेछ ।

यद्यपि, इतिहासमा दुई क्लबको हेड–टु–हेड खेललाई तुलना गर्दा बार्सिलोनाले विभिन्न विधामा अझै रियललाई पिछा गरिरहेको छ । केहीमा भने बार्सिलोनाअघि रहेको छ ।

रियल म्याड्रिड भर्सेस बार्सिलोना (हेड टु हेड)

गत डिसेम्बरमा खेलिएको क्लासिको दुई टोलीबीचको २३६ औँ खेल हो । यद्यपि, फ्रेन्डली र अन्य एक्जिबिसन खेलहरुमा दुई टोली ३४ पटक भिडिसकेका छन् ।

हालसम्मको तथ्यांक अनुसार लस ब्लाङ्कोस हेड टु हेडमा अघि रहेको छ, तर, निकै थोरैले । उनीहरु क्याटालान क्लबभन्दा मात्र ३ जीतले अघि रहेका छन् भने ला लिगामा मात्र दुई जीतले ।

अन्य खेलमा पनि दुई टोलीबीच खासै अन्तर देखिँदैन । कोपा डेल रेका ३३ खेलमा बार्सिलोनाको अग्रता रहेको छ भने च्याम्पियन्स लिगमा झिनो अन्तरले रियल अघि रहेको छ ।
सन् २००८ मा बार्सिलानाले पेप ग्वार्डिओलाई प्रशिक्षक बनाएपछि भने बार्सिलोनाको पल्ला भारी रहेको छ ।

ग्वार्डिओलालाई प्रशिक्षक बनाएपछि खेलिएका क्लासिकोमध्ये बार्साले १२ मा जित निकालेको छ भने ३ मा बराबरी गर्नका साथै चारमा मात्र हार बेहोरेको छ ।

सन् २०१०–११ मा बार्साले रियललाई च्याम्पियन्स लिगको सेमिफाइनलमा हराएको थियो । दुई क्लब सो प्रतियोगितामा सन् २००२ पछि पहिलो पटक भिडेका थिए ।

ट्रफी क्याबिनेट

ग्वार्डिओलाको नेतृत्वमा बार्सिलोनाले एक छत्र अधिपत्य जमाए पनि ट्रफी क्याबिनेटमा रियल नै अघि देखिन्छ ।

लस ब्ल्याङ्कोसले किर्तिमानी ३३ पटक लिग उपाधि जित्दा बार्सिलोना भन्दा ८ पटकले अघि रहेको छ । च्याम्पियन्स लिगमा पनि बार्सिलोनाको ५ उपाधिको तुलनामा रियल १२ उपाधि सहित अघि रहेको छ ।
कोपा डेल रेमा भने बार्सिलोनाले रियलभन्दा ११ पटक यो प्रतियोगिता बढी जितेको छ ।

सन् २००० बाट शुरु भएको क्लब विश्वकपमा दुई टोली बराबर रहेका छन् ।

पछिल्लो इतिहास हेर्ने हो भने बार्सिलोनाको तथ्याङ्क राम्रो देखिन्छ । सन् १९९०–९१ सिजन यता रियलको ८ को तुलनामा बार्सिलोनाले १५ लिन उपाधि जितेको छ । त्यसयता बार्सिलोनाले ५ पटक युरोपियन उपाधि जित्दा रियलले ६ पटक यो उपाधि जितेको छ ।

दुवै क्लबले सन् १९७० र १९८० ताका उपाधिविहीन रहेको थियो । त्यतिबेला इंग्लिस, इटालियन र जर्मन क्लबहरुको अधिपत्य रहेको थियो ।

रियलले युरोपियन कपको शुरुवाती चरणमा एकछत्र अधिपत्य जमाएको थियो । जसमा सन् १९५६ देखि १९६० सम्म लगातार यो प्रतियोगिता जित्यो भने सन् १९६६ मा फेरि सफलता दोहोरायो । त्यस्तै, ला लिगामा सन् १९५० देखि १९८० को बीचमा क्लबले १८ पटक लिग उपाधि जितेको थियो भने सो अवधिमा बार्सिलोना ५ मा मात्र सिमित रह्यो ।

व्यक्तिगत सफलता

विश्व फुटबलमा पछिल्लो समय रियल र बार्सिलोनासँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको अधिपत्य रहेको छ ।

दुई सुपरस्टारले फुटबलको सर्वोच्च उपाधिको लागि हरेक वर्ष प्रतिस्पर्धा गर्ने गरेका छन् । दुवैले ५–५ पटक वर्ष खेलाडीको उपाधि जितेका छन् ।

विश्वको उत्कृष्ट खेलाडी कुन क्लबको भन्ने प्रतियोगितमा पनि दुई टोलीबीच कडा प्रतिस्पर्धा रहेको छ ।

बार्सा अहिले मात्र एक उपाधिले अघि रहेको छ । रियलको १० हुँदा बार्सिलोनासँग ११ उपाधि रहेको छ । मेस्सी र रोनाल्डो पछि ३ जीतसहित जोन क्रोयफ पछि रहेका छन् ।  त्यस्तै मिचेल प्लाटिनीले पनि दुई पटक यो उपाधि जितेका छन् । त्यस्तै, बार्सिलोनाबाट रिभाल्डो, रोनाल्डिन्हो, हृत्सो स्टोचिकोभ र लुइस सुवारेज (सिनियर) ले जितेका छन् ।

उता, अल्फ्रेडो डि स्टेफानाको दुई र रेयमन्ड कोपाले सन् १९५० ताका बालोन डिओर जिते यता रियलले लामो समय यो उपाधि जित्न सकेन ।

‘ग्यालाक्टिकोज’ एरामा भने रियलसँग बालोन डोर विजेताहरु थिए । रियलले अर्को बालोन डिओरका लागि सन् २००० सम्म पर्खनु पर्यो । त्यो सिजन लुइस फिगोले उपाधि जिते पनि राजधानीको क्लबमा आश्चर्यजनक रुपमा अनुबन्ध हुनअघि उनले आधा वर्ष बार्सिलोनामा विताएका थिए ।