You are here
Home > समाचार > मोदीद्वारा जनकपुर क्षेत्रको विकासका लागि एक अर्ब सहयोग घोषणा !

मोदीद्वारा जनकपुर क्षेत्रको विकासका लागि एक अर्ब सहयोग घोषणा !

२८ बैशाख २०७५, शुक्रबार २०:१७

बैशाख २८, २०७५ जनकपुरधाम

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र यस क्षेत्रको विकासका लागि १ सय करोड अर्थात १ अर्ब रकम बराबरको सहयोग गर्ने घोषणा गरेका छन् । दुई दिन नेपाल भ्रमणको क्रममा शुक्रवार विहान जनकपुर आईपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक अभिनन्दन पश्चात नागरिकलाई सम्बोधन गर्दै जनकपुर यस क्षेत्रको विकासका लागि १ सय करोड सहयोग गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदी भने – “म जनकपुरमा जानकी माताको दर्शन गर्न आएको हु, तर भारतको जनताको तर्फबाट जनकपुर र जानकी माताको चरणमा यो सानो भेट अर्पण गर्न चाहन्छु । र यो भेट दिएर म आफुलाई गर्वको महशुस गर्दैछु ।” प्रदेश नं. २ को सरकार तथा जनकपुर उप–महानगरपालिकाद्वारा आयोजित अभिनन्दन समारोहमा प्रधानमन्त्री मोदीले जनकपुरधाम भ्रमणको मुख्य उदेश्य रामायण सर्किटको माध्यमबाट त्रेतायुगमा भगवान राम र सिताको लिलालाई पग–पग रुपमा जोड्ने र दुई देशको पर्यटन प्रबर्द्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले मैथिली कला र संस्कृतिमा भारत र नेपाल समृद्ध भएपनि र दुई देशीय मैथिली कला, संस्कृतिमा बढावा दिनु आवश्यक रहेको बताउँदै मैथिली भाषिको संख्यामा नेपाल जस्तै उल्लेख्य रहेको अवगत गराउँदै भारतमा समेत नेपाली भाषिको सम्मान र पहिचानको कुरामा भारत सरकारले उत्तिकै मान्यता र प्राथमिकता दिएको र भारतीय संविधाले समेत मान्यता दिएको बताए । उनले नेपाल र भारतलाई जोड्ने जनकपुरधाम–जयनगर रेलमार्ग यसै वर्ष पुरा हुने तथा भारतको रक्सौलबाट काठमाडौं सम्म रेल जोड्ने दिशामा सम्भावित अध्ययन गरेर भारत सरकार अघि बढ्न अग्रसर रहेको समेत बताए । उनले भारत सरकारले पिछिडिएका क्षेत्रहरु यूपी, विहार, उडिसा लगायतका क्षेत्रलाई अन्य क्षेत्रहरुको तुलनामा अगाडी बढाउन योजना अघि सारेको बताउँदै सिमावर्ती क्षेत्रहरुको विकास भएमा त्यसको प्रत्यक्ष प्रभाव नेपालको सिमावर्ती जिल्लाहरुमा समेत पर्ने बताए ।