You are here
Home > प्रशासन > नारायणगढ–मुग्लिन सडकको छानबिन गर्न गृहमन्त्री थापाको निर्देशन !

नारायणगढ–मुग्लिन सडकको छानबिन गर्न गृहमन्त्री थापाको निर्देशन !

८ जेष्ठ २०७५, मंगलवार १५:५४

गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिएका छन्। सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा आज बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्ला स्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा उहाँले यस्तो बताए। गृहमन्त्री थापाले सो सडकको अब समय थप गर्ने वा जरिवाना लगाएर काम गर्ने भन्ने विषयमा छानबिन पछि मात्र भन्न सकिने बताएका थिए। । गृहमन्त्री थापाले यातायात सिण्डिकेट रोकिए पछिको प्रभाव र समयमा काम नगर्ने ठेकेदारको अवस्थाका बारेमा पनि जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिएका थिए।

यसै क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जिल्लामा हावाहुरी र असिनाबाट भएको क्षति, बर्डफ्लुबाट परेको प्रभाव, विप्लव निकट नेकपाको गतिविधि, आपराधिक गतिविधि, सडक सुरक्षा लगायतका विषयमा जानकारी गराएका थिए। सो अवसरमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, गृहप्रवक्ता रामकृष्ण सुवेदी लगायतको उपस्थिति रहेको थियो । झण्डै दुईघण्टा चितवनमा बसे पछि मौसम अनुकूल बनेसँगै गृहमन्त्री थापा सहितको टोली सुर्खेत प्रस्थान गरेको छ ।

  • 2
    Shares