You are here
Home > समाचार > अब त्रि ,बि ,बि ,को ट्रान्सकिप्ट एकै दिनमा पाइने!

अब त्रि ,बि ,बि ,को ट्रान्सकिप्ट एकै दिनमा पाइने!

१३ जेष्ठ २०७५, आईतवार २१:१२

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई एकै दिनमा लब्धाङ्कपत्र (ट्रान्सक्रिप्ट) उपलब्ध गराउनका लागि आजदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ शुरु गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा आज आयोजित कार्यक्रममा त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले स्नातक तह शिक्षाशास्त्रका मनोजकुमार सिंहलाई उक्त प्रविधिबाट बनेको प्रमाणपत्र दिदै सो प्रणालीको उद्घाटन गरेका छन् ।

‘‘ हामी त्रिविलाई कागजविहीन बनाउन प्रयासमा छौं । यसैको शुरुआत आजदेखि एकै दिनमा ट्रान्सक्रिप्ट दिन थालेका हौँ, अब एकै दिनमा ट्रान्सक्रिप्ट दिने सेवालाई विस्तारै क्षेत्रीय कार्यालय र क्याम्पसमा विस्तार गर्नेछौँ । सन् २०२० सम्म अनलाइन प्रणालीलाई व्यवस्थित बनाई परीक्षा व्यवस्थामा समेत सुधार गर्नेछौं” उपकुलपति खनियाँले भने ।

परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यसअघि विद्यार्थीलाई ट्रान्सक्रिप्ट पाउन १ हप्ता लाग्ने भएकोमा अब भने फाराम भरेकै दिन पाइनेछ । नियन्त्रक जोशीले विभिन्न सङ्काय र तहका नौ ठाउँलाई एकीकृत गरी एकै ठाउँबाट उक्त प्रविधि प्रयोग गरी ट्रान्सक्रिप्ट दिइने जानकारी दिए ।

त्रिविले अहिले शुरुमा स्नातक तहको शिक्षा शास्त्रसंकायको मात्र ट्रान्सक्रिप्ट दिने गरे तापनि एक हप्ताभित्र सबै सङ्कायको दिने तयारी गरेको छ । नियन्त्रक जोशीका अनुसार हालै भित्र्याएको प्रविधिले एक मिनेटमा ४५ ट्रान्सक्रिप्ट छाप्न सक्ने छ । सोही प्रणालीमार्फत अब त्रिविले रजिष्ट्रेशन, परीक्षा फाराम, नतिजा प्रकाशन, लब्धाङ्क र प्रोभिजनल सर्टिफिकेट समेत वितरण गर्नेछ । पहिले एक मिनेटमा एउटा मात्र ट्रान्सक्रिप्ट छाप्ने प्रबिधि प्रयोग गरिन्थ्यो । हाल परीक्षा नियन्त्रण कार्यालयले केन्द्रीय कार्यालयबाट यो प्रबिधिको प्रयोग सुरु गरेको भएता पनि अब विस्तारै पोखरा, नेपालगञ्ज, विराटनगर र अत्तरियाबाट समेत एकै दिनमा ट्रान्सक्रिप पाउन सकिनेछ ।

  • 16
    Shares