You are here
Home > राजनीति > मसालद्वारा विप्लव नेकपासँगको सहकार्य तोडिएको घोषणा !

मसालद्वारा विप्लव नेकपासँगको सहकार्य तोडिएको घोषणा !

२१ जेष्ठ २०७५, सोमबार १७:४६

नेकपा मसालले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगको सहकार्य तोडिएको घोषणा गरेको छ । नेकपाले प्युठानमा आफ्नो पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्षहरुलाई कारवाहीको धम्की दिएको भन्दै सहकार्य तोडिएको घोषणा गरेको हो ।

मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विग्याप्तिको पूर्ण पाठः

का. विप्लबको नेतृत्वको नेकपासँग सम्बन्धित जनपरिषद् नेपाल, जिल्ला समिति प्यूठानले यही २०७५ जेष्ठ ७ गते झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जि.सी.लाई पठाएको पत्र प्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । त्यो पत्रमा झिम्रुक गाउँपालिकाका तिलक जि.सी.लाई तत्काल आफ्नो पदबाट राजिनामा दिन अल्टिमेटम दिंदै त्यसो नगरेमा जनकारवाही समेत गर्ने चेतावनी दिइएको छ ।

यहाँ हामीले यो स्पष्ट गर्न चाहन्छौँ कि झिम्रुक गाउँपालिकाको चुनावमा तिलक जि.सी. ने.क.पा. (मसाल)को नजिकको राष्ट्रिय जनमोर्चाकातर्फबाट अध्यक्ष पदमा उम्मेदवार बन्नुभएको थियो र विजयी बन्नु भएको थियो । अहिले नेकपाले तिलक जि.सी.लाई दिएको धम्की र चेतावनीलाई ने.क.पा. (मसाल)ले गम्भीर रूपमा लिन्छ र त्यसको कडा शब्दमा भ्रत्सना गर्दछ ।

नेकपा समेतसित हाम्रो पार्टीले पार्टी एकताका लागि छलफल चलाउने र तात्कालिक रूपमा सहमति भएका विषयहरूमा कार्यगत एकता समेत गर्ने निर्णय गरेको थियो । तर गत जेष्ठ ४ गतेको एउटा संयुक्त कार्यक्रममा परस्परमा सहमति भएका विषयहरूमा मात्र आफ्ना विचारहरू लैजाने भन्ने सहमति भएकोमा उनीहरूले त्यो सहमति वा आचार संहितालाई उल्लङ्घन गरेकोले हामीले उनीहरू समेतसित त्यस प्रकारको कार्यगत एकता वा औपचारिक भेटघाट समेतलाई स्थगित गरेका थियौँ । तर गत जेष्ठ १५ गते उनीहरू समेतसित बसेको अनौपचारिक बैठकमा हामीले ४ गते उनीहरूले आचार संहिताको उल्लङ्घन गरेको विषयमा समेत पुनरावलोकन गरेका थियौँ । त्यो बैठकमा का. विप्लवको नेतृत्वको नेकपाले ठाउँठाउँमा हिंसात्मक गतिविधिहरू सञ्चालन गरेको हुनाले र हाम्रो पक्षका कतिपय गाउँपालिकाहरूमा समेत कारवाही गर्ने धम्की दिने गरेकाले उनीहरूसित कार्यगत एकतामा समस्या पैदा भएको कुरा पनि बताएका थियौँ । उनीहरूसित पुनः बैठक गरेर उक्त विषयहरूमा समझदारी बनाउने ठेगान भएको थियो । अहिले उनीहरूले झिम्रुक गाउँपालिकाका अध्यक्षलाई चेतावनी दिएर पठाएको पत्र नै प्राप्त भएको हुनाले हामीले नेकपासित कुनै भेटघाट नगर्ने र उनीहरूसित कुनै कार्यगत एकता पनि नगर्ने निर्णय गरेका छौँ । तर अन्य पक्षहरू नेकपा (माओवादी क्रान्तिकारी) र का. ऋषि कट्टेलको नेतृत्वको नेकपासित भेटघाट वा कार्यगत एकता समेतबारे छलफलका लागि हाम्रो ढोका खुला रहने छ ।

माथि उल्लेखित झिम्रुक गाउँपालिकाका अध्यक्षलाई पठाएको पत्रमा लेखिएको छ “तपाई पनि दलाल सत्ताको कथित प्रतिनिधि पठाइएको हुँदा तपाईको राजिनामा माग गर्दछौँ । यद्यपि राजिनामा नदिएमा तपाईलाई जनकारवाही गर्ने चेतावनी दिन चाहन्छौँ ।” प्रथमतः राष्ट्रिय जनमोर्चाबाट निर्वाचित प्रतिनिधिलाई “तपाई पनि दलाल सत्ताको कथित प्रतिनिधि पठाइएको हुँदा” भन्ने भनाइलाई हामीले पूरै गलत मान्दछौँ र तीव्र शब्दमा त्यसको विरोध गर्दछौँ । त्यसका साथै हाम्रा कुनै प्रतिनिधिका विरुद्ध अपनाइने त्यस प्रकारको चेतावनीलाई तुरुन्त फिर्ता लिनका लागि हामीले उनीहरूलाई चेतावनी दिंदै त्यस प्रकारको कुनै कारवाही गरिएमा त्यसको कडा प्रतिरोध गर्ने समेत चेतावनी दिन्छौँ ।

नेकपाले स्थानीय तहका सन्दर्भमा जुन विचार अगाडि ल्याएको छ, त्यसको सन्दर्भमा हामीले यो स्पष्ट गर्न चाहन्छौँ कि वर्तमान व्यवस्था अन्तर्गतको सङ्घीय व्यवस्थालाई हामीले विरोध गर्दछौँ । सङ्घीय व्यवस्थाको प्रधान पक्ष सङ्घीय संरचना हो । त्यसकारण त्यो खारेज हुनुपर्दछ भन्ने हाम्रो माग रहँदै आएको छ, तै पनि तात्कालिक रूपमा त्यसलाई उपयोग गर्ने पनि हाम्रो नीति रहेको छ । सङ्घीयताका ठाउँमा प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय स्वायत्तशासनमाथि आधारित एकात्मक प्रणाली कायम हुनुपर्दछ भन्ने हाम्रो माग रहँदै आएको छ । स्थानीय तह प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय तहका महत्वपूर्ण अङ्गहरू हुन् । त्यसकारण हामीले तिनीहरूलाई अरू अधिकारसम्पन्न र सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यसकारण नेकपाको स्थानीय तहका जनप्रतिनिधिहरूलाई खारेज गर्ने नीतिसित हाम्रो मौलिक विरोध रहेको कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ । त्यसका साथै उनीहरूमाथि गरिने कुनै पनि प्रकारको जोरजर्वजस्ती वा बलप्रयोगको कारवाही हामीलाई सह्य हुने छैन । हाम्रो पार्टीको सबै प्रतिक्रियावादी र विभिन्न दक्षिणपन्थी वा उग्र“वामपन्थी”हरूका दमन, हत्या, गुण्डागर्दी, आतङ्क समेतका विरुद्ध सम्झौताहीन प्रकारले सङ्घर्ष गर्दै आएको गौरवपूर्ण इतिहास छ । त्यस प्रकारको पृष्ठभूमिमा नेकपासित सम्बन्धित जनपरिषद्ले दिएको कुनै धम्कीका अगाडि हामीले कुनै आत्मसमर्पण नगर्ने र उनीहरूले त्यस प्रकारको कुनै कारवाही गर्ने प्रयत्न गरेमा त्यसको दृढतापूर्वक सामना गर्ने कुराको पनि हामीले घोषणा गर्न चाहन्छौँ ।

नेकपाको जनपरिषद्ले झिम्रुक गाउँपालिकालाई पठाएको पत्रमा उनीहरूका नेता कार्यकर्तालाई गिरफ्तार, बारेन्ट जारी गर्दै राज्य आतङ्क फैलाएको कुराको उल्लेख गरिएको छ । त्यस सन्दर्भमा हामीले दुईवटा कुराहरू स्पष्ट गर्न चाहन्छौँ । प्रथम, राज्यले कुनै पनि पार्टीका नेता वा कार्यकर्ताहरूलाई शान्तिपूर्ण कारवाहीका सिलसिलामा गिरफ्तार गर्ने वा बारेन्ट गरेमा हामीले त्यसको विरोध गर्दै आएका छौँ र नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पनि शान्तिपूर्ण कार्यक्रमहरूका सिलसिलामा गिरफ्तार गर्ने वा बारेन्ट गर्ने काम गरिएमा त्यसको विरोध गर्ने हाम्रो नीति रहँदै आएको छ । द्वितीय, राज्यले आतङ्क मच्चाएको नाममा उनीहरूले (नेकपाले) पुनः कुनै पनि प्रकारले आतङ्क मच्चाउने नीति अपनाएमा त्यसको पनि हामीले कडा शब्दमा विरोध वा भ्रत्सना गर्ने हाम्रो नीति हुनेछ र उनीहरूसित आफ्ना त्यस प्रकारका सबै गतिविधिहरूलाई बन्द गर्नका लागि मैत्रीपूर्ण अनुरोध गर्दछौँ ।

मोहनविक्रम सिंह
महामन्त्री