You are here
Home > राजनीति > आज कांग्रेसको देशभर विरोध प्रदर्शन,कास्की लगाएत केहि जिल्लामा प्रधानमन्त्रीको राजिनामा माग

आज कांग्रेसको देशभर विरोध प्रदर्शन,कास्की लगाएत केहि जिल्लामा प्रधानमन्त्रीको राजिनामा माग

१५ श्रावण २०७५, मंगलवार १५:५८

काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध  विरोध प्रदर्शन गरिरहेको छ । काठमाडौं उपत्याका सहित देशभरका ७७ वटै जिल्लामा कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।

कांग्रेसले संवैधानिक अंगमा हस्तक्षेप, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको, संसदमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्नेमा एकै दलको बनाएर संविधान मिचेको लगायतका गतिविधिप्रति रुष्ट बन्दै काँग्रेसले प्रदर्शन गर्न लागेको हो । अधिकार केन्द्रीकरण गर्नु नहुने, शक्ति पृथकिकरणको सम्मान गरिनुपर्ने, स्ंबैधानिक निकायलाई कार्यकारीको छाँयामा पार्नु नहुने, बिधिसम्मत तरिकाले अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्नु नहुने, पूर्ववर्ती देउवा सरकारले गरेको ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय उल्ट्याउन नपाईने, मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार रुपैयाँ जीविकोपार्जन भत्ता दिनुपर्ने लगायतका १० बुँदे माग राख्दै देशभर विरोध प्रदर्शन गरिरहेको छ ।

त्यस्तै भूकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णय कार्यान्वयन गर्नुपर्ने, संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा तत्कालीन सरकारले जारी गरेको अध्यादेशमा भएको व्यवस्थालाई समावेश गर्नुपर्ने, प्रदेशको नामाकरण तथा स्थायी राजधानीको बारेमा तत्काल निर्णय गर्नुपर्ने माग राखेको प्रवक्ता शर्माको भनाई छ ।

आजको विरोध प्रदर्शनमा  विशेषगरी हरेक क्षेत्रमा करको आतंक मच्चाएको तर मूल्यवृद्धिप्रति गम्भीर नभएको, नागरिक अधिकार तथा स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्न थालेको तथा बाढीपहिरो पीडितका आवश्यकता र समस्याप्रति सरकार उदासीन रहेको आरोप लगाउंदै पोखरा लगाएत केहि जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा समेत माग गरेका छन्  ।

  • 2
    Shares