You are here
Home > प्रशासन > कुनै पनि सरकारी तथा गैर सरकारी संस्थामा अब अनिबार्य स्तनपान कक्ष हुनु पर्ने

कुनै पनि सरकारी तथा गैर सरकारी संस्थामा अब अनिबार्य स्तनपान कक्ष हुनु पर्ने

२५ श्रावण २०७५, शुक्रबार १२:३९

काठमाण्डौ -दुई वर्षभन्दा कम उमेर भएका शिशु रहेका महिला कर्मचारी कार्यरत सरकारी, गैर सरकारी वा निजी संघ–संस्थाले अनिवार्य रूपमा कार्यालयमा स्तनपान कक्ष तयार गर्नुपर्ने भएको छ। त्यस्ता कार्यालयले महिला कर्मचारीका लागि शिशुलाई स्तनपान गराउने प्रबन्ध मिलाउनु पर्नेछ।

सरकारले हालै संसदमा दर्ता गरेको मौलिक हक कार्यान्वयनसम्बन्धी ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक’मा यस्तो व्यवस्था प्रस्ताव गरेको हो। अहिले केही सरकारी कार्यालयहरूमा भने स्तनपान कक्ष स्थापना गरिएको छ।

प्रस्तावित विधेयकको दफा १३(३) मा भनिएको छ –सरकारी, गैर सरकारी वा निजी संघ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।

विधेयकले प्रजनन स्वास्थ्य सम्बन्धमा लिएका सम्पूर्ण परामर्श गोप्य रहने प्रावधान प्रस्ताव गरेको छ।

त्यसै गरि प्रसुती बिदा ९८ दिन दिनु पर्ने,हाडनाता करणी भए १८ हप्ता सम्मको गर्भ पतन गर्न सकिने,करकापको गर्भपतन गरे ५ वर्षा सम्म कैदको फैसला हुने  समेत प्राबधान प्रस्ताब गरिएको छ ।

लिङ्ग पहिचान र लिङ्ग पहिचान पछिको गर्भपतन दुबै दण्डनीय हुने तथा  गर्भपतन गराउने उद्देश्यले लिङ्ग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद हुनेछ। लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई डेढ वर्षसम्म कैद हुनेछ।

  • 8
    Shares