You are here
Home > बिचार/अन्तरबार्ता > सुरुचि सम्पन्न जोसिला भद्रपुरुषलाई श्रद्धाञ्जली !

सुरुचि सम्पन्न जोसिला भद्रपुरुषलाई श्रद्धाञ्जली !

२९ श्रावण २०७५, मंगलवार २०:१६

हरि अधिकारी
यो साउन महिनामा नेपाली समाजलाई लामो जुठो परेको छ । एक हप्ताभित्र कलाकार मनुजबाबु मिश्र, सञ्चारकर्मी यज्ञनिधि दाहाल, लेखक- प्रशासक नरेन्द्रराज शर्मा , राजनीतिकर्मी भरत समशेर जबरा र कवि ( गीतकार हेम हमाल हाम्रो गरीव समाजलाई अझै दरिद्र बनाएर अज्ञात तर्फको अनन्त यात्रामा महाप्रस्थान गरेका छन् । आ- आफ्नो क्षेत्रमा विशिष्टता हासिल गरेका यी पाँचै जना सात दशकको उमेर कटाएर परम् पदमा पुगेका हुन् । नेपाली सन्दर्भमा यिनको असामयिक निधन होइन ।

लेखक(प्रशासक नरेन्द्रसँग मेरो दोहोरो चिनजान थिएन । उनको सीडीओ भन्ने पुस्तक पढेका आधारमा भन्ने हो भने असल व्यक्ति थिए भन्ने लाग्छ मलाई ।

मनुजबाबु मिश्रसँग राम्रै परिचय थियो । उनी विवादास्पद गुप्तबासमा जानू अघि म जोरपाटी हाइटको उनको हर्मिटाजमा दुई पटक गएको थिएँ । उनी राम्रो चित्रकार मात्र होइन, शक्तिशाली गद्य(लेखक पनि थिए । उनले लेखेका विश्वप्रसिद्ध चित्रकार र लेखकहरूको जीवनीमा आधारित शब्दचित्र र यात्रा संस्मरणहरू पठनीय छन् । त्यतिबेलाको पूर्वी पाकिस्तान ( अहिलेको बाङ्ग्लादेश ) को पृष्ठभूमिमा लेखिएका निबन्धहरूले मलाई गहिरो प्रभाव पारेका थिए । मनुजले धेरै जनाको मुहारचित्र (पोर्ट्रेट) बनाएका छन् आफ्नो समेत । ती पोर्ट्रेटहरूमा उनले मानिसभित्रको पशु प्रवृत्तिको झल्की देखाउने प्रयत्न गरेका छन् । रेखाहरूका माध्यमबाट गहिरो प्रभाव पैदा गर्न उस्ताद लाग्छन् मिश्र ।

कवि हेम हमाल अग्रज साहित्यकार भन्दा पनि साथी जस्तै थिए । शब्दानुशासन, व्यङ्ग्य, उक्तिचातुर्य र गहिरो समयबोध भएका उनका कविताहरू समसामयिक नेपाली कविताका विशिष्ट उपलब्धि हुन् । हमाल भलादमी थिए । राम्रा कविता लेख्नु र तिनको मार्केटिङका लागि कसरत पनि गर्नु एउटा स्वाभिमानी सर्जकलाई सुहाउँने कुरो होइन भन्ने कुरामा दृढ थिए सायद । त्यसैले उनको खासै चर्चा हुँदैनथ्यो । बरू गीतकारका रूपमा अलि बढी लोकप्रिय थिए । हमाल र मेरो मित्रताको कडी थिए हामीहरू जस्ता धेरैका प्रिय अग्रज साहित्यकार वासु शशी । शशी र हमालको प्रगाढ सम्बन्ध थियो । नेपाल परिवार नियोजन संघमा केही समय हमालले शशीको सहायक भएर काम पनि गरेका थिए ।

श्री ३ महाराज चन्द्र समशेरका पनाति, बबर समशेरका नाति, मृगेन्द्र समशेरका छोरा, नेपाली राजनीतिको क्षेत्रमा विक्रमको २००८ सालदेखि नकारात्मक सकारात्मक दुबै भूमिकामा उत्तिकै प्रखर किसिमले सक्रिय रहेर गहिरो प्रभाव छोड्न सफल भरत समशेर जबराको ९० वर्षको उमेरमा भारतको कोलकाता महानगरमा गत हप्ता निधन भयो । २०१७ साल पुस १ गते राजा महेन्द्रले अवाञ्छित महत्वाकांक्षाको हुटहुटीमा देशको इतिहासकै पहिलो निर्वाचित सरकारलाई अपदस्थ गर्ने भनक पाएपछि यहाँबाट पलायन गरेका भरतले बाँकी जीवन कोलकातामै बिताएका थिए । १७ साल पुस १ गतेको त्यस दुर्घटना हुँदा भरत समशेर विघटित संसदको प्रमुख प्रतिपक्षी दल गोर्खा परिषदका सभापति थिए ।

राणा शासन रहिरहेको भए प्रधानमन्त्रीको रोलवाला भरतले आफ्नो राजनीतिक जीवनको सुरुवात गरेका थिए २००८ सालमा खुकुरी दल नामक भिजिलान्ते समूह बनाएर सात सालको क्रान्तिको उपलब्धि उल्ट्याउने प्रयत्नका साथ । उनले राणा-कांग्रेस संयुक्त सरकारका गृहमन्त्री एवं कांग्रेस नेता वीपी कोइरालालाई भौतिक रूपले नै समाप्त पारिदिने उद्देश्यले आफ्ना बफादारहरूको एउटा टोलीलाई गृहमन्त्रीको सरकारी निवास त्रिपुरेश्वर पठाएका थिए । तर वीपीको सुझबुझ र साहसका कारण त्यो षडयन्त्र तुहियो । वीपीले प्रहार गरेको गोली लागेर आक्रमणकारीहरू मध्ये १ जना मारियो । अरू ज्यान बचाएर भागे ।

२०१५ सालमा देशमा आम चुनाव हुनेबेलासम्म भरत समशेरले गोर्खा परिषद नामक एउटा राजनीतिक दलको संगठन गरिसकेका थिए । उनको त्यस दलले आम चुनावमा ठूलो सफलता हासिल गर्‍यो । कुल १०९ सदस्य भएको संसदमा गोर्खा परिषदले १९ स्थान जित्यो र प्रमुख प्रतिपक्षी दलको हैसियत हासिल गर्‍यो । स्वयं भरत भने संसदमा पुग्न सकेनन् । उनका कार्यकर्ता लोचन समशेर प्रमुख प्रतिपक्षी दलको संसदीय नेता बने ।

राजनीतिक पण्डितहरूलाई आश्चर्यमा पार्दै गोर्खा परिषदले देशको पहिलो संसदमा रचनात्मक र सकारात्मक भूमिका निर्बाह गर्‍यो । त्यतिबेला देखियो भरतले कुनैबेला आफैंले सिध्याउँन खोजेका वीपी कोइरालालाई आफ्नो नेता मानिसकेका छन् । राजा महेन्द्रले सैनिक विद्रोह गरेर संसद भङ्ग गररिदिएपछि भरत समशेरले राजाको त्यस प्रतिगामी कदमको विरोधमा आफ्नो सम्पूर्ण पार्टीलाई नै नेपाली कांग्रेसमा विलय गराइदिए । त्यसपछिको उनको सारा जीवन नेपाली कांग्रेसको बफादार कार्यकर्ताका रूपमा बित्यो । उनी धेरैजसो प्रवासमै रहे, त्यो कुरो बेग्लै हो ।

नेपाली कांग्रेसले चलाएको पञ्चायत विरोधी प्रत्येक आन्दोलनमा भरत समशेर कुनै न कुनै रूपमा जोडिइरहे । १८ सालको सशस्त्र संघर्ष ताकाको उनको भूमिका भने त्यति प्रष्ट छैन । पछि २०२५ सालमा नेपाली कांग्रेसका कार्यवाहक सभापति सुवर्ण समशेरले राजा महेन्द्रसँग मेलमिलापको प्रस्ताव गरेर जारी गरेको वक्तव्यको भरत समशेरले उग्र विरोध गरेका थिए । त्यतिबेला त्यस सन्दर्भमा छद्म नाममा भरतले प्रकाशमा ल्याएको एउटा पर्चा गाली साहित्यको अनुपम नमूना मानिन्छ ।

कांग्रेसले प्रवासमा बसेर सञ्चालन गरेको आन्दोलनलाई भरत समशेरले हर्दम सघाइरहे । शैलजा आचार्य, प्रदीप गिरि, निरञ्जन कोइराला, दुर्गा सुवेदी आदिलाई सामेल गराएर प्रजातान्त्रिक समाजवादी युवा लीग नामक संगठन बनाउन उनले गरेको योगदान स्मरणीय छ । ३७ सालको राष्ट्रिय जनमत संग्रहमा वहुदलीय पद्धतिको पक्षमा प्रचार गर्न भरत नेपाल आए । मैले उनलाई पहिलो पटक त्यसै बखत ज्ञानेश्वर सानो गौचरको आमसभामा देखे भेटेको हुँ । प्रजातन्त्रको बहालीपछि भएको आम चुनावका समयमा पनि उनी सक्रिय रहे ।

कोलकातामा भरतको प्रचूर सम्पत्ति थियो, अझै हुनुपर्छ । उनी कोरा राजनीतिवाज अथवा विलाशी रइश मात्र भने थिएनन् । बंगाली कला( संस्कृति र सिनेमाले उनीमाथि गहिरो प्रभाव पारेको थियो । सन् ६० को दशकको अन्त्यसम्म आइपुग्दा उनले सिनेमा बनाउन निर्णय गरे । उनको रुचि उच्च कोटीको थियो । त्यसैले उनले कथा लिए विख्यात बङ्गाली लेखक सुनील गंगोपाध्यायको र निर्देशक छाने महान् सत्योजित रायलाई । भरतले बनाएको त्यो बंगाली भाषाको ुसीमाबद्धोु नामक सिनेमा १९७१ मा रिलिज भएको थियो । त्यस फिल्मले त्यस वर्षको सर्वोत्तम कथानक चलचित्रको भारतीय राष्ट्रिय पुरस्कार पाएको थियो । भरतले राष्ट्रपतिका हातबाट सो पुरस्कार ग्रहण गरेका थिए । मैले सीमाबद्धो कोलकता भवानीनगरको एउटा हलमा सोही साल हेरेको थिएँ कोलकातामा बस्ने मेरा काकाकी बङ्गाली सखीसँग । तिनी बङ्गाली फिल्महरूमा सानातिना रोलमा काम गर्छु भन्थिन् । सीमाबद्धो पछि भरतले सन् १९७९ मा आफ्नै स्कृनप्लेमा ु कृताग्नी ु नामक फिल्म बनाए ।

भरत समशेरको नेपालमा भएकी पत्नीसँग राम्रो सम्बन्ध थिएन । उनले बाङ्ग्ला छोबिर् सोन्सार मा सिर्जनात्मक सन्तुष्टि मात्र होइन मनभाविनी प्रेयशी पनि पाएका थिए । तिनको नाम मिठू हो क्या रे । गोलो अनुहारमा ठूल्ठूला आँखा भएकी ती बङ्ग रमणीसँग भरत समशेर जङ्ग बहादुर राणा अलि दबेर रहन्थे भन्छन् उनलाई भेटेर फर्केका नेपालीहरू !

ती सुरुचि सम्पन्न जोसिला भद्रपुरुषलाई श्रद्धाञ्जली !