You are here
Home > राजनीति > राजावादी राष्ट्रवादी, हिन्दुवादी शक्ति निर्माणमा राप्रपा प्रजातान्त्रिक

राजावादी राष्ट्रवादी, हिन्दुवादी शक्ति निर्माणमा राप्रपा प्रजातान्त्रिक

८ भाद्र २०७५, शुक्रबार १२:०६

काठमाडौं –“राप्रपा प्रजातान्त्रिकको बैचारिक र सैद्धान्तिक आधार राजसंस्थासहितको उदार संसदीय प्रजातन्त्र तथा समावेशी हिन्दू सापेक्षता सहितका समान विचारका अन्य पार्टी, समुह र व्यक्तिसँग एकीकरण ।”

राप्रपा प्रजातान्त्रिकका सह-महामन्त्री सुरेश आचार्यले सामाजिक संजालमा लेखेको यो विचारलाई राप्रपावृत्तमा अर्थपूर्ण रुपमा हेरीएको छ ।

कमल थापाले राप्रपामा सबै पदाधिकारीलाई पाँडे पजनी गरे लगत्तै नेता आचार्यले राप्रपा प्रजातान्त्रिकको नीति रणनीति यसरी सार्वजनिक गरेका थिए । यसमा ठूलै चलखेल र उथलपूथलको संकेत पाउन सकिन्छ ।

राप्रपा प्रजातान्त्रिक राप्रपाबाट अलग भएको राजनीतिक दल भएपनि यसका अनुभवी नेतृत्वले राजावादी राष्ट्रवादी र हिन्दुवादी शक्तिलाई मजबुत तुल्याउन पार्टीलाई फराकिलो बनाउने, समान विचारधारा भएका व्यक्ति, समूह, पार्टीलाई गोलवद्ध गर्ने नीति लिएको छ ।

राप्रपा प्रजातान्त्रिक संसदीय दल र केन्द्रीय समितिको ४० प्रतिशत सदस्य लिएर राप्रपाबाट अलग भएको पार्टी हो । उपाध्यक्ष दिपक बोहराले केन्द्रीय समितिको वैठकमा तीन समूहमा विभक्त राप्रपाहरु एकै महाधिवेशनको उपज भएको कारण कुनै सैद्धान्तिक मतभेद नभएको प्रष्ट पारेका थिए ।

राप्रपा प्रजातान्त्रिक संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रमा प्रतिवद्ध पार्टी हो भन्ने प्रष्ट गर्न बोहराले एकता महाधिवेशनको विधानसमेत बैठकमा पढेर सुनाएका थिए ।

पार्टी स्रोतका अनुसार उपाध्यक्ष बोहराले भने, “संविधान निर्माणमा सकारात्मक भूमिका निर्वाह गरेको भएपनि राप्रपा नेपालसँग एकीकरण गर्दा गणतन्त्र परित्याग गरी हामीले संवैधानिक राजसंस्था, हिन्दू राष्ट्र स्वीकार गरेकै हो । राजतन्त्रको कुरा गर्दा कसैले अफ्ठ्योरा मान्नु पर्दैन, यथार्थ यही हो ।”

सैद्धान्तिक आधारमा टेकेर पार्टी सुढृद बनाउने रणनीतिमा जोड दिँदै सहायक प्रवक्ता कमल विष्ट फेसबुकमा लेख्छन्, “केन्द्रीय समितिका ९५ प्रतिशत सदस्यहरुले सम्वर्द्धनवादी उदारवाद अर्थात राजसस्था, हिन्दुत्व, सनातन धर्म सँस्कृति परम्परा आत्मसात गर्दै अगाडि बढनु पर्ने तर्क पास गरेको थियो ।”

विष्ट भन्छन्, “अन्तरिम संविधान २०६३ ले संघियता, धर्मनिरपेक्षता र गणतन्त्रलाई अपरिवर्तनीय भनेको भएपनि २०७२ को संविधानले कुनै पनि कुरालाई अपरिवर्तनीय मानेको छैन । हाम्रो विचारलाई नेपाली जनताको समर्थन भए संविधानमा उल्लेख भएका सबै कुरा परिवर्तन हुन्छन् । त्यसैले गिरिजाले जस्तो हारेको मनस्थिति पार्टीले किमार्थ बनाउनु हुँदैन र आत्मसमर्पण गरिनु हुँदैन ।”

सहायक प्रवक्ताको भनाईमा, पार्टी विधि विधानले चल्नुपर्छ, नेता, नीति र नेतृत्वले हाँक्नुपर्छ । पार्टीभित्र बहुमतको विचारलाई मानेर अल्पमत वा फरकमतलाई पनि कदर गर्नुपर्छ । अलमल वा द्विविधा भए पार्टीको केन्द्रीय समितिको बैठक बोलाएर पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ । अझ अप्ठ्यारो भए केन्द्रीय समितिमा भोटिङको व्यवस्था पनि हुनुपर्छ ।

यसैगरी केन्द्रीय सदस्य प्रबल नरसिंह राणा टिप्पणी गर्छन्, सम्वर्दनवादी उदारवादको अन्तरबस्तु राजा सहितको प्रजातन्त्र, सर्वधर्म समभाव सहितको हिन्दू अधिराज्य नेपाल र निजि सम्पत्ति माथि स्वायत्त अधिकार हो । यसमा कुनै किसीमको संझौता स्वीकार्य छैन ।

सहायक महामन्त्री दिलीप बस्नेत थप प्रष्ट पार्छन्, “कसैलाई मन्त्री बनाउन, गणतन्त्र स्वीकार गर्न राप्रपा प्रजातान्त्रिक निर्माण भएको हैन ।” जनसंपर्क विभाग प्रमुखसमेत रहेका बस्नेतले “विदेशी हण्डी खाने, हाड नभएको चिप्ले किरासँग होशियार रहन” पार्टीपंक्तिलाई फेसबुक स्टेटसमा सचेत पनि गराएका छन् ।

  • 153
    Shares