You are here
Home > प्रशासन > निर्मला बलात्कार र हत्या प्रकरणः कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा किशोरको मृत्यु

निर्मला बलात्कार र हत्या प्रकरणः कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा किशोरको मृत्यु

८ भाद्र २०७५, शुक्रबार १९:३४

कञ्चनपुर-१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा १ किशोरको मृत्यु भएको छ भने १० जना भन्दा बढी घाइते भएका छन्। शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागी अन्दाजी १४ वर्षीय किशोरको ज्यान गएको छ। तर मृतकको पहिचान भने हुन सकेको छैन।उक्त किशोरलाई गोली लागेपछि अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि किशोरको मृत्यु भएको बताएको थियो। मृत्यु भएपछि आन्दोलनकारीले शव बोकेर जिप्रका अगाडि लैजाँदै गर्दा प्रहरीले उक्त शव नियन्त्रणमा लिएर राखेको छ।

अहिले मृतकको शव प्रहरीले राखे पनि अस्पताल र प्रहरी दुवै निकायले आधिकारिक भनाइ दिन मानेका छैनन्।कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रहरीले नै दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हवाइ फायर र गोली चलाएको थियो।

मध्यान्ह करिव १ बजेसम्म शान्त रहेको भीमदत्त नगरपालिका दिउँसो २ बजेपछि एकाएक रणभूमीमा परिणत भएको थियो।घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ४ जना सख्त छन्।

मेयरको घर, नगरपालिका र ट्राफिक तोडफोड

यसैबीच प्रदर्शनकारीले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घर पनि तोडफोड गरेका छन्। प्रदर्शनले हिंसात्मक रुप लिएपछि मेयरको घरमा आगो समेत लगाउन खोजिएको थियो । तर तत्कालै प्रहरी पुगेपछि घरमा आगो लगाउन पाएनन्।

प्रदर्शनकारीहरुले भीमदत्त नगरपालिकास्थित जिल्ला ट्राफिक कार्यालयमा तोडफोड गरेका छन् । त्यसैगरी भीमदत्त नगरपालिकाको कार्यालयमा पनि तोडफोड भएको छ ।

नगरपालिका र मेयरको घर तोडफोड भएपछि प्रहरी अवस्था नियन्त्रण बाहिर गएको निचोडसहित गोली चलाएको हो । प्रदर्शनकारीले ढुंगामुडा गरेर अवस्था नियन्त्रण बाहिर लाने प्रयास गरेपछि गोली चलाउन बाध्य भएको जिल्लास्थित एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

  • 24
    Shares