You are here
Home > समाचार > रौतहट डुंगा दुर्घटना अपडेटः२२ जना सम्पर्कमा, ६ जनाको उद्धार चल्दै

रौतहट डुंगा दुर्घटना अपडेटः२२ जना सम्पर्कमा, ६ जनाको उद्धार चल्दै

१० भाद्र २०७५, आईतवार ०८:१५

रौतहट,१० भदौ-लालबकैया नदीमा डुंगा डुब्दा हराइरहेकामध्ये २२ जना सम्पर्कमा आएका छन् । ६ जनाको खोजी भैरहेको छ ।

डुंगामा रहेका गौर नगरपालिका–४ का डुंगाका सहचालक ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पट्टेल र शान्ती देवी तथा इस्नास नगरपालिकाको औरहीका त्रिभूवन पटेलकी श्रीमती, डुम्बु पटेलको नातिनी र अर्का एक जना हराइरहेका परिवारले बताएका छन् । उनीहरुको रातभरी नै खोजी भएको थियो।

शनिबार बेलुकीपख टिकुलिया घाटमा निर्माण भइरहेको पुलको पिलरमा ठोक्किएर डुंगा पल्टिएको स्थानीयबासिन्दाको अनुमान छ। त्यो ठाउँमा गएको ३ वर्ष अघिदेखि पक्की पुल निर्माण भइरहेको छ।

डुंगा चालकले नदीको बीच भागमा केही चिजमा डुंगा ठोक्किएपछि पल्टिएको बताएको रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

घटनास्थलमा खटिएका एसपी केदार ढकालका अनुसार डुंगामा सवार यात्रुहरु भारतीय क्षेत्रतिर रहेको खेत बारीमा काम गर्न गएका र फर्कने क्रममा दुर्घटना भएको हो। नेपाल र भारतको सीमाक्षेत्रमा दुर्घटना भएकाले दुवैतर्फका सुरक्षाकर्मीको समन्वयमा खोजी तथा उद्धारको काम भैरहेको छ।

  • 4
    Shares