You are here
Home > समाज > बिमिस्टेकको शिखर सम्मेलनका लागि १८ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने,सेनाले हवाई गस्ती गर्ने

बिमिस्टेकको शिखर सम्मेलनका लागि १८ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने,सेनाले हवाई गस्ती गर्ने

१० भाद्र २०७५, आईतवार १९:०५

काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक)को शिखर सम्मेलनका क्रममा १८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन्।

यही भदौ १४ र १५ गते काठमाडौंमा हुने शिखर सम्मेलनमा सहभागी हुने बिमिस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयले मुलधार न्यूजलाई जानकारी दियो।

गृह मन्त्रालय स्रोतका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी १८ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।

बिमिस्टेकमा सहभागी हुने राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सुरक्षाका लागि नेपाली सेना पहिलो तथा तेस्रो घेरमा हुने छ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरा दोस्रोमा हुने छ ।

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले बाह्य सूचनाको संकलन तथा सम्भावित खतराको विश्लेषण गरी माथिल्लो निकायलाई सूचना दिनेछन् ।

नेपाल प्रहरीबाट ९ हजार ७ सय, सशस्त्र प्रहरीबाट २ हजार ५ सय राष्ट्रिय अनुसन्धान विभागका करीब १ हजार सुरक्षाकर्मी परिचालन स्रोतले जनाएको छ।

सेनाको हवाई गस्ती
सम्मेलनमा सहभागी हुनका लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरू १२ गतेदेखि नेपाल आउन थाल्नेछन्।

त्यस्तै भदौ १३ गते श्रीलङ्काका राष्ट्रपति मैत्रिपाल श्रीसेना र भुटानका प्रधान न्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउने छन्। भुटानमा निर्वाचन चलिरहेका कारण प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै वाङचुक आउने भएका हुन्।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान सम्मेलन उद्घाटनका दिन भदौ १४ मा काठमाडौं आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

विशिष्ट व्यक्तिहरू आउँदा,  बस्ने होटेल आउँदा जाँदा, कार्यक्रम सहभागी हुँदाको बखतमा नेपाली सेनाले स्थल सहित हवाई गस्ती समेत गर्ने छ। हवाइगस्तीको लागि सम्पूर्ण व्यवस्था मिलाइसकेको सहायक रथी भण्डारीले बताए।

४ सय ट्राफिक खटिने
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भिआइपीको सवारको समयमा हुने आवश्यक ट्राफिक व्यवस्था मिलाएको छ।

भिआइपी व्यक्तिहरू सवार हुँदा मुख्य सवारी रुढ, वैकल्पिक सवारी रुढ, फिर्ती मुख्ख सवारी रुढ, फिर्ती वैकल्पिक रुढ र अन्य स्थानमा गरेर एक भिआइपीको सवारीमा ४ सय ट्राफिक परिचान हुने छन्।

सम्मेलन हुने  भदौ १३ गते बुधवार, १४ गते बिहीबार र १५ गते शुक्रवार उपत्यकाभित्र चल्ने सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा ट्राफिक प्रहरीले जोर बिजोर प्रणाली लागु गर्ने भएको हो।

  • 12
    Shares