You are here
Home > अर्थ/बजार > प्रचण्डभक्त व्यापारि नयाँ अर्बपतिसुचीमा, कति छ सम्पत्ती ?

प्रचण्डभक्त व्यापारि नयाँ अर्बपतिसुचीमा, कति छ सम्पत्ती ?

१२ भाद्र २०७५, मंगलवार ०७:३९

काठमाडौं –मिडिया टाइकन कैलाश सिरोहियासँग केही समयअघि शितयुद्ध गरेका मकवानपुरका विवादीत व्यावसायी अजेयराज सुमार्गी नेपालका नयाँ अर्बपतिमा दरिएका छन् । १५ बर्ष अघिसम्म सामान्य कम्पनीको नाम निसानामा समेत नपरेका सुमार्गी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जोडिएपछि करोड हुँदै अर्बको कारोबार छिरे । केही समयअघिमात्र उनले विदेशबाट राष्ट्र बैंकमार्फत १० अर्ब नेपाली रुपैंया नेपाल भित्राएका थिए । उनी नेपालका चौथों धनी व्यक्ति रहेको अमेरिकी म्यागेजिन फोब्र्सले जनाएको छ ।

मुक्ति श्री कम्पनी प्रालिको सम्पत्ति विवरणका आधारमा फोब्र्सले उनलाई नेपालका १० धनीको सूचीमा ४ नम्बरमा राखेको हो । क्याप्टेन रामेश्वर थापाले कान्तिपुरबाट अलग्गिने निर्णय गरेपछि सिरोहियासँग उनलाई दिने ६४ करोड नहुँदा सुमार्गीले कान्तिपुरका नाममा रहेको तीनकुनेको जग्गा किनेका थिए । पछि सोही जग्गा बेचेकै मुल्यमा फिर्ता माग्दा नदिएपछि सुमार्गीविरुद्ध कान्तिपुरका सबै प्रकाशन र प्रशारण शक्ति प्रयोग भएपछि सुमार्गी–सिरोहीया विवाद सतहमा आएको थियो । त्यतिमात्र होइन सिरोहियाविरुद्ध सुमार्गीले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका थिए ।

मकवानपुरका अजय पराजुली अजेयराज सुमार्गीका नामले प्रख्यात भए । मिडियाले पेलेपछि उनले वानेश्वरमा रहेको मुक्तिश्री टावरमा थाहाखबर डटकम र माइतिघरमा रेडियो थाहा सञ्चार सञ्चालनमा ल्याएका छन् । कान्तिपुरले एक्लौटी रूपमा पेलेको भन्दै उनले मिडियाका क्षेत्रमा लगानी गर्ने भन्दै त्यहाँका पत्रकारलाई भेला पारी नयाँ पत्रिका सञ्चालनको तयारी समेत गरेको स्रोतहरूको दाबी छ ।
धार्मिक गुरु मुक्तिनाथ बाबा कमलनयानाचार्यसँग नजिक रहेका सुमार्गीका विभिन्न कम्पनीहरू रहेका छन् । सुमार्गीको कुल सम्पत्ति २ सय मिलियन डलर रहेको फोब्र्सको दाबी छ । सुमार्गी नेपालको हेटौंडामा जन्मिएका हुन् ।

फोब्र्सले नेपालका दश धनीको सूची सार्वजनिक गरेको थियो । सबैभन्दा धनी चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी परेका छन् । लगातार विश्वका धनाड्यको सूचीमा दुई पटक परिसकेका चौधरी नेपालको सूचीको १ नम्बरमा छन् । उनको सम्पत्ति १.६ बिलियन डलर रहेको छ । उनी विश्वका डलर अर्बपतिको सूचीमा १३४२ औं स्थानमा छन् । चौधरीको नेतृत्वमा देशभित्र र बाहिर ८० भन्दा बढी कम्पनी तथा उद्योग रहेको पत्रिकाले उल्लेख गरेको छ ।

फोब्र्सका अनुसार दोस्रो धनी नेपाली शेष घले हुन् । घलेको कुल सम्पत्ति ४ सय १० मिलियन डलर रहेको छ । उनी अष्ट्रेलियाका ९९ औं धनीको रूपमा सूचीकृत छन् । उनी गैरआवासीय नेपाली संघका तत्कालीन अध्यक्ष हुन् भने मेलबर्न इन्स्टिच्यूट अफ टेक्नोलोजीका अध्यक्ष हुन् ।
उता गैरआवासयी नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो तेस्रो स्थानमा छन् । उनको सम्पत्ति ३ सय ६० मिलियन डलर रहेको छ । रसियामा पिएचडीको अध्ययन सकेका महतोले इलोक्ट्रोनिक्स, तेल, हेभी मेसिनरी र बैंकिङ लगायतका क्षेत्रमा हात हालेका छन् ।
जनकपुरमा जन्मिएका गैरआवासीय नेपाली आदित्य झा सूचीको पाँचौँ स्थानमा छन् । उनको सम्पत्ति १ सय मिलियन डलर छ । उनी हाल क्यानेडियन व्यवसायी तथा सामाजिक अभियन्ताका रूपमा परिचित छन् ।

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा सानिमा बैंकका मालिक मानिने जीवा लामिछाने फोब्र्सको अर्बपति सूचीको छैटौं स्थानमा रहेका छन् । उनी रसियन मार्केटमा सप्लाई हुने एल्सन ब्राण्डको एलसिडी टिभी उत्पादक कम्पनी टेक्नो टस्टका निर्देशक पनि हुन् । उनी सन् १९८६ मा इञ्जिनियरिङको अध्ययन पूरा गर्न रसिया पुगेका थिए, त्यहाँ उनले सामसुङ, सोनी र एलजीको डिलरको व्यापार डा. उपेन्द्र महतोसँग सहकार्य गरेर थालेका थिए ।

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) अध्यक्ष तथा मोहन शमशेरका नाती पशुपति शमशेर राणा सातौं धनी हुन् । राणाको सम्पत्ति ८४ मिलियने छ ।

यता, हङकङमा बसेर व्यापार गर्ने नेपाली व्यवसायी चैनराई सूचीको आठौं नम्बरमा छन् । उनको कुल सम्पत्ति ७० मिलियन डलर रहेको छ । उनको रियल स्टेट र इलेक्ट्रिोनिक्स क्षेत्रमा निकै ठूलो व्यापार रहेको छ । उनी हङकङको साउथ एशियन सोसाइटीको नेतृत्वकर्ता पनि हुन् । उनी ओखलढुंंगामा जन्मिएका हुन् र आफ्ना ब्रिटिस आर्मी बुबाको साथमा हङकङ गएका थिए ।

उद्योगी राजेन्द्र खेतान नवौं धनी व्यक्तिको सूचीमा रहेका छन् । उनको कुल सम्पत्ति ६२ मिलियन डलर रहेको छ । फोब्र्सका अनुसार खेतान परिवारले १ सय वर्षभन्दा अघिदेखि नेपालमा व्यापारको शुरुवात गरेको थियो । खेतान गु्रपअन्तर्गत १३ वटा भन्दा बढी कम्पनी तथा उद्योगहरू रहेका छन् । लक्ष्मी बैंक र प्राइम लाइफ इन्स्योरेन्सका अध्यक्ष समेत रहेका खेतान सानो उमेरमै सफल बनेका एक नेपाली उद्योगपति रहेको पत्रिकाले उल्लेख गरेको छ । यता, धनीको सूचीमा पूर्वराजा ज्ञानेन्द्र शाह १० औंमा छन् । उनको सम्पत्ति ५८ मिलियनमात्र रहेको फोब्र्सले उल्लेख गरेको छ ।

  • 31
    Shares