You are here
Home > प्रवास > फेसबुकद्वारा म्यानमारका सेना प्रमुखको एकाउन्ट बन्द, फेसबुकमार्फत घृणा फैलाएको आरोप

फेसबुकद्वारा म्यानमारका सेना प्रमुखको एकाउन्ट बन्द, फेसबुकमार्फत घृणा फैलाएको आरोप

१२ भाद्र २०७५, मंगलवार १३:२०

वासिङटन- फेसबुकले म्यानमारका सेना प्रमुख मीन आङ हाइङ लगायत अन्य उच्च सैन्य अधिकारीहरूको फेसबुक एकाउन्ट बन्द गरेको छ।

संयुक्त राष्ट्र संघले उनीहरू विरुद्ध मानवताविरुद्धको अपराध र युद्ध अपराधको मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेपछि फेसबुकले सैन्य अधिकारीहरूको एकाउन्ट आफ्नो प्लाटफर्मबाट हटाएको जनाएको छ।

सोमबार संयुक्त राष्ट्र संघले प्रकाशित गरेको प्रतिवेदनमा म्यानमारका रोहिंग्या अल्पसङ्ख्यकको जातीय नरसंहारमा म्यानमारका सेना प्रमुख र उच्च सैनिक कमान्डरहरू दोषी रहेको भन्दै उनीहरू विरुद्ध मानवताविरुद्ध र युद्ध अपराधको मुद्दा चलाउनुपर्ने उल्लेख गरेको थियो।

म्यानमारका सेना प्रमुख मीन आङ हाइङ एक सक्रिय फेसबुक प्रयोगकर्ता रहेको वासिङटन पोस्टले जनाएको छ।प्रतिवेदनमा ‘म्यानमारका सेना प्रमुख मीन आङ हाइङ समेतका उच्च सैनिक नेतृत्वमाथि छानबिन गर्नुपर्ने र जातीय हिंसाको मुद्दा चलाउनुपर्ने’ उल्लेख गरिएको थियो।

यस्तै, फेसबुकले १८ एकाउन्ट, एक इन्स्ट्राग्राम एकाउन्ट र ५२ फेसबुक पेजहरू बन्द गरेको जनाएको छ। उक्त एकाउन्टहरूमा १२ लाखभन्दा बढी फलोअर्स रहेको जनाइएको छ।

यो निर्णय ‘उनीहरुलार्इ फेरि जातीय र धार्मिक हिंसा फैलाउनबाट रोक्न’ गरिएको फेसबुकले जनाएको छ। बन्द गरिएका एकाउन्टका डाटाहरू भने सुरक्षित राख्ने प्रयास भइरहेको फेसबुकले जनाएको छ।

सेनाले फेसबुकको समेत प्रयोग गरी मुस्लिम समुदायविरुद्ध घृणा फैलाएको प्रतिवेदनमा उल्लेख गरिएको थियो। फेसबुकले म्यानमारमा रोहिंग्याविरुद्ध व्याप्त रहेको ‘हेट स्पिच’ सम्बोधन गर्न नसकेको आरोप खप्दै आएको छ।

त्यसैले केही हप्ताअघि मात्र फेसबुकले म्यानमारमा जातीय हिंसा डरलाग्दो रहेको र आफूहरू गलत सूचना प्रवाह हुनबाट रोक्न र ‘हेट स्पिच’लाई रोक्न निकै सुस्त रहेको स्वीकार गरेको थियो। यस्तै फेसबुकले म्यानमारमा हेट स्पिच फैलाउने व्यक्ति र संस्थाहरूको एकाउन्ट बन्द गरेको जनाएको थियो।

यता एकाउन्ट बन्द गरिएका म्यानमारका केही अधिकारीहरूले भने राष्ट्र संघको प्रतिवेदनको आधारमा आफ्नो एकाउन्टहरू ब्लक गरिनु अनुचित रहेको प्रतिक्रिया दिएका छन्। सेनाले भने फेसबुकको कदमबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

गत वर्ष अगस्टमा म्यानमारको रखाइन राज्यमा फैलिएको हिंसाका कारण करिब सात लाख रोहिंग्याहरु बङ्गलादेशमा पलायन भएका थिए।

  • 22
    Shares