You are here
Home > समाचार > नेपालसहित सात राष्ट्रको संयुक्त सैन्य अभ्यास भारतमा,पाकिस्तान र चीन आउट

नेपालसहित सात राष्ट्रको संयुक्त सैन्य अभ्यास भारतमा,पाकिस्तान र चीन आउट

१४ भाद्र २०७५, बिहीबार ०८:२३

काठमाडौ-दक्षिण र दक्षिणपूर्वी एसियाली मुलुकहरुमा (बिमस्टेक)मा आवद्ध रहेका सदस्य राष्ट्रका सैनिकहरुले संयुक्त रुपमा भारतमा सैन्य अभ्यास गर्ने भएका छन्।

सम्मेलन यही भदौ २५ देखि ३१ गतेसम्म भारतको महाराष्ट्रस्थित पूणेमा हुने जनाइएको छ। अभ्यासमा नेपालसहित बिमिस्टेक सँग आवद्ध भारत, भूटान, बांग्लादेश, श्रीलंका, थाइल्यान्ड र म्यान्मारको सहभागिता रहनेछ।

बिमस्टेकको चौथो शिखर सम्मेलन लगत्तै हुने उक्त अभ्यास आतंकवाद नियन्त्रण र विपद् व्यवस्थापनमा केन्द्रित हुने जनाइएको छ। अभ्यासमा चीन र पाकिस्तान भने सहभागी हुने छैनन्।

भारतले बिमस्टेक र विविआईएनको नेतृत्व आफुले लिएर क्षेत्रीय शक्तिका रुपमा चिनाउन खोजेको कतिपयले आरोप लगाउने समेत गर्छन् ।

विभिन्न मुलुककको बीचमा बेलाबखत द्धिपक्षिय सैन्य अभ्यास हुने गरे पनि भारतमा बहुपक्षिय सैन्य अभ्यास हुन लागेको भने यो पहिलो रेकर्ड हुने छ। अझ दक्षिण एसियाली क्षेत्रमा कुनै पनि एउटा क्षेत्रीय संगठनको छातामा हुन लागेको यो पहिलो संयुक्त सैन्य अभ्यास हो।

सुरक्षा मामिलाकी जानकार इन्द्र अधिकारीले यस्तो अभ्यासमा सहभागीता जनाउँदा दुई देशबीचको द्धन्द्ध र आतंकबादको मूल्यमा च्यापिने सम्भावना रहने दाबी गरेकी छन्।

अभ्यासको तयारीबारे भारतीय सेनाको दक्षिण क्षेत्रीय कमाण्डको मुख्यालयमा दुई दिने सेमिनार सम्पन्न भइसकेको छ। छलफलमा भारतिय सेनाका उपरथी जनरल भीके सिंहका साथै बिम्स्टेक सदस्य मुलुकका भारतस्थित दूतावासमा कार्यरत सैन्य सहचारीहरूको सहभागीता रहेको थियो।

बैठकमा दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत सैनिक सहचारी सहायकरती ईश्वरकान्त मैनालीको समेत सहभागीता रहेको थियो। अभ्यासमा नेपाली सेनाका पांच अधिकृतसहित २५ जनाको सहभागीता रहनेछ।

यसअघि नेपाली सेनाले भारत,अमेरिका र चीनसंग सैन्य अभ्यास गरिसकेको छ।

  • 14
    Shares