You are here
Home > समाचार > बिमस्टेकमा मोदीद्धारा सैन्य अभ्यासको प्रस्ताव

बिमस्टेकमा मोदीद्धारा सैन्य अभ्यासको प्रस्ताव

१४ भाद्र २०७५, बिहीबार २१:०१

काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक सदस्य राष्ट्रहरुसँग संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेका छन्। बिहिबारदेखि काठमाडौंमा सुरु भएको दुई दिने बिमस्टेक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सो प्रस्ताव राखेका हुन् ।

उनले दक्षिण एसियाली राष्ट्रहरुमा आतंकवाद नियन्त्रणका लागि संयुक्त सैन्य अभ्यासको प्रस्ताव मात्र गरेनन्, शान्ति स्थापनाका लागि संयुक्त बौद्ध सम्मेलनको समेत प्रस्ताव राखे।

प्रधानमन्त्री मोदीको यो प्रस्तावमा भारत लगायतका दक्षिण एसियाली मुलुकहरुमा फैलिँदै गएको सांगठिक अपराधको सञ्जाल तोड्न संयुक्त सैन्य अभ्यास आवश्यक छ भन्ने आसय झल्किन्छ ।

मोदीको यो प्रस्तावले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कसँग जोडिएको पाकिस्तान, माल्दिभ्स र सो संगठनमा जोडिन इच्छुक रहेको चीनले कस्तो प्रतिक्रिया दिने हुन्, त्यो हेर्न बाँकी नै छ ।

यी ३ मुलुक बिमेस्टकमा सदस्य छैनन् तर बिमेस्टक मञ्चमा हुने अधिकांश महत्वपूर्ण निर्णयले चीन, पाकिस्तान,माल्दिभ्सलाई पनि प्रभावित पार्न सक्ने अनुमान गर्न सकिन्छ ।

भारतीय प्रधानमन्त्री मोदीले भारत बिमस्टेक राष्ट्रहरुसँग काँधमा–काँध मिलाएर अगाडि बढ्न सधैं तयार रहेको बताउँदै हिमालय र बंगालको खाडीबाट जोडिएको देश बारम्बार प्राकृतिक प्रकोप भागिरहेको बताउँदै यसमा सबैको साथको आवश्यकता औँल्याए ।

उनले सम्पर्कको सबै आयाममा हामीले काम गर्नुपर्ने बताए । ‘सडक, रेल, जल तथा सबैभन्दा महत्वपूर्ण जनता–जनताबीचको सम्पर्क आवश्यक छ,’ उनले भने । प्रधानमन्त्री मोदीले अधिंकाश कृषिप्रधान तथा जलवायु परिवर्तनको असरबाट जुधिरहेकाले भारतले स्मार्ट कृषिबारेमा एक सम्मेलन गर्ने पनि जानकारी दिए ।

  • 30
    Shares