You are here
Home > राजनीति > राष्ट्रसंघको महासभामा सहभागी हुन ओली आज अमेरिका जाँदै, यस्तो छ कार्यतालिका !

राष्ट्रसंघको महासभामा सहभागी हुन ओली आज अमेरिका जाँदै, यस्तो छ कार्यतालिका !

६ आश्विन २०७५, शनिबार ११:४४

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली आज न्यूयोर्क प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्रसंघ महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओली राति ९ बजे २१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

असोज ९ गते सुरु हुने संयुक्त राष्ट्रसंघ महासभाको मूल विषय ‘संयुक्त राष्ट्र संघलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि संक्षिप्त भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुग्ने सबै विदेशी राष्ट्रप्रमुख तथा सरकारप्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार रात्रि भोजको आयोजना गर्ने छन् ।

सोही रात्रिभोजमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच संक्षिप्त भेटवार्ता हुने तय भएको हो । भेटवार्तापछि प्रधानमन्त्री ओली र राष्ट्रपति ट्रम्प दम्पतीबीच सामूहिक तस्बिर लिने कार्यक्रम छ ।

भेट बढीमा दुई मिनेटको हुने परराष्ट्र स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

महासभामा सहभागी हुने क्रममा न्यूयोर्कमा उनले स्वीट्जरल्याण्डका राष्ट्रपति एलियन बेरसेट र कम्बोडियाका प्रधानमन्त्री समदेचसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

  • 10
    Shares