You are here
Home > समाचार > धर्मपत्नी सहित मध्यराति प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

धर्मपत्नी सहित मध्यराति प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

६ आश्विन २०७५, शनिबार २३:२७

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ओली न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । राति ९ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट उडान भरेको ओली सहितको प्रतिनिधि मण्डलमा प्रधानमन्त्री धर्मपत्नी राधिका शाक्य पनि छिन् ।

असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नेछन् । उनले सोही दिन यस विश्व संस्थाका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखरबैठक’ को रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्वोधन गर्ने कार्यक्रम छ । सो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा उनको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुनेछ । प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । उनीहरु असोज ९ गते मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले आयोजना गर्ने दिवाभोजमापनि सहभागी हुने कार्यक्रम छ ।

प्रधामन्त्री ओलीले सोही दिन महासचिव गुटेरेसले आयोजना गर्ने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’ लाई सम्बोधन गर्ने तालिका छ । उनले सोही दिन एसिया सोसाइटीमा ‘‘शान्ति, प्रजातन्त्र तथा विकास’’का विषयमा सार्वजनिक व्याख्यान दिनेछन् । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई निर्देशन दिनेछन् ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाका कार्यक्रमका साथसाथै असोज १० गते बुधबार स्विजरल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले असोज १२ गते शुक्रबार क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुई पक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओली असोज १३ गते शनिबार दुईपक्षीय औपचारिक भ्रमणका क्रममा न्यु योर्कबाट कोस्टा रिकाको सान होजेतर्फ प्रस्थान गर्ने तालिका बनेको छ ।

  • 3
    Shares