You are here
Home > प्रशासन > मुद्धा हारेपछि नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनमा वितण्डा मच्चाए

मुद्धा हारेपछि नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनमा वितण्डा मच्चाए

८ आश्विन २०७५, सोमबार ११:२६

काठमाडौं-अनशनरत गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनमा वितण्डा मच्चाएका छन्।

आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि उनले आइतबार साँझ इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै अदालतमा तोडफोड गरेका हुन्। घटना लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार नुरप्रसादले ललितपुरकी विन्दु घतानीको घरजग्गासम्बन्धी मुद्दा जिम्मा लिँदै आएका थिए। ललितपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत पाटन आएका थिए।

तर उक्त मुद्दामा न्यायाधीशद्वय रमेश खरेल र शेखरप्रसाद पौडेलको इजलाशले जिल्लाकै फैसला सदर गरिदिएपछि उनी आक्रमणमा उत्रिएका हुन्।

‘मुद्दा हारेपछि नुरप्रसादले आइतवार साँझ पौने ५ बजेतिर इजलास अधिकृतमाथि कुर्सी प्रहार गरेका हुन्, उनले छलेपछि कुर्सी झ्यालमा ठोक्किएर सिसा फुटेका छन्,’ रजिष्ट्रार दाहालले भने ‘मेरो टार्गेट न्यायाधीशमाथि नै थियो तर, उनीहरूलाई नभेटेकाले इजलास अधिकृतलाई नै हानेको हुँ भन्दै थियो।’

उनको आक्रमणबाट इजलास अधिकृत रोशन बस्नेतको हातमा सानो चोट लागेको छ।साथै नुरप्रसादले अदालतका कम्प्युटर, दराज लगायतका सामान पनि तोडफोड गरेका छन्।घटनालगत्तै नुरप्रसादसहित मुद्दाकी वादी विन्दु घतानीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

माओवादी विद्रोहका बेला मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही माग गर्दै आमा गंगामाया अनशनरत छिन् भने बुवा नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भइसकेको छ।

  • 20
    Shares