You are here
Home > समाचार > एसएसपी बढुवाः चार महिला एसपीको दाबेदारी

एसएसपी बढुवाः चार महिला एसपीको दाबेदारी

८ आश्विन २०७५, सोमबार ११:४१

काठमाडौं-एसएसपी बढुवाको प्रतिस्पर्धामा ४ जना महिला एसपीहरुको दाबेदारी रहेको छ। एसपीहरु किरण बज्राचार्य, दुर्गा सिंह (चन्द), मीरा चौधरी र किरण राणाबीच प्रतिस्पर्धा देखिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत रहँदा मानव बेचबिखनविरुद्ध उत्कृष्ट काम गरेबाफत बज्राचार्यले सन् २०१६ मा ‘टीआईपी रिपोर्ट हिरो’मा छानिएर वर्ष हिरो व्यक्ति घोषित भएकी थिइन् । बज्राचार्य अहिले २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको प्रमुख छन्।

त्यस्तै, बढुवाको प्रतिस्पर्धामा रहेकी एसपी सिंह कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा अनुसन्धानमा समन्वयकारी भूमिका निर्वाह गर्न हाल कञ्चनपुरमा खटिएकी छन्।

यसअगाडि दाङको प्रहरी प्रमुख रहेकी उनी त्यहाँ आपराधिक सञ्जाल निर्मूल पार्नका साथै हरेक क्षेत्रमा राम्रो काम गरेको भन्दै प्रसंशा समेत गरिएको थियो। बाराको प्रहरी प्रमुख रहेकी एसपी चौधरी पनि एसएसपी बढुवामा बलियो दाबेदार हुन्।

डीएसपी हुँदा काठमाडौंको बालाजु वृत्त, पाल्पाको प्रहरी प्रमुख र एसपी हुँदा मकवानपुरको प्रहरी प्रमुख भएर उनले कार्यसम्पादन गरिसकेकी छन्। बढुवाको प्रतिस्पर्धामा रहेकी एसपीहरु बज्राचार्य, सिंह र चौधरी नेपाल प्रहरीमा अब्बल अधिकृतका रुपमा चिनिन्छन् ।

एक वर्ष भक्तपुरको प्रहरी प्रमुखको रुपमा काम गरेकी एसपी राणा हाल प्रहरी मुख्यालयको महिला, बालबालिका निर्देशनालयमा कार्यरत छन्।

  • 47
    Shares