You are here
Home > प्रशासन > सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति

८ आश्विन २०७५, सोमबार १५:२०

इलाम – इलाम जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति दिइएको छ। नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था गर्नुपर्नेमा माग गर्दै आएका थिए।

सीमा क्षेत्रका नेपाली नागरिकको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै इलामको सीमा क्षेत्र पशुपतिनगरमा पहिलो चरणमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट स्थापनाका लागि सरकारले स्वीकृत दिएको हो।

जिल्ला सुरक्षा समितिले इलामको नेपाल भारत सीमा क्षेत्रका पशुपतिनगर, मानेभञ्ज्याङ, छब्बीसे र सन्दकपुर क्षेत्रमा सीमा सुरक्षा बलको टोली राख्ने स्वीकृत मागेको थियो ।

सुरक्षा समितिको सिफारिशका आधारमा सरकारले पहिलो चरणमा सूर्योदय नगरपालिका–२ स्थित पशुपतिनगरमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट राख्न स्वीकृति दिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

तीन हप्ताअघि नै सुरक्षा पोष्ट राख्ने स्वीकृति दिएकाले सुरक्षा फौज बस्ने स्थानको खोजी भइरहेको तिमिल्सिनाले बताए । सीमा सुरक्षा पोष्टमा प्रहरी निरीक्षकको नेतृत्वमा ३७ जनाको टोली रहने सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ इलामका प्रमुख विदुर खड्काले बताए ।

जिल्ला सुरक्षा समितिले सुरक्षा पोष्ट राख्नका लागि पशुपतिनगर भन्सार कार्यालयको पुरानो भवनको माग गरी स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको छ । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ तिमिल्सिनाले सरकारबाट स्वीृकति आउनेबित्तिकै बाँकी तीन स्थानमा पनि सीमा सुरक्षा पोष्ट राखिने बताए ।

सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ को स्थापना इलाममा भएपछि पर्याप्त मात्रामा सुरक्षा फौजको जनशक्ति रहेकाले स्वीकृति पाउनेबित्तिकै सीमा सुरक्षा पोष्ट स्थापना गरिने जिल्ला सुरक्षा समितिको योजना छ । एक महिनाअघि ६२१ दरबन्दी रहेको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ इलाममा स्थापना भएको थियो ।

  • 48
    Shares