You are here
Home > समाचार > डेन्जर जोनमा दुई डिएसपी

डेन्जर जोनमा दुई डिएसपी

१० आश्विन २०७५, बुधबार १८:०६
काठमाडौं- गत साता कोटेश्वर र काँडाघारीका ९ प्रहरी अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको फन्दामा परेपछि प्रहरी प्रधान कार्यालयले गोप्य रुपमा काठमाडौं प्रहरीमाथि निगरानी थालेको छ ।
बालुवा तस्करसँग साँठगाँठ गरेर घुस लिएको आरोपमा दुई प्रहरी सहायक निरक्षक र ७ प्रहरी जवान अख्तियारको फन्दामा परेपछि आईजी सचिवालयले काठमाडौं प्रहरीमाथि गोप्य रुपमा निगरानी बढाएको हो ।
काठमाडौं प्रहरीले आफ्ना मातहतलाई निगरानी गर्न नसकेको भन्दै आईजी सर्वेन्द्र खनालले काठमाडौं परिसरका एसएसपी बसन्त लामालाई झपारेका थिए। काठमाडौं परिसरको अप्रेशन राम्रो नभएको निर्णय गर्दै आईजी खनालले आयुक्त कार्यालयका एसपी अशोक सिंहलाई सोमबार परिसरमा काज सरुवा गरेका छन्।
परिसरका एसपी राम दत्त जोशीलाई सचिवालयमा राखिएको छ । एसपी सिंह अप्रेशनमा काबिल मानिन्छन्। पोखरामा गुण्डागर्दी निस्तेज र प्रहरी भित्रको आचरणमा सुधार ल्याएका सिंहको परिसरमा सरुवा भएसँगै एसएसपी लामालाई पनि राहत मिल्ने चर्चा चलेको छ।
उता परिसरमा मुद्दा हेर्दै आएका डिएसपी मोहन थापालाई पनि परिवर्तन गर्ने तयारीमा प्रधान कार्याल रहेको छ। एसएसपी विश्व पोखरलेको मिलोमतोमा डिएसपी थापाले अदालतमा विचाराधिन अवस्थामा रहेका मुद्दाका व्यक्तिलाई परिसरमा झिकाएर जबरजस्ती दश करोडसम्मको चेक कटाएको आरोप छ।
यस्तै खालका आधा दर्जन आर्थीकसँग जोडिएका मुद्दाका बिषयमा आईजी सचिवालय र गृहमन्त्रालयमा डिएसपी थापाविरुद्ध उजुरी परेपछि उनको विकल्पको खोजीमा आईजी सचिवालले गृहकार्य सुरु गरेको स्रोतको भनाई छ । बौद्ध वृत्तका डिएसपी श्याम राईको एक दर्जन भन्दा बढी उजुरी प्रहरी प्रधान कार्यालयको छानबिन शाखामा परेको छ।
नियमित कामकाज समेत राम्रोसँग नगरेको आरोप छ ।
बालुवा खानी र अवैध रुपमा नेपाल बसेका तिब्बतीयन नागरीकको पहिचान गरेर उनिहरूबाट डिएसपी राईले मोटो रकम असुल्दै आएको वृत्तका एक जुनियर प्रहरी अधिकृतले बताए । परिसरमा कारवाहीका लागि सिफारिस भएका व्यक्तिलाई समेत राईले संरक्षण गर्दै आएका छन् ।
एक महिना अगाडी काठमाडौं परिसरबाट पक्राउ गरी आवश्यक कारवाही गर्न सिफारिस गरिएका सूर्यबहादुर गुरुङलाई डिएसपी राईले संरक्षण गरेका थिए। कारवाहीका लागि काठमाडौं प्रहरीको पत्रसहित बौद्ध वृत्त पुगेका एक पीडितलाई डिएसपी राईले गुरुङविरुद्धको मुद्दा याँहा दर्ता नहुने भन्दै थर्काएर पठाएका थिए । काठमाडौं परिसरको आदेश समेत नमान्ने गुरुङ यसअघि चापागाँउ वृत्तको प्रमुख हुँदा अवैध ढुंगाखानी र क्रसर उद्योगबाट रकम असुलेका थिए ।जनप्रहार साप्ताहिक
  • 2
    Shares