You are here
Home > समाचार > बलात्कारीलाई मृत्युदण्ड दिने माग गर्दै आफ्नै पार्टीका महिला नेतृको टोली गृहमन्त्री कहाँ

बलात्कारीलाई मृत्युदण्ड दिने माग गर्दै आफ्नै पार्टीका महिला नेतृको टोली गृहमन्त्री कहाँ

१२ आश्विन २०७५, शुक्रबार १३:५०

काठमाडौं-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई दबाब दिएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महिला नेतृहरुले गृहमन्त्री रामबहादुर थापासँग सामूहिक भेट गरी महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कार लगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक कदम चाल्न माग गरेका हुन्।

पीडित पक्षलाई समेत लिएर शुक्रबार बिहान गृह मन्त्रालय पुगेका उनीहरुले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।

महिला नेतृहरुले नेकपाका नेतासमेत रहेका गृहमन्त्री थापालाई सरकारले महिलामाथि हुने जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफूहरु आफैं लज्जित हुने अवस्था आएको गुनासो पनि गरेका थिए।

बढ्दो महिला तथा बालिकामाथि हुने गरेका हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी ठोस कदम चाल्न गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाउनु परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा प्रदेश ३ की सांसद अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

गृहमन्त्री थापाले पनि महिला र बालबालिकामाथि जघन्य अपराधका घटना हुन नदिन सरकार जिम्मेवार ढंगले लागि परेको दावी गरे।

उनले बढ्दो महिला तथा बालिकामाथि हुने हत्या, बलात्कारलगायतका ९० प्रतिशत घटनाको छानविन गरी दोषीलाई कारबाही गरिएको र निर्मला पन्तलगायतका घटनाका दोषीलाई पनि छिट्टै कानुनी कठघरामा उभ्याउने आश्वासन पनि महिला नेतृहरुलाई दिएका थिए।

  • 14
    Shares