You are here
Home > समाचार > चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ

चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ

१२ आश्विन २०७५, शुक्रबार १४:०१

नेपालगञ्ज, बाँके-प्रहरीले चितुवाको छाला र दाह्रासहित बिहिबार राति दुई जनालाई पक्राउ गरेको छ।प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्यूरोको टोलीले वैजनाथ गाउँपालिका–१ गाभरबाट बर्दिया बाँसगढी नगरपालिका–१ का २६ वर्षीय चन्दन नेपाली र २४ वर्षीय कृष्ण वादीलाई पक्राउ गरेको हो।

नेपालीसँग रहेको झोलाबाट चितुवाको १०४ इञ्च लामो छाला, ६ वटा दाह्रा तथा वादीको झोलाबाट ९० इञ्च लामो छाला बरामद गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए।

चितुवा गोली प्रहार गरी मारिएको हुनसक्ने पौडेल बताउँछन्। दुवै छालामा गोली लागेको प्वाल रहेको छ। नेपाली र वादीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय नेपालगञ्जको जिम्मा लगाइएको छ।

  • 1
    Share