You are here
Home > प्रशासन > दशैंको टिकटमा गोलमाल गरेमा कारवाही गर्ने चेतावनी, काउन्टर आसपासमा सिभिल प्रहरी खटिने

दशैंको टिकटमा गोलमाल गरेमा कारवाही गर्ने चेतावनी, काउन्टर आसपासमा सिभिल प्रहरी खटिने

१२ आश्विन २०७५, शुक्रबार १७:१८

काठमाडौं-चाडपर्वको मौका छोपेर यात्रु टिकटमा बद्मासी गरेको भेटिए प्रहरीले कारवाही गर्ने भएको छ।शुक्रवार पत्रकार सम्मेलन गरेर महानगरीय ट्राफिक महाशाखाका प्रमुख (एसएसपी ) बसन्त कुमार पन्तले त्यसरी बद्मासी गरेको फेला पारेमा ठगी मुद्दा चलाइने जानकारी दिएका हुन्।

यात्रुको अत्यधिक चाप हुने हुनाले दशैँ–तिहार जस्ता चाडपर्वमा विगत वर्षहरुमा पनि एउटै टिकट दुईजनालाई बिक्री गरेको पाईएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्यस्ता ब्यक्तिहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

उनले भने, ‘टिकट बिक्रीमा बद्मासी गरेको फेला परेमा ठगी मुद्दा दर्ता गरेर कारवाही गर्छौ ।’ट्राफिक महाशाखाले काठमाडौं उपत्यकाको १३ स्थानमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरेर दशैँ सुरक्षा योजना सहित ट्राफिक व्यवस्थापन शुरु गरेको छ।

ट्राफिक प्रहरीले उपत्यकाको जगाते, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी, दक्षिणकाली, नागढुंगा, स्वयम्भु, नयाँ बसपार्क, पुरानो वसपार्क, सुन्धारा र गौशालामा त्यस्ता सहायतका कक्षहरु स्थापना गरेको छ ।

‘टिकट विक्रीमा हुनसक्ने बद्मासी नियन्त्रण गर्नका लागी उल्लेख्य संख्यामा सादा पोशाकका प्रहरी परिचालन गर्नेगरी योजना बनाएका छौं,’ एसएसपी पन्तले भने, ‘उपत्यका भित्रिने र बाहिरिने नाकाहरुमा मापसेसहितको चेकजाँच अनिवार्य गरेका छौँ ।’

टिकट काउण्टरमा काम गर्ने कर्मचारी र यातायातसँग सरोकार राख्ने ब्यक्तिहरुले सहज पहिचानका लागी यातायात व्यवस्था विभागले जारी गरेको परिचयपत्र अनिवार्य लगाउनुपर्ने भएको छ ।

ट्राफिक व्यवस्थापनसम्बन्धी कुनै समस्या भएमा ट्राफिक कन्ट्रोल १०३, प्रहरी कन्ट्रोल १०० वा ट्राफिक महाशाखाको ०१–४२१९६४१ म सम्पर्क गर्न प्रहरीले यात्रुहरुलाई आह्वान गरेको छ ।

त्यस्तै चाडपर्वको मौका छोपेर गाडीको क्षमताभन्दा बढी यात्रु बोक्नबाट पनि बन्देज लगाइने महाशाखाले जनाएको छ ।गत बर्ष काठमाडौं उपत्यकाबाट २५ लाख यात्रुहरु बाहिरिएका थिए ।

  • 7
    Shares